• २४ वैशाख २०८१, सोमबार

शान्ति र समृद्धि नै मुलुकको निकास : महासचिव पोखरेल

blog

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले यदु स्मृति प्रतिष्ठानको कार्यक्रममा आइतबार सम्बोधन गर्नुहुँदै । तस्बिर : कविता थापा

गोरखापत्र अनलाइन 

काठमाडौं, फागुन २१ गते । नेकपा (एमाले) का महासचिव तथा पूर्व सञ्चारमन्त्री शङ्कर पोखरेलले उग्रवामपन्थी अतिवादले मुलुकको समस्या समाधान नगर्ने हुनाले शान्ति प्रक्रिया र आर्थिक समृद्धि नै मुलुकको निकास भएको बताउनुभएको छ । स्वर्गीय यदुकुमार गौतमको २४ औँ स्मृति दिवसको अवसरमा आज यहाँ आयोजित स्मृति दिवस तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

यदु गौतमले तत्कालीन समयमा उठाएको माग र लिएको बाटो नै आखिरमा सही पुष्टि भएको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो, “हिंसा र विद्रोहको बाटोबाट कहीँ पुग्न सकिँदैन, शान्ति प्रक्रियाकै बाटो अङ्गीकार गरेर अघि बढ्नुपर्छ भन्ने उहाँको बाटो थियो, तत्कालीन विद्रोही शक्ति शान्ति प्रक्रियामा आएपछि उहाँले लिएको बाटो सही थियो भन्ने पुष्टि भयो ।”

स्वर्गीय गौतमको विचार नै अहिले सफल विचार भएकाले त्यही बाटोमा मुलुक अघि बढिरहेको उहाँले चर्चा गर्नुभयो । विनाकारण निर्ममतापूर्वक माओवादीले गौतमको हत्या गरेको भए पनि माओवादी नेतृत्वले अहिलेसम्म पश्चात्ताप नगर्नु विडम्बनापूर्ण रहेको उहाँले बताउनुभयो । ‘माओवादीमा अझै उग्र वामपन्थी अतिवाद कायमै रहेको यसले सङ्केत गर्छ’ उहाँले भन्नुभयो ।

नेपालको राजनीति अहिले गलत बाटोमा गइरहेको र यसले मुलुकको आर्थिक अवस्था तहसनहस हुने उहाँले चिन्ता व्यक्त गर्नुभयो । सरकारले लिएको अहिलेको नीति नै गलत दिशामा गइरहेको उहाँले आरोप लगाउनुभयो । यसअघि एमालेसमेतको सहभागितामा रहेको सरकारले आर्थिक रूपमा केही सुधारको सङ्केत देखाए पनि अहिले देश आर्थिक रूपले समस्याको बाटोमा गएको सङ्केत आर्थिक सूचकहरूले देखाइसकेको चर्चा गर्नुभयो । 


अहिलेको राजनीतिक गठबन्धन केवल स्वार्थको गठबन्धन मात्र रहेको, देश र जनताको पक्षमा काम गर्नेगरी गठबन्धन नबनेकाले यसको टिकाउ नहुने उहाँले टिप्पणी गर्नुभयो । देश र जनताको पक्षमा बोल्न सरकारले सकेन भने सरकार जनताको नजरमा पूर्णतः असफल हुने बताउँदै महासचिव पोखरेलले भारतबाट आयात हुने विषादीयुक्त तरकारीको परीक्षण समेत गर्न नसक्ने सरकारले जनतालाई खुसी र राहत दिन नसक्ने दाबी गर्नुभयो । 

माथिल्लो मुस्ताङमा बौद्ध विश्वविद्यालय बनाउने सरकारको सहमति पनि मुलुकको वरवादीको अर्को सङ्केत भएको उहाँले चर्चा गर्नुभयो । मानव बस्ती नै नभएको ठाउँमा विश्व विद्यालय बनाउनु गलत नियत निहित रहेको उहाँले टिप्पणी गर्नुभयो । अहिले मुलुकमा सांस्कृतिक मूल्य मान्यताप्रति चुनौती रहेको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले यसको अन्त्य नभए मुलुक समस्यामा फस्ने दाबी गर्नुभयो । 

तत्कालीन समयमा सत्य कुरा सुझाएकै कारण यदु गौतमको हत्या भएको भन्दै उहाँले सही बाटो र विचारको ढिलै भए पनि विजयी हुने यदुको विचारले पुष्टि गरेको उहाँले बताउनुभयो । सो अवसरमा महासचिव पोखरेलले स्वर्गीय गौतम र झापाको सुखानी घटनामा सहादत्त प्राप्त गर्ने सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । 

एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली इन्चार्ज यमलाल कँडेलले सही विचार र मिसनको ढिलै भएपनि विजयी निश्चित हुने कुरा यदु गौतमको विचारले पुष्टि गरेको बताउनुभयो । अहिले मुलुकमा एमालेले लिएको बाटो नै मुलुकको निकासको सही बाटो भएकाले यसलाई शलियो शक्ति बनाएरै मुलुकको निकास सम्भव रहेको उहाँले चर्चा गर्नुभयो । सो अवसरमा उहाँले स्वर्गीय गौतमप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

यदु स्मृति प्रतिष्ठानका अध्यक्ष सुजाता गौतमको सभापतित्वमा भएको कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य सीता पौडेल, सल्लाहकार परिषद्का उपाध्यक्ष गोमा देवकोटा, प्रदेश सांसद चन्द्रबहादुर विश्वकर्मा लगायतको सहभागिता थियो । सो अवसरमा महासचिव पोखरेलले नगद २० हजारसहित पत्रकार लक्की चौधरीलाई सम्मानपत्रले सम्मानित गर्नुभएको थियो ।

तत्कालीन माओवादीले २०५५ फागुन २१ गते तत्कालीन एमालेका रुकुम सचिव यदुकुमार गौतमको हत्या गरेको थियो । उहाँको स्मृतिमा यदु स्मृति प्रतिष्ठान गठन गरी शान्ति, मानवअधिकार, सामाजिक न्यायको क्षेत्रमा कलम चलाउने पत्रकारलाई हरेक वर्ष प्रतिष्ठानले पुरस्कृत गर्दैआएको छ । यसअघि प्रतिष्ठानले २० जना पत्रकारलाई पुरस्कृत गरिसकेको थियो । 

यो पनि पढ्नुहोस