अमरराज नहर्की
तनहुँ, फागुन १९ गते । तनहुँको व्यास नगरपालिका–१ स्थित गल्बुबेंसीस्थित एक निजी विद्यालयका शिक्षकले कुट्दा विद्यार्थीको कानको जाली फुटेको छ ।
मादी श्री आवासीय माध्यमिक विद्यालयका शिक्षक मनोज राउतले कानको जाली नै फुट्ने गरी कुटेका हुन् । राउतले कक्षा ६ मा पढ्ने १२ वर्षीय रोनिश पराजुलीलाई कुट्दा देब्रे कानको जाली फुटेर दुई वटा प्वाल परेको र कानभित्र रगत जम्न पुगेको छ ।
राउतले आइतबार कक्षा ६ मा पढ्ने रोनिश पराजुलीले गल्ती गरेको भन्दै कानको जाली नै फुट्ने गरी पिट्नुभएको थियो । शिक्षक राउतले आफूले विद्यार्थी पराजुलीलाई पिटेको स्वीकार गर्नुभयो । रोनिशको आमा अर्पणा पराजुली छोरा घाइते भएपछि सुरुमा एपोलो हस्पिटल दमौली लागेको र अस्पतालले पोखरा रिफर गरेपछि मङ्गलवार गण्डकी मेडिकल कलेज लगेर जँचाएका थिए । त्यसपछि विद्यालयले विश्वास नगरेपछि पुनः पोखराकै पार्कल्याण्ड हस्पिटलमा नाक, कान घाँटी विशेषज्ञ डाक्टर सुधीर गोपाल पराजुलीसँग परीक्षण गरिएको थियो । परीक्षणका क्रममा कानको जालीमा दुई वटा प्वाल परेको र रगत जमेको डाक्टरको रिपाेर्ट उल्लेख छ ।
कुट्ने शिक्षकमाथि कारबाही गर्नुपर्ने माग राख्नुभएको छ । शारीरिक र मानसिक यातना दिएको स्थितिमा नकारात्मक असर परेर विगत पाँच दिनदेखि विद्यालय जान नसकेको बालकका हजुरआमा नानीमाया अधिकारीले बताउनुभयो ।