फागु वसन्त ऋतुको आगमनसँगै मनाइने चाड हो । नेपालका विभिन्न भागमा बसोबास गर्ने समुदायमा एक महिना, सात दिन, एक दिन मात्रै पनि यो चाड मनाइन्छ । विभिन्न रङ र पानीको चाडको रूपमा फागुको उल्लेख गरिएको छ । ईश्वरप्रति कृतज्ञता, पारिवारिक मूल्य मान्यता, संस्कृति हस्तान्तरण गर्ने क्रममा पारिवारिक भेला, साथीसँगको मनोरञ्जन र खानपान सबैको सम्मिश्रणको रूपमा फागुलाई लिन सकिन्छ । होली, फगुवा, मदनोत्सव, पटवास विलासिनी आदि विभिन्न नामले फागु चाडलाई सम्बोधन गरिन्छ ।
प्राचीनता
लिङ्ग पुराण, वायु पुराण, भविष्य पुराण, कामसूत्र, हेमाद्री कालखण्ड आदि पुराणमा होलिकाको उत्पत्ति, बालक्रीडा, होलिका राक्षस, हिरण्यकशिपु, प्रह्लाद, श्रीकृष्ण, पुतना, गोपिनीको विविध प्रसङ्ग वर्णन गरिएको छ । चौधौँ शताब्दीमा रचना भएको मानिने गोपालराज वंशावलीमा होली उत्सवको प्रसङ्ग छ । देशमा शान्ति स्थापना गर्न होली उत्सवको आयोजना गरिएको वर्णन गोपालराज वंशावलीमा छ । त्यहाँ उल्लेख भएअनुसार पौष पूर्णिमाको दिन होली उत्सव गरी शान्ति स्थापना गरिएको थियो ।
संस्कृत भाषामा लेखिएका साहित्यमा पनि होलीको प्रसङ्ग आएको छ । महाकविहरू कालीदास, भवभूतिका रचाना, हर्ष र राजशेखरको कृतिमा होलीको वर्णन गरिएको छ । मीमांसा दर्शनका आचार्य महामुनि जैमिनीले जैमिनी सूत्रमा होलीबारे चर्चा गरेका छन् । संस्कृत साहित्यहरूमा वसन्त ऋतुलाई ऋतुराज भनेजस्तै होलीलाई मदनोत्सव भनेर वर्णन गरिएको छ । शिशिर ऋतुपश्चात् वसन्त ऋतुलाई हर्षोल्लाससँग मनाउने प्रचलन छ ।
रघुराजा र फागु
राजा युधिष्ठिरले श्रीकृष्णलाई विभिन्न प्रश्न सोधेको प्रसङ्ग भविष्य पुराणमा छ । त्यसमध्ये होलिकाको उत्पत्ति र फलसहितको विधानमा सुमाली नामक दैत्यकी छोरी ढोढाले बच्चाहरूलाई दिएको दुःखको वर्णन छ । फाल्गुन पूर्णिमामा गाउँ र नगरमा उत्सवसँगै बच्चाहरूले विभिन्न खेल खेल्नाका कारणबारे युधिष्ठिरले राखेको जिज्ञासालाई श्रीकृष्णले रोचक ढङ्गले बताउनु भएको छ, जसको सार यसप्रकार छ–
सत्ययुगमा रघु नामका सर्वगुणयुक्त दानी, परोपकारी राजा थिए । उनको राज्यमा अकाल मृत्यु, लुटपाट आदि केही उपद्रो हुँदैनथ्यो । राजा र प्रजा बाबुछोरा जस्तै भएर बसेका थिए । एकपल्ट नगरका प्रजा सबै राजाको दरबारको ढोकामा आएर डराएर त्राही त्राही भन्न लागे । उनीहरू सबैले ढोढा नामकी राक्षसीले नगरका बालबच्चालाई दुःख दिने, तर्साउने गरेको कुरा बिन्ती गरे । आफूहरूले जानेको मन्त्र, तन्त्र, औषधि प्रयोग गर्दा पनि राक्षसीलाई बसमा ल्याउन नसकिएको भन्दै राजासँग गुहार मागे । रघु राजाले आफ्ना मन्त्री र पुरोहितहरूसँग वास्तविकता के हो भनेर सोधे । पुरोहित श्री वशिष्ठ मुनिले ढोढाले लामो समयसम्म शिवजीको तपस्या गरेर पाएको वरदानबारे बताए ।
देवता, दैत्य र मनुष्य कसैले पनि ढोढालाई मार्न नसक्ने र अस्त्र, शस्त्रले काट्न नसक्ने, दिन रात, शीतकाल, उष्णकाल, वर्षाकाल, भित्र, बाहिर कतै पनि भय नहुने वरदान ढोढाले पाएकोले उन्मत्त भएर सबैलाई दुःख दिँदै हिँड्न थालेकी थिइन् । वशिष्ठ मुनिले यसलाई निवारण गर्ने उपाय पनि बताउनु भयो ।
काठको लिङ्गको ठीक अगाडि बीचमा प्वाल परेको रातो रङको चारपाटे कपडा प्रदर्शन गरिएको हुन्छ । त्यो रातो कपडालाई द्रौपदीको योनिको प्रतीक मानिन्छ । सन्तानको कामना गर्ने र अन्य भक्तजनले पाटीमा पुगेर त्यो काठको लिङ्ग हल्लाएर रातो कपडाको प्वालमा छिराएर दर्शन गर्छन् । पाटीमा भीमसेनको लिङ्गबारे रोचक ढङ्गले भजन गाउने चलन पनि छ ।
“फाल्गुन शुक्ल पूर्णिमामा सबै जना ढुक्कसँग रमाइलो गर्नु, नाच्नु, हाँस्नु, बच्चाले हातमा काठको खड्ग लिएर योद्धाहरूले जस्तै युद्धको अभिनय गर्नु । सुकेको काठ र गुइँठा जम्मा पारेर रक्षोघ्न मन्त्रले अग्नि बालेर त्यसमै हवन गर्नु । सबै जना रमाइलोसँग हाँस्नु र मनमा जे आयो त्यही बोल्नु । यसरी कोलाहल गरेर रक्षोघ्न मन्त्र पढ्दै केटाकेटीले काठको खड्गले प्रहार गरेपछि त्यो दुष्ट राक्षसीको क्षय हुन्छ ।” वशिष्ठले भनेको जस्तै गरेर सम्पूर्ण कार्य सम्पन्न भयो । राक्षसी ढोढाको अन्त्य भयो । त्यसबेलादेखि यो फागु उत्सव सधैँ मनाउने चलन चल्यो । फाल्गुन पूर्णिमाको भोलिपल्ट आआफ्नो घरको आँगनमा लिपपोत गरेर कलश स्थापना गरेर कामदेवको पूजा गर्नु । ‘कामदेवः प्रीयताम्’ भन्दै ब्राह्मणलाई भोजन गराउनु र आफूले पनि अघिल्लो दिनको बासी पकवान थोरै खाएर साजी खाना प्रसाद ग्रहण गर्नु । फागुन उत्सव मनाएमा सन्तान र धन प्राप्ति हुन्छ । यसरी भविष्य पुराणमा फागु पर्वको महìव वर्णन गरिएको छ । (चतुर्वेदी, भविष्यपुराण, पृ ५३१)
शास्त्रमा वर्णित फागु
पुराणमा होली चाडबारे विभिन्न रोचक, ज्ञानबर्धक जानकारी पाइन्छ, जसमा बालक कृष्ण र पुतना, तन्नेरी कृष्ण र गेपिनीहरू एवं भक्त प्रह्लाद र होलिकाको प्रसङ्गले बढी प्रसिद्धि पाएको छ ।
श्रीकृष्णको जन्म विष्णु भगवान्को आठौँ अवतारको रूपमा भएको थियो । श्रीकृष्णलाई महाभारत, भागवत महापुराण, हरिवंश आदि ग्रन्थमा सर्वोपरि परमात्माको रूपमा व्याख्या गरिएको छ । यी ग्रन्थहरूमा कृष्णलाई बालसुलभ कार्य गरेर सबैलाई चकित पारेको, गोपिनीसँगको रासलीला र महाभारतको प्रमुख पात्रको रूपमा प्रस्तुत गरिएको छ । पुतना वधलाई पनि फागु पर्वसँग जोडेर वर्णन गरिन्छ । फागुको बेला हनुमान ढोका, वसन्तपुर र पाटन कृष्ण मन्दिरको अगाडि मयलको काठ ठड्याएर रङ्गीन कपडाको टुक्राहरू टाँगेर चीर गाड्ने प्रचलन छ । यसलाई गोपिनीहरूको यमुना स्नानसँग जोडिएको छ । एक दिन गोपिनीहरू यमुनामा जलक्रीडा गर्न गएका थिए । गोपिनीले आफ्ना सबै वस्त्र फुकालेर नुहाउन गए । श्रीकृष्णले नदीको स्वच्छताबारे चेतना जगाउन गोपिनीहरूका ती रङ्गीन वस्त्र रुखमा झुन्ड्याइदिनु भयो । गोपिनीहरूले आफ्नो गल्ती स्वीकार गरेपछि ती वस्त्र फर्काउनु भयो । त्यसैको प्रतीक हनुमानढोकामा ड्याइएको मयलको काठको चीरमा तीन तहको ससाना कपडा टाँगिन्छ । चीर सेलाउने दिन चीरमा टाँगिएका कपडा स्थानीयबासीले साना बच्चालाई रक्षा गर्न प्रसादस्वरूप लैजान्छन् ।
यस्तै होलीको प्रसङ्ग हिरण्यकशिपुका पुत्र प्रह्लादसँग पनि जोडिएको छ । बालक प्रह्लाद सधैँ विष्णुको नाम जप्ने र भजनकीर्तन गर्दथे । राक्षसराज हिरण्यकशिपुले विभिन्न तरिकाले सम्झाउने प्रयत्न गरे । साम, दाम, दण्ड, भेद सबै नीति अवलम्बन गरे । तर प्रह्लादको नसा नसामा भक्ति रस दौडिरहेको थियो । गर्भमा हुँदै उनले नारदबाट भक्ति मार्ग र विष्णु नाम जप्नेबारे ज्ञान प्राप्त गरेका थिए । त्यसैले उनले विष्णु नाप जप्न छोडेनन् । पहाडबाट खसाल्ने, हात्तीलाई कुल्चिन लगाउने, सर्पद्वारा डसाउने जस्ता विभिन्न कार्य गर्दा पनि प्रह्लादलाई केही नभएपछि हिरण्यकशिपुले आफ्नी बहिनी होलिकासँग छलफल गरे । दाजुबहिनीको छलफलपछि होलिकाले ब्रह्माबाट पाएको वरदानको स्मरण गर्दै प्रह्लादलाई आफूसँगै अग्निमा राखेर दाह गर्ने निर्णय गरिन् । होलिकालाई आगोले नजलाउने वरदान ब्रह्माबाट प्राप्त थियो । होलिका लामो समयदेखि समाज सेवामा समर्पित थिइन् । कुनै घरमा आगो लागेर मानिस बाहिर निस्कन नसक्ने अवस्थामा उनी आफ्नो ज्यानको वास्ता नगरेर आगोमा प्रवेश गरेर धनजन सुरक्षित ढङ्गले बाहिर निकाल्थिन् । उनको यस्तो कामको सबैतिर प्रशंसा हुन्थ्यो । सृष्टिकर्ता ब्रह्माले उनलाई आगोले नजलाउने विशेष वरदान प्रदान गरेका थिए । होलिकाले त्यही वरदानको दुरुपयोग गर्दै सुकेको काठले तयार पारेको ठूलो वेदीमा आफ्नो भदालाई काखमा लिएर बसिन् । हिरण्यकशिपुका सिपाहीहरूले आफूले पाएको निर्देशनअनुसार होलिका बसेको वेदिकामा आगो लगाइदिए । प्रल्हाद विष्णुको स्मरण गर्दै पूर्ण रूपले भक्ति रसमा डुबे । अग्निदेवले बालक प्रल्हादलाई नडढाएर नियमविरुद्ध कार्य गर्ने, वरदानको दुरुपयोग गर्ने होलिकालाई जलाइदिए । यसरी वरदानको दुरुपयोग गर्नेलाई शिक्षा दिँदै अग्निले होलिकालाई जलाएको शुभ दिनको स्मरणमा फागु मनाउने चलन परम्परादेखि चल्दै आएको छ । फागुको विभिन्न रस्ममध्ये होलिका दहन प्रमुख हो ।
ठँबहिलको सिन्दूर जात्रा
काठमाडौँको ठँबहिलमा फागुको बेला विशेष प्रकारको सिन्दूर जात्रा, अबिर जात्रा गर्ने परम्परा छ । यहाँ दुईवटा घटनालाई जोडेर फागु चाडको विश्लेषण गर्ने प्रयन्त गरिँदै छ ।
नेपाल र भोटको व्यापारिक र सांस्कृतिक सम्बन्ध प्राचीनकालदेखि नै थियो । नेपालबाट व्यापारीहरू तिब्बत जान्थे । व्यापार गरेर नेपालमा धन, सम्पत्ति ल्याउँथे । तर एकपल्ट व्यापारीका नाइकेलाई फसाद प¥यो । उनीसँगै गएका जवान केटा उतै तिब्बतका केटीसँग घरजम गरेर बस्न थाले । नेपालको सम्पत्ति र युवकसमेत तिब्बतमै रहने भएपछि सिंहसार्थबाहुलाई सारै पीर प¥यो । नाइकेले अनेक प्रयत्न गरेर केही युवकलाई स्वदेश फर्काउन समर्थ भए । उनले त्यसका लागि ईश्वरलाई बारम्बार पुकारे, करुणामयले उनलाई हौसला दिँदै मार्ग निर्देशनसमेत गरे । करुणामयको वरदान पाएपछि सिंहसार्थबाहुले आफूसँग गएका युवकलाई काठमाडौँ फर्काएर ल्याउन सक्नुभयो । यस्तो प्रशंसनीय कार्य गरेकोले काठमाडौँमा उनको भव्य स्वागत गरियो । उदाहरणीय कार्य गरेकालाई सिन्दूर दलेर, हावामा सिन्दूर छर्केर स्वागत गर्ने चलन थियो । व्यापारीका नाइके सिंहसार्थबाहुलाई पनि ठमेलमा त्यसै गरेर स्वागत गरियो । सिन्दूर÷अबिर छरेर गरिएको सिंहसार्थबाहुको जात्रा र चक्रमन देवताको जात्रा एक अर्कामा घुलमिल भएको प्रसङ्ग आँैल्याउँदै अनुसन्धानकर्ताले सिंहसार्थबाहुलाई चक्रमन देवताको रूपमा मान्न लागेको देखिन्छ । काठमाडौँ ठँबहिलको चक्रमणशील महाबिहारबाट चक्रमन देवताको रातो मूर्ति बाहिर ल्याएर जात्रा गर्ने चलन हिजोआजसम्म चलेकै छ ।
इटुम्बहाल र गुरुमापा
पूर्णिमाको राति चीरलाई ढालिन्छ । त्यसपछि टुँडिखेलमा लगेर आगो लगाइन्छ । त्यहीँ दक्षिण–पूर्व कुनामा गुरुमापालाई गुठीद्वारा व्यवस्था गरेको एउटा राँगोको मासु र दस पाथी चामलको भात टत्र्mयाउने प्रथा छ । अझै पनि केटाकेटीलाई डर देखाउन, रोएको बेला चूप लगाउन, लौ गुरुमापा आयो भनेर तर्साउने चलन छ । उहिले गुरुमापाले इटुम्बहालको केशचन्द्र नामक बनियाको ठूलो गुन लगाइदिएकाले अद्यपि केशचन्द्रद्वारा स्थापित गुरुमापा गुठीका गुठीयार एउटा सिङ्गो राँगोको मासु पकाइ फागुन पूर्णिमाको रात टँुडिखेलमा गुरुमापालाई ख्वाउन जान्छन् ( सत्यमोहन जोशी, २०३९, पृ ६५) । गुरुमापाको सम्बन्ध घोडे जात्रा पर्वसँग पनि जोडिएको छ । टुँडिखेलमा घोडा दौडाउनुको मुख्य कारण गुरुमापा पुनः ब्यँुझेर केटाकेटीलाई दुःख नदेओस भन्ने हो ।
थारू समुदायमा होरी
फागु नेपालको तराई क्षेत्रको प्रमुख चाड हो । तराईको सम्पूर्ण समुदायमा यो चाड हर्ष, उल्लासपूर्वक मनाइन्छ । तराईको विभिन्न समुदायमध्ये थारू समुदायमा फागुको रौनक नै बेग्लै हुन्छ । थारू समुदायमा फागु नौ÷दस दिनसम्म मनाउने चलन छ । माछाको परिकार र रोटीको परिकार घरघरमा बनाएर राख्ने, आफन्त र पाहुनालाई खुवाउने चलन छ । पौराणिक कथालाई आज आफ्नै स्वरूपमा ढालेर थारू समुदायमा होरी (होली) मनाएको देखिन्छ । रङ र पिचकारीद्वारा होली मनाउने चलन सबै समुदायमा देखिन्छ । थारू समुदायमा त बाँसको पिचकारी आफैँले बनाएर टोलटोल घुमेर रङ छ्याप्ने चलन अझै पनि छ । होलीमा थारू जातिमा पूजाको ठूलो महìव छ । आफू बस्ने गाउँभन्दा केही पर ब्रह्मथानमा पुगेर थारूहरूले विशेष पूजा गर्छन् । त्यहाँ पूजिने सात देवतामध्ये ‘ब्रह्मवा’ नामका देवतालाई प्रमुख मानेर विशेष पूजा गरिन्छ ।
भक्तपुरको फागु
भक्तपुरको दत्तात्रेय मन्दिर क्षेत्रमा फागुको पहिलो दिनदेखि एक हप्तासम्म विशेष मेला लाग्छ । दत्तात्रेय मन्दिर अगाडि रहेको तचपाल भीमसेन पाटीमा द्रौपदीको योनीको प्रतीक रातो कपडा र भीमसेनको लिङ्गको प्रतीक मोटो लामो काठ प्रदर्शन गर्ने परम्परा छ । फाल्गुण शुक्ल अष्टमीको दिनमा सुरु भएको फागु पर्व एक हप्तासम्म मनाएर पूर्णिमाको दिन बिसर्जन गरिन्छ । दत्तात्रेय मन्दिर अगाडि रहेको भीमसेन पाटीमा एक हप्तासम्म विशेष रोचक र फरक शैलीको मेला लाग्छ ।
भीमसेन मन्दिरबाट काठको लिङ्ग झिकेर दुई जना लाठे पुरुषले काँधमा बोकेर भक्तपुरका टोलहरू इनाचो, वाचुटोल, जेला, जगाती, ब्रह्मायणी, च्यामसिंह, दत्तात्रेयको वरपरका घर टोल घुमाएर पुनः भीमसेनपाटीमा झुन्डाएर प्रदर्शन गरिन्छ । काठको लिङ्गको ठीक अगाडि बीचमा प्वाल परेको रातो रङको चारपाटे कपडा प्रदर्शन गरिएको हुन्छ । त्यो रातो कपडालाई द्रौपदीको योनिको प्रतीक मानिन्छ । सन्तानको कामना गर्ने र अन्य भक्तजनले पाटीमा पुगेर त्यो काठको लिङ्ग हल्लाएर रातो कपडाको प्वालमा छिराएर दर्शन गर्छन् । पाटीमा भीमसेनको लिङ्गबारे रोचक ढङ्गले भजन गाउने चलन पनि छ । सुन्दा र हेर्दा अश्लीलजस्तो लागे पनि त्यसको मनोवैज्ञानिक पक्ष प्रबल छ । एक हप्तापछि काठको लिङ्गलाई ब्रह्मायणी खोलामा लगेर पखालपुखुल गरेर होली समाप्त भएको सूचना दिइन्छ ।
चाँगुको फागु
फागुको बेला चाँगुनारायण मन्दिर क्षेत्रमा रोचक र आकर्षक रथ यात्रा गर्ने परम्परा छ । फागु पूर्णिमाको दिन बिहान सबेरै चाँगुनारायण मन्दिरको पाटीमा राखिएको चार पाङ्ग्रा भएको सानो रथमा श्रीकृष्ण, राधा, रुक्मिणीलाई विराजमान गराएर टोल परिक्रमा गराउने प्रथा छ । चाँगुको होली गुठीका गुठियारहरूले तयार पारेका सुन्दर वस्त्र, गरगहना र पूजासामानद्वारा भगवान्को मूर्ति सजाउने कार्य गरिन्छ । चाँगुमन्दिरको गरुडमूर्तिसँगैको खण्डित प्रस्तर अगाडि राखेर देव प्रतिमालाई साजसज्जा गरेको दृश्य मनमोहक हुन्छ । साजसज्जा गरेपछि देव प्रतिमालाई रथमा राखेर अबिरले पूजा गरिन्छ । त्यसपछि तान्दै तरवाछेँ टोल पु¥याइन्छ । तरवाछेँ टोल पुगेपछि मूर्तिहरूलाई रथबाट निकालेर पाटीमा राखिन्छ । श्रीकृष्ण, रुक्मिणी र राधालाई विधिवत् पूजा गरेपछि पिङमा राखेर मच्चाइन्छ । एक रात देवप्रतिमालाई पाटीमै विराजमान गराइन्छ । भोलिपल्ट दिनभरि वंशगोपालको जात्रा हुन्छ ।
उपसंहार
फागु (मदनोत्सव, होरी, फल्गु, पटवास विलासिनी) चाडको रौनक नै बेग्लै छ । ऋतुमध्ये वसन्त ऋतुलाई ऋतुराज भनेजस्तै फागु पर्वलाई चाडहरूको चाडका रूपमा लिइन्छ । सद्भाव, मेलमिलाप, फूल र रङहरूको चाड हो होली । रङ र पानीको सट्टा फूलैफूल बर्षाएर, छ्यापेर पनि यो चाड मनाइन्छ । फागुको सही ढङ्गले संरक्षण र धारण गरेमा पर्यटक भिœयाउन पनि टेवा पुग्छ ।
समाजसेवा, असत्यमाथि सत्यको विजयको सन्देशसँगै केटाकेटीको मनोविज्ञान र मनोरञ्जनलाई ध्यानमा राखेर विकसित भएको चाड हो फागु । समाजमा रहेको छुवाछूत, असमानतालाई डढाएर, भस्म गरेर आपसमा सदभाव पैmलाउने चाड हो फागु । हर्ष प्रकट गर्ने, सिन्दूर, अबिर छर्ने चाड हो फागु । तर आज फागुमा विकृतिको रङ पनि पोतिएको छ । फोहर पानी र रसायनयुक्त रङहरू छ्यापेर यो चाड सबैभन्दा निकृष्ट चाडको रूपमा विकसित हुँदै छ । अपराधअनुसारको दण्ड दिँदै जाँदा यस्ता सामाजिक अपराध स्वतः कम भएर जान्छन् । घरपरिवार, समुदाय, सरकार सबै यसमा सचेत हुनु आवश्यक छ । नेपालको तराई क्षेत्रको प्रमुख चाड भए पनि हिमालदेखि पहाड सबैतिर यो हर्ष, उल्लासले मनाइने चाडमा पर्छ । परिवार र टोल छिमेकमा आमोद, प्रमोद, हर्ष, उमङ्ग, सदभाव फैलाउन फागु चाडले मद्दत गर्छ । चीरदाह, सम्मत जलाउने, होलिका दहन आदि विविध नामले सम्बोधन गरिने फागु चाडको अवसरमा हामीले पनि आफ्नो मनको अहङ्कार र क्लेशलाई जलाएर एकआपसमा मेलमिलाप र सद्भावको विविध रङ छर्नु पर्छ । फागुको अवसरमा मुखमा गुलियो हालेर महजस्तै मीठो बोल्ने, परोपकारी कार्य गर्ने र सधैँ सकारात्मक सोच राख्ने प्रण गर्नु पर्छ ।