• १० मंसिर २०८१, सोमबार

स्ववियु निर्वाचन : सभापति पदका लागि नौ जनाको प्रतिस्पर्धा

blog

मध्यपश्चिम विश्वविद्यालय । तस्बिर :नवीन सुवेदी

नवीन सुवेदी
सुर्खेत, फागुन २२ गते ।
आगामी चैत ३ गते हुने स्वतन्त्र विद्यार्थी युनियन मध्यपश्चिम विश्वविद्यालय (स्ववियु निर्वाचन)का लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयद्वारा सार्वजनिक कार्यतालिका अनुसार सभापति पदका लागि नौ जनाको प्रतिस्पर्धा गर्नुहुने भएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी सङ्गठनले उम्मेदवारी दर्ता गराउँदा केही विद्यार्थीले स्वतन्त्र उम्मेदवारी  दर्ता गराएका छन् ।

स्ववियु अध्यक्षका लागि नेविसङ्घबाट रोशन बस्नेत, अनेरास्वियुबाट प्रकाश भुसाल, एकीकृत समाजवादीबाट अनेरास्ववियुका मिलन बीसी र अखिल क्रान्तिकारीबाट ममता अधिकारीले चुनावी प्रतिस्पर्धा गर्नुहुने भएको हो । यस्तै, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका योगेशकुमार शाहीले उम्मेदवारी दर्ता गराउनुभएको छ भने महेन्द्रकुमार थापा, पारस सिंह, भूपेन्द्र बम र महेश धितालले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यस्तै, सचिवमा पनि नौ जनाबीच नै प्रतिस्पर्धा हुँदा चार जनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

सचिवका लागि अनेरास्ववियुका उमेश तिवारी, अखिल क्रान्तिकारीबाट (विप्लव) समूहका चित्रबहादुर सहकारी, अनेरास्ववियु क्रान्तिकारीका जगतबहादुर शाही, नेविसङ्घका भूपेन्द्र आचार्य र अनेरास्ववियुका भूपेन्द्र भण्डारीले चुनावी प्रतिस्पर्धा गर्नुहुने भएको छ ।

यस्तै, सचिवकै लागि दिनेश खड्का, नरेश राना, प्रकाश विक र शिशिरकुमार कार्कीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभउको छ  । यसैगरी, कोषाध्यक्षका लागि छ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । साथै ३० जनाले सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको नामावलीविरुद्ध फागुन २४ गतेभित्र दाबी विरोध पेस गर्ने मिति तोकिएको छ ।  उम्मेदवारको अन्तिम नामावली २५ गते प्रकाशन हुनेछ ।

मध्यपश्चिम विश्वविद्यालय सङ्गठन तथा शैक्षिक–प्रशासनिक नियमावली २०६९ को नियम १६८ अनुसार हुन लागेको स्ववियु निर्वाचनमा चार हजार ८२९ जना विद्यार्थीले मतदान गर्नेछन् । स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् । निर्देशिकामा स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११, २०१ देखि एक हजारसम्म विद्यार्थी भए १५, एक हजार एकदेखि तीन हजारसम्म भए १९ तथा तीन हजार एकदेखि बढी विद्यार्थी भए १९ जनाको कार्यसमिति हुने व्यवस्था छ ।