• १३ साउन २०८१, आइतबार

इलामका वडा कार्यालयमा तालाबन्दी

blog

वडा कार्यालयमा तालाबन्दी गर्दै आन्दोलनकारी ।

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम) फागुन २२ गते। ‘कोशी’ प्रदेश नामकरणको विरोधमा सङ्घर्ष समितिले इलामका स्थानीय पालिकाका केही वडा कार्यालयमा तालाबन्दी गरेको छ। 

जातीय पहिचान झल्कने नाम राख्नु पर्ने माग गर्दै आन्दोलन सुरु गरेको सङ्घर्ष समितिले इलामको माङसेबुङ गाउँपालिका र माई नगरपालिकाका वडा कार्यालयमा तालाबन्दी गरेको हो। आन्दोलनकारीले माङसेबुङ गाउँपालिका दुई वटा वडा कार्यालयमा तालाबन्दी गरेका छन्। 

आन्दोलनकारीले वडा नम्बर ३ र ५ को वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय सुमन लावतीले जानकारी दिनुभयो। ‘माङसेबुङ नागरिक समूह’ को नाममा नारा जुलुससहित प्रदर्शनमा उत्रिएको आन्दोलनकारीको समूहले विभिन्न स्थानहरूमा कालो झण्डा समेत गाँडेका छन्।

समूहका अध्यक्ष केहेरसिङ योङहाले नियोजित ढङ्गले कोशी प्रदेश नामकरण गरिएको भन्दै  आफ्नो माग पूरा नभएसम्म कुनै पनि कार्यालय नखोलिने चेतावनी दिनुभयो। आन्दोलनकारीले माई नगरपालिका–८ कल्कत्ते वडा कार्यालयमा तालाबन्दी गरेका छन्। कार्यालय परिसरमा  कालो झण्डा गाडेर तालाबन्दी गरिएको स्थानीय हरि अधिकारीले जानकारी दिनुभयो। आन्दोलनकारी तालाबन्दी गरेपछि वडा कार्यालयले प्रवाह गर्ने सेवा भने प्रभावित भएको छ। 

लिम्बुवान किरात संयुक्त सङ्घर्ष समितिलगायत विभिन्न राजनीतिक दल र दल सम्बद्ध सङ्गठनले ‘कोशी’ प्रदेश नामकरणविरुद्ध प्रदर्शन गर्दै आएका छन्। 

पहिचानलाई पाखा लगाएको भन्दै जनता समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सङ्घीय लिम्बुवान मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा (माओवादी केन्द्र) सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चासहित नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद् र प्रदेश समिति, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सङ्घीय र प्रदेश समिति, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत घटकले ‘कोशी’ प्रदेश खारेजीको माग गर्दै ‘लिम्बुवान किरात’ राख्न माग गरेका छन्। 

आन्दोलनमा नेकपा (माओवादी केन्द्र), एमाले र कांग्रेस समर्थक आदिवासी जनजाति नेताले समेत विज्ञप्ति मार्फत ऐक्यबद्धता जनाएका छन्।