• १३ साउन २०८१, आइतबार

निर्माणाधीन आदित्य मोक्ष धाममा प्रधानमन्त्री प्रचण्ड

blog

ओम आदि फाउण्डेशनले पनौती नगरपालिका–२ कुशादेवीमा आयोजना गरेको आदित्य जनकल्याण महायज्ञ महाअनुष्ठानमा सहभागी हुनुहुँदै प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’। तस्बिरः केदार तिमल्सिना

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, फागुन १९ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनौती नगरपालिका–२ दारिमबोट कुशादेवीमा निर्माणाधीन आदित्य मोक्ष धाम आउनु भएको छ। उहाँ शुक्रबार दिउँसो पनौती आउनु भएको हो। धाम निर्माण गर्ने उद्देश्यले ओम आदि फाउण्डेशनले बिहीबारदेखि आदित्य जनकल्याण महायज्ञ महाअनुष्ठान (आदि चन्द्रयोग यज्ञ छठौँ) कार्यक्रम सञ्चालन गरेको हो। 

उक्त महाअनुष्ठानमा सहभागी हुनका लागि प्रधानमन्त्री प्रचण्ड कुशादेवी आउनु भएको हो। महाअनुष्ठानमा प्रधानमन्त्री प्रचण्ड आधा घण्टा सहभागी हुनुभयो। यसैगरी शुक्रबार नै पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली महाअनुष्ठानमा सहभागी हुनुभएको छ। प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री ओलीलाई ओम आदि फाउण्डेशनका अध्यक्ष डा. उपेन्द्र महतोले कुशादेवीमा निर्माण हुने आदित्य धामको बारेमा जानकारी गराउनु भएको थियो। 

फाउण्डेशनले विश्वको उत्कृष्ट आध्यात्मिक गन्तव्य बनाउने परिकल्पनासहित आदित्य मोक्ष धाम निर्माण गर्न लागेको हो। धाममा करिब एक सय भन्दा बढी संरचना निर्माण गरेर उत्कृष्ट आध्यात्मिक केन्द्रको रुपमा विकास गर्ने लक्ष्य फाउण्डेशनले राखेको छ। 

महायज्ञमा ८७ वटा त्रिकोणीय कुण्डमा हवन, १२ वटा जलकुण्डमा बसेर जलधारा, योग, साधन तथा ध्यान, अग्नि कुण्डमा हवन, चिता साधना गरिएको छ। यसैगरी महायज्ञमा एक हजार आठ शिवलिङ्ग, नागमणि पुजन, कालीको पुजन, चार वेद वाचन, आठ पुराण वाचन, चौसठ्ठी पाठ भएको फाण्डेशनले जनाएको छ। महायज्ञ महाअनुष्ठानमा २७ देशको जल तथा माटो ल्याइएको छ। निर्माणाधीन धाममा बन्ने सबै संरचना गुरु आदित्यको डिजाइन तथा निर्देशन अनुसार निर्माण हुनेछ। 

ओम आदि फाउण्डेशनले पनौती नगरपालिका–२ कुशादेवीमा आयोजना गरेको आदित्य जनकल्याण महायज्ञ महाअनुष्ठान कार्यक्रम सहभागी हुनुहुँदै एमाले अध्यक्ष केपी शर्मा ओली।