• १३ साउन २०८१, आइतबार

‘बलियो राष्ट्रिय शक्तिको जगमा मात्रै राजनीतिक स्थायित्व’

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन २१ गते । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बलियो राष्ट्रिय शक्तिको जगमा मात्रै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सम्भव रहेको बताउनुभएको छ । आइतबार शहीद दिवसमा आज विज्ञप्ति जारी गर्नुहुँदै उहाँले झापा विद्रोह नेपाली राजनीतिक इतिहासको महत्त्वपूर्ण परिघटना भएको बताउनुभयो । 

कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने उद्देश्यले भएको झापा विद्रोहका अग्रजहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने निहुँमा चन्द्रगढी कारागारबाट निकालेर सुखानीको जङ्गलमा कायरतापूर्ण ढङ्गले हत्या गरिएको स्मरण गरिएको छ ।

यसैक्रममा, छिन्ताङ, पिस्करकाण्ड लगायत अनेकौँ जनसङ्घर्ष र तत्कालीन समयमा राज्यसत्ताबाट क्रूर दमन भएको तर आन्दोलनलाई पुनर्गठन, पुननिर्माण, एकीकरण, निःस्वार्थ, बलिदान समृद्ध राष्ट्रका लागि झापा आन्दोलनले स्थापित गरेको मूल्य आज पनि उत्तिकै सान्दर्भिक रहेको उहाँले बताउनुभयो । 

अहिले विश्वको बदलिँदो शक्ति सन्तुलन, परिवर्तित भूराजनीति र दक्षिण एसियामा देखिएका शक्ति राष्ट्रहरूको प्रतिष्पर्धाको चर्चा गर्दै नेपाल असमान्य परिस्थितिबाट गुज्रेको उहाँले औँल्याउनुभयो । बलियो राष्ट्रिय शक्तिको नेतृत्वमा मात्रै यी चुनौतीलाई चिर्दै सही दिशाबोध गर्न सम्भव रहेको उहाँको भनाइ छ ।