राजन रावत
हुम्ला, फागुुन २१ गते । दुुई वर्षदेखि रोकिएको हुम्ला कभर्ड हलको निर्माण कार्य पुन: अगाडि बढ्ने भएको छ । निर्माण कार्यका लागि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले बजेटको व्यवस्था गरेपछि निर्माण कार्य अगाडि बढ्ने भएको हो ।
सामाजिक विकास कार्यालयका सब-इन्जिनीयर धर्मराज बोहराले कभर्ड हलको रोकिएको निर्माण कार्य अगाडी बढाउने प्रक्रिया सुुरु भएको बताउनुभयो । चालु आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयले सामाजिक विकास कार्यालयमार्फत ५० लाख बजेटको व्यवस्था गरेपछि निर्माण कार्य अगाडि बढाउन टेण्डर आह्वान भएको हो । उहाँले अहिलेको बजेटबाट आगामी असारभित्र कभर्ड हलको गाह्रो लगाउने कार्य पाँच फिट माथि हुने बताउनुभयो ।
यस्तै, उहाँले कभर्ड हलभित्र नै यो बजेटबाट खेलाडीहरूकाे ड्रेस परिवर्तन गर्ने तीनकोठे भवन निर्माण हुने जानकारी दिनुभयो । यसअघि कभर्ड हलको आठ फिट अग्लो गाह्रो लगाउने कार्य पूरा भइसकेको छ । साथै जम्मा ३४ फिट अग्लो गाह्रो लगाउनुपर्नेछ र अझै बीस फिट अग्लो गाह्र लगाउने कार्य भने बाँकी नै रहनेछ । यसका लागि दुई वर्ष सिमकोट गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा एक करोड ४२ लाख लगानी गरेको थियो भने कार्यालयले ५० लाख लगानी भएको थियो ।
यो वर्षको बजेटसहित दुई करोड ४२ लाख लगानी भए पनि अझै कभर्ड हलको संरचना निर्माण गर्न भने बाँकी नै रहनेछ । यसका लागि मन्त्रालयले बजेटको व्यवस्था गर्ने जनाएको छ ।