रमेश विश्वकर्मा
गुल्मी, फागुन २३ गते। नेपालमा कफी खेतीको उद्गमस्थल मानिने गुल्मीमा कुल क्षेत्रफलको करिब ७० प्रतिशत बोटमा कफी फलेको छ। गुल्मीमा आर्थिक वर्ष २०७८/०७९ मा २२५ हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको थियो। जसबाट २८ मेट्रिक टन कफी उत्पादन भएको थियो। त्यस आर्थिक वर्षमा १७ सय ४० कृषकले कफी खेती गरेका हुन्।
आर्थिक वर्ष ०७९/८० मा कफी २४१ हेक्टर क्षेत्रफलमा छ। जसबाट ३० मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ। कफी खेती गर्ने कृषक पनि बढेर १८ सय ५ पुगेको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो।
यस जिल्लामा कफी उत्पादनका पकेट क्षेत्र मुसिकोट नगरपालिका र रुरुक्षेत्र गाउँपालिकाका विभिन्न क्षेत्रमा कफी लगाइएको छ। ठूला बगैंचा नभए पनि जिल्लाका अन्य स्थान मालिका, मदाने, इस्मा, धुर्कोट, रेसुङ्गा, गुल्मीदरबार, छत्रकोट, सत्यवती, चन्द्रकोट र कालीगण्डकीमा समेत कफी खेती गरिएको छ। जिल्लामा ठूला कफी बगैंचा नरहेको तर कफी खेती छरिएको छ।
चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले कफीको उत्पादन वृद्धिका लागि कफी बगैंचा सुदृढीकरणमा सहयोग गरेको छ। यस्तै गुल्मीको रेसुङ्गा नगरपालिका–८ का मनोज पाण्डे र सरोज बेलबासेले लगाएको आँपचौरको पिपलारुखमा दुई सय रोपनी जग्गामा स्थापना गरेका बगैंचाका लागि जग्गा भाडा उपलब्ध गराउने, कफी बगैंचाको स्थलगत भ्रमण, कफी खेतीमा संलग्न व्यवसायिक कृषक, उद्यमीबीच प्रत्यक्ष छलफल गरेको छ।
कृषि ज्ञान केन्द्र गुल्मी आगामी वर्षको कार्यक्रम कफी कृषकको बगैंचामै पुगेर कृषकको आवश्यकता पहिचान गरेर मात्र कार्यक्रम तय गर्नेछ। नमुना कार्यक्रम देखाइनेछ। कफी गुल्मीको पहिचान, गुल्मीको गौरव भएकाले यसको उत्पादन वृद्धिका लागि सबै पक्ष लाग्नुपर्ने भण्डारीले बताउनुभयो। गुल्मीमा उत्पादन भएको कफी बजारीकरण जिल्ला कफी सहकारी सङ्घ र बलेटक्सार कफी सहकारी सङ्घले गर्दै आएका छन्।