• ४ जेठ २०८१, शुक्रबार

जाडो बिदा ‘रमाइलो अनुभव’

blog

साथीहरू । तपाईंहरूको जाडो महिनाको बिदामा के  के गर्नुभयो ? बिदाको समयमा यत्तिकै घरमा बसिरहनुभन्दा हामीले केही न केही राम्रो काम गर्ने र नयाँ नयाँ ठाउँमा घुम्ने गर्नुपर्छ । परिवारसँग घुम्दाको रमाइलो छुट्टै हुन्छ भने विद्यालयबाट घुमघाम गर्दाको झन् धेरै रमाइलो हुने रहेछ । आशा छ यो जाडो  बिदामा सबैले धेरै रमाइलो गर्नुभयो होला । धेरै कुरा पनि सिक्नुभयो होला । मैले पनि जाडो महिनाको बिदामा धेरै रमाइलो गरेँ । धेरै कुरा पनि सिकेँ । जाडो महिनाको बिदामा म विन्टर क्याम्पमा गएको थिएँ । त्यहाँ मैले किबोर्ड बजाउन सिकेँ । माटोको भाँडा पनि बनाउन सिकेँ । माटोको भाँडा हामीले बाहिरबाट हेर्दा चिटिक्क परेको देख्छौँ । त्यसलाई सुरुबाट नै बनाउन कति मेहनत गर्नुपर्ने रहेछ भन्ने पनि सिक्न पाएँ । माटोबाट पनि धेरै सिर्जनात्मक काम गर्न सकिने रहेछ । माटोको भाँडा बनाउने बूढा मान्छेहरूको अनुभव त झन् कति धेरै हुने रहेछ । उहाँहरूको कला  र पुरानो पेसा देखेर खुसी लाग्यो । माटोको भाँडामा मैले  पनि सानो मट्का बनाएको थिएँ । जसमा मैले सानो फूल पनि रोपेको छु ।

 मैले जाडो बिदामा धेरै चित्र बनाएँ । अरू समयमा फुर्सद नै हुँदैनथ्यो । बिदाको समयमा आरामसँग युट्युबमा हेरेर मलाई मन पर्ने कुराको चित्र बनाएँ । रङसँग खेलेर आफ्नो कला आमाबाबालाई देखाउन पाउँदा दङ्ग परेँ । विद्यालयमा पनि मैले बनाएको चित्र लगेर देखाउने छु । विन्टर क्याम्पमा मैले घरैमा बसेर फूलको आँखामा फूलै संसार... गीत गाउन पनि सिकेँ । अबदेखि फुर्सदको समयमा गुनगुनाउ पनि मन पर्छ । मैले त जाडो महिनाको बिदा एक दिन पनि खेर फालिन ।  धेरै कुरा सिकेँ  । तपाईहरूले  के के सिक्नु भयो ? साथीहरू अब मुनामा पढ्ने है ।