• ११ मंसिर २०८१, मङ्गलबार

सङ्घीय व्यवस्थाको जननी

blog

धेरै पहिलेदेखि नै जनयुद्ध दिवस मनाउने क्रममा विभिन्न कोणबाट अनेक किसिमका टीका टिप्पणी हुँदै आएका थिए । झन् यसपालि जनयुद्ध दिवसमा सरकारी बिदा नै दिएपछि कति ठाउँमा छिटपुट विरोध गरेको देखियो । प्रजातन्त्रमा आआफ्नो विचार राख्न पाइए पनि, कम्तीमा जनयुद्ध किन गर्नुपरेको थियो ? कसैको रहर हो कि बाध्यता ? त्यो लडाइँमा हजारौँ नेपाली जनताका छोराछोरीले किन बलिदान गरेका होलान् त ? सोच्नुपर्ने होइन र ? जमेको पोखरीमा ढुङ्गा हानेपछि तरङ्ग त आउँछ नै यद्यपि यो तरङ्गले बीचमा भएको फोहोरमैला पोखरीको छेउमा ल्याएर थिग्राउने काम भने अवश्य गर्छ । 

जनयुद्ध केका लागि भएको थियो, त्यसको लक्ष्य अहिले नै पूरा भए/भएनन् त्यो अर्को पाटो हो । त्यसले नेपाल र नेपालीलाई के दियो, महत्वपूर्ण विषय यो हो । कसै–कसैले त्यसलाई सशस्त्र विद्रोह पनि भन्ने गरेका छन् । विद्रोह होस् वा, जनयुद्ध आखिर त्यो एउटा क्रान्ति नै हो । किनकि त्यत्रो ठूलो बलिदान नेपालको इतिहासमा भेटिँदैन । नेपाली जनताका छोराछोरीले नै बन्दुक उचालेका हुन् । जुन लडाइँ दस वर्षसम्म चल्यो । कतिपय मानिसले त्यसलाई हत्या हिंसाको संज्ञा दिए, जुन सरासर गलत छ । किनकि कुनै पनि समाज परिवर्तन गर्न मानिसकै बलिदान चाहिन्छ । यद्यपि त्यस युद्धमा कतिपय गल्ती नगरेका निर्दोष सोझा साझा जनता पनि परे । 

जनयुद्धका कमाण्डर प्रचण्डले वक्तव्य जारी गरेर क्षमा याचना पनि गर्नुभएको थियो । सामान्य काम गर्दा पनि त गल्ती हुन्छ भने जनताको मुक्तिका लागि भएको जनयुद्धमा गल्ती हुँदैन र ? संसारमा कुनै पनि गल्ती नभई ठूलाठूला काम भएका छैनन् । अहिलेको युवायुवतीले बारम्बार भनेको सुनिन्छ, ‘सत्र हजार मान्छे मारेर माओवादी आएका हुन् ।’ जसले यस्ता गफ गर्छन् तिनीहरूलाई यस्तो भन्न छुट छ किनकि जनयुद्धको मर्म बुझेका छैनन् । यस्तो छिपछिपे बुझाइ राख्नेहरू मन्त्रीसम्म पनि भए । लडाइँमा दुवैतर्फका मान्छे मर्छन् र दुवैतर्फले मान्छे मार्छन् त्यस युद्धमा राज्यतर्फले पनि मा-यो र जनयुद्ध गर्नेले पनि मारे । यो त सामान्य मान्छेले पनि बुझ्ने कुरा हो । 

कतिपय ठूला मान्छेले पनि माओवादीले सत्र हजार मान्छे मा-यो भनिरहेका छन्, योभन्दा बेइमानी के हुन सक्छ र ? त्यो युद्ध के थियो भन्ने संसारले बुझेको छ तर हामी नेपालीले अहिले पनि बुझेको देखिएन । अहिले बोल्ने, लेख्ने, गाली गर्ने, छुट भाषण मात्रै गरेर चुनाव जित्ने, स्वतन्त्रता कहाँबाट प्राप्त भएको हो ? जनताको अदम्य साहसले लोकतान्त्रिक गणतन्त्र आएको हो, गुच्चा खेलेर होइन । 

विशेष गरी अहिलेको युवा पुस्ताले धेरै युवा युवा भनेर उफ्रिन पनि जरुरी छैन किनकि राज्य व्यवस्थामा बूढा पनि चाहिन्छ, युवा पनि चाहिन्छ । बूढाहरूको अनुभव त्याग सबै जानेर मात्र युवा अगाडि बढ्न सक्छ नत्र कुहिराको कागजस्तै बन्न पुग्छ । 

१९५० सालको सन्धि जुन भारतसँग भयो, त्यो सन्धि असमान छ, जुन राजा/राणाले गरेका हुन् । त्यसको कारणले नै देशको हरेक क्षेत्रमा नकारात्मक असर पारेको छ । महाकालीपारिको जमिन लिम्पियाधुरालगायतका क्षेत्र पनि राजाहरूले नै भारतलाई सुम्पेको कुरा बारम्बार आएकै हुन् । जुन हामी नेपालीलाई टाउको दुःखाइको विषय बनिरहेको छ । गोर्खा राज्य विस्तार गर्ने क्रममा पृथ्वीनारायण शाह र उनका छोरा बहादुर शाहले हत्या हिंसा नगरी राज्य विस्तार गरेका हुन् र ? त्यतिबेला पनि हजारौँ मानिसका ज्यान लिएका थिए । कीर्तिपुरका त्यतिबेलाका पीडितका परिवार पृथ्वीनारायणप्रति नकारात्मक प्रतिक्रिया दिन्छन् । 

नेपाली कांग्रेसले गरेको २००७ सालभन्दा अगाडिको आन्दोलनमा पनि सयौँ मानिसले ज्यान गुमाएका हुन् । झापा नक्सालवादी आन्दोलनमा मानिसका टाउका गिडिएका हुन् । हाम्रा शास्त्रमा हेरौँ, महाभारतको लडाइँमा लाखौँ मानिसले ज्यान गुमाएका छन्, त्यसका कमान्डर श्रीकृष्ण थिए । पाण्डवलाई पाचगाँव दिन नमान्दा त्यो युद्ध सुरु भएको हो । विश्वका ठूला ठूला क्रान्ति चाहे त्यो अमेरिकी स्वतन्त्रता सङ्ग्राम होस् वा फ्रान्सेली राज्यक्रान्ति, रुसी वा भियतनामी र चिनियाँ क्रान्ति वा भारतीय स्वतन्त्रताको लडाइँ होस् मानिस नमारिएका कहाँ छन् ? 

हामीले कुनै पनि युद्धको कुरूप पक्ष हेर्ने होइन सुन्दर पक्ष हेर्न सक्नु पर्छ । त्यस युद्धले के सन्देश दिन खोजेको छ त्यो उद्घाटन गर्न सक्नुपर्छ । पृथ्वीनारायणले नेपाल ‘चार वर्ण छत्तीस जातको फुलबारी हो’ भने तर के राज्य व्यवस्था त्यस्तो थियो त ? बरु जनयुद्धपछि राज्य व्यवस्थाको स्वरूप यस्तो बनाउन कोसिस गरिएको छ, जुन नेपालको संविधानमै उल्लेख गरिएको छ– अहिले सबै जात, जातिलाई समान तुल्याउने कोसिस गरिँदैछ । तल्लो जातिका मानिसलाई राज्यले आरक्षणको व्यवस्था मिलाइ दिएको छ ।

द्रुत गतिमा काम भएन होला तर काम त भई नै रहेको छ । राज्यमा पहिले–पहिले १६–१७ घण्टासम्म लोडसेडिङ थियो । त्यो अहिले हटेर गएको छ । देशका ठूला परियोजना द्रुतगतिमा अगाडि बढेका छन् । बाटाघाटा पहाडको र गाउँका कुनाकुनासम्म पु¥याउने काम भएकै छन् । जलविद्युत् परियोजना धमाधम बन्दैछन् । नेताहरूले काम गरेका छैनन् भनेर भन्न मिल्दैन । रह्यो भ्रष्टाचारको कुरा त्यो सबै देशमा छन् । हाम्रोमा अलि धेरै होला । त्यो समयक्रमसँगै कम गर्दै जानुपर्छ । 

हामी पछाडि परेको भनेको कृषिमा हो । राज्य व्यवस्थाले चाँडोभन्दा चाँडो त्यसमा ध्यान दिन जरुरी छ । उत्पादनमा सेना–प्रहरी युवा सबैलाई लगाउनुपर्छ ज्याला दिएर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई उत्पादनसँग जोड्नुपर्छ । दलाल पुँजीवादलाई नकार्दै कृषिमा निर्भर उद्योग खोलेर युवालाई रोजगारी दिनुपर्छ । जनयुद्धले संसारभरिका देशलाई नेपाली वीर छन्, परी आयो भने आफ्नो देशको रक्षा गर्न सेना मात्र होइन जनता पनि हतियार बोकेर लड्न सक्छन् भन्ने सन्देश पनि दिएको छ । जनतालाई पनि युद्ध गर्ने अभ्यास सिकाएको छ । जनतालाई आफ्नो अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने रहेछ भनेर झकझकाएको छ । 

सेना र प्रहरीमा पनि अहिले उल्लेख्य रूपमा महिलाको प्रवेश सम्मानजनक छ । तल्लो तहका भनिने असहाय, गरिब र जातजातिको चेतना वृद्धि गरिदिएको छ, जनताको छोराछोरी राष्ट्रपति उपराष्ट्रपति हुन पाएका छन् । समग्रमा भन्दा जनताद्वारा जनता नै शोषित छन्, योभन्दा राम्रो व्यवस्था संसारमा कुन हुन सक्छ र ? यो सबै जनयुद्धकै देन होइन र ? जनयुद्ध हुँदाखेरि पीडित दुवै युद्धरत पक्षका छन् । राज्य व्यवस्थाले समाजलाई बदल्न थालेपछि ती पीडितका सन्तानले पनि राज्य व्यवस्थाले दिने सुविधा स्वतः प्राप्त गर्छन् । समयले नै ती गहिरा घाउ पुर्दै लान्छ । त्यसैले जनयुद्ध दिवस मनाउने भनेको एक पक्षका लागि मात्र होइन कि समग्र पक्षका लागि हो, कालान्तरमा गएर पुष्टि हुँदै जान्छ यसको सान्दर्भिकता ।

लेखक समाज अध्ययन परिषद् नेपालका अध्यक्ष हुनुहुन्छ ।