• १३ साउन २०८१, आइतबार

पढ्न नपाउने समस्या अन्त्य हुनुपर्छ

blog

काठमाडौँ, फागुन २२ गते । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बाटोघाटो र पुलको अभावमा बालबालिका पढ्न नपाउने समस्याको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । 

राष्ट्रिय मानव अधिकार आयोग र एजुकेसन इन इभ्री होमद्वारा आइतबार आयोजित कार्यक्रममा बोल्दै उहाँले मानव अधिकारको दृष्टिले पनि हरेक नागरिकले शिक्षा पाउनु अपरिहार्य भएको तर अहिले पनि पुल नहुँदा बर्सातका बेला स्कुल जान नपाउने र घरपायक क्षेत्रमा स्कुल नै नहुँदा बालबालिका शिक्षाबाट वञ्चित हुनु परेको बताउनुभयो । 

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले नेपालमा बोलिने विविध मातृभाषालाई देशकै बोली वा भाषा बनाउन सके मात्र समावेशी शिक्षा प्रणालीको अभियान सफल हुने बताउनुभयो । दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले गरिबीको रेखामुनि रहेका दलित समुदायको जीवनस्तर उकास्न शिक्षामा दलितको पहुँच बढाउन राज्यले अझै लगानी बढाउनुपर्ने बताउनुभयो । समावेशी आयोगका सदस्य विष्णुमाया ओझाले बालबालिकालाई इमानदार, देशभक्त नागरिक बनाउने माध्यम नै शिक्षा भएकोले यसतर्फ गम्भीर भएर सोच्न आग्रह गर्नुभयो । 

पूर्वमन्त्री रामकुमारी झाँक्रीले प्राथमिक शिक्षालाई चेतनामूलक बनाएर शिक्षालाई प्रविधिसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । आयोगका कायममुकायम सचिव मुरारीप्रसाद खरेलले नेपालको विविधतालाई स्वीकारेर हरेक, वर्ग, जाति, क्षेत्रका बालबालिकाले पढ्ने पाठ्यपुस्तकमा मानव अधिकारको विषयलाई पनि समेट्दै लैजानुपर्ने बताउनुभयो ।