अविनाश चौधरी
धनगढी, फागुन १८ गते। कैलालीको कैलारी गाउँपालिकाले हिउँदे अधिवेशनबाट पाँच वटा विधेयक पारित भएका छन्। बिहीबार बसेको सो पालिकाको गाउँ सभा बैठकले सभा समक्ष प्रस्तुत सबै विधेयक पारित गरेको हो।
पारित भएका विधेयकमा कैलारी गाउँपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७९, कैलारी गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७९, कैलारी गाउँपालिकाको खानेपानी तथा सरसफाई उपभोक्ता समिति व्यवस्थापन कार्यविधि २०७९ रहेको छ। यसैगरी, कैलारी गाउँपालिकाको स्वास्थ्य नीति २०७९ र कैलारी गाउँपालिकाको न्यायिक समिति सञ्चालन कार्यविधि (पहिलो संशोधन) २०७९ छ।
विधेयक समितिका संयोजक विकास चौधरीले सभासमक्ष प्रस्तुत गर्नुभएका पाँच वटै विधेयक सर्वसम्मतले पारित भएका हुन्। सभालाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले सभामा उठेका विषयवस्तुप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो।