• २१ असार २०८१, शुक्रबार

कालीगण्डकीमा बेलिब्रिज निर्माण सुरु

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी (बेनी), फागुन २० गते । वर्षौंदेखि सडक सुविधाबाट वञ्चित रहँदै आएको बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका २ र ३ नम्बर वडामा पर्ने बगरफाँटलाई बेनी बजारसँग जोड्न कालीगण्डकी नदीमा ‘बेलिब्रिज’ निर्माण थालिएको छ।  

पर्वत बेनीदेखि बगरफाँट जोड्ने सडक कालीगण्डकी नदीले सडक कटान गरेपछि यो बगरफाँट बस्ती विगत दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित हुँदै आएको थियो। पक्की पुल नहुँदा बगरफाँटवासीले सास्ती भोग्दै आएका छन्। बेलिब्रिज निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स बेनीसँग पाँच महिनाभित्र योजना सम्पन्न गर्ने गरी एक करोड ६० लाख रुपियाँमा ठेक्का सम्झौता गरेको छ। 

बेनी–जोमसोम सडकअन्तर्गत पोखरे बगरस्थित कालीगण्डकी नदीमाथि निर्माण गरिएको तर हाल प्रयोगविहीन अवस्थामा रहेको बेलिब्रिजलाई ल्याएर कालीपुलमा जडान गर्ने गरी सम्झौता भएको आयोजना प्रमुख जगत प्रजापतिले बताउनुभयो। 

निर्माण कम्पनीले शुक्रबारदेखि नदी किनारमा पुलको जग खन्ने काम थालेको छ। यो ब्रिज ५४ मिटर लामो हुने कम्पनीका सबओभरसियर सनम शाहीले बताउनुभयो। पाँच महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि तीन महिनाभित्र योजना सम्पन्न गर्ने लक्ष्यका साथ उपकरण र मजदुर परिचालन गरिएको उहाँले बताउनुभयो।   

पुल निर्माणको माग गर्दै विभिन्न समयमा बगरफाँटवासीले आन्दोलनसमेत गर्दै आएका थिए। कालीगण्डकी नदीमा पुल निर्माणमा पहल गर्ने प्रतिबद्धता नजनाएसम्म गत मङ्सिरको निर्वाचनमा कुनै पनि दलका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेपछि म्याग्दी र पर्वतका उम्मेदवारले  बगरफाँट पुगेर पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए। 

“निर्वाचनका समयमा नेताहरूले जनाएको प्रतिबद्धता पूरा हुने भएको छ,” जलजला गाउँपालिका वडा नं. २ का वडाध्यक्ष प्रकाश जीसीले भन्नुभयो, “म्याग्दीको सदरमुकाम बेनीसँग जोडिएको भए पनि कालीगण्डकीमा पुल नहुँदा दुर्गमजस्तै भएको छ। दैनिक उपभोग्य वस्तु, विकास निर्माणका सामग्री, निजी आवास निर्माणलगायतका सामान ढुवानी गर्दा आठ किलोमिटर दूरीको घुमाउरो सडक प्रयोग गर्नुपर्ने बाध्यता छ। अहिले बगरफाँटवासीको मागको सुनुवाइ भएकोमा खुसी लागेको छ।” नदीले कटान गरेको सडक बनाउन सम्भव नभएकाले पुल हाल्नुको विकल्प नभएको उहाँले बताउनुभयो। बेलिब्रिज निर्माण भएपछि बेनीसँग बगरफाँट सिधा यातायातमा जोडिनेछ। 

करिब तीन सय घरधुरी रहेको बगरफाँटवासीले दैनिक उपभोग्य वस्तु भरियालाई रकम तिरेर झोलुङ्गे पुलबाट बगरफाँट पु-याउँदा सामानको मूल्य महँगो पर्ने गरेको वडाध्यक्ष जीसीले बताउनुभयो। बगरफाँटका बासिन्दा म्याग्दी आवतजावत गर्ने कालीपुल जोड्ने झोलुङ्गे पुलको पनि लट्ठा खिया लागेर छिन्ने अवस्थामा पुगेको छ। बगरफाँटमा बसोबास गर्ने विद्यार्थी, शिक्षक, कर्मचारीलगायतका सर्वसाधारण म्याग्दी बेनी आवतजावत गर्न निकै समस्या हुने गरेकोमा पुल निर्माणपछि सहज हुने भएको हो।