• १२ साउन २०८१, शनिबार

जिज्ञासु समृद्धि

blog

समृद्धिलाई हामीले युट्युबमा उनको आफ्नै च्यानल ‘स्यामिज वल्र्ड’ सर्च गरेर पनि उनका बारेमा हेर्न सक्छौँ । जसमा उनले विभिन्न कथाका किताबबाट तस्बिरसमेत देखाउँदै कथा सुनाउँछिन । यसै च्यानलबाट उनी नयाँ–नयाँ ठाउँहरूमा घुम्दै उक्त ठाउँहरूका बारेमा जानकारी दिँदै भिडियो पनि बनाउँछिन् । 

समृद्धि श्रेष्ठ अहिले आठ वर्षकी भइन् । उमेरले सानी भए पनि उनी निकै जिज्ञासु स्वभावको छिन् । नयाँ नयाँ कुरा गर्न मन पराउने समृद्धि आफैँले बनाएका धेरै भिडियो हामीले युट्युबमा पनि देख्न सक्छौँ । समृद्धि शिखर स्कुल इमाडोल, ललितपुरमा कक्षा ३ मा पढ्छिन् । चार वर्षको उमेरदेखि नै उनले गीत गाउन सुरु गरेकी हुन् । सानै उमेरको तोतेबोलीमै 

उनले ‘गिफ्ट टु यु’ बोलको  अङ्ग्रेजीमा गीत रेकर्ड गरी भिडियो बनाइन् । सानी समृद्धिको उक्त भिडियो युट्युबमा निकै रुचाइयो । यसबाट उनलाई राम्रो प्रेरणा र हौसला पनि मिल्यो । यसपछि सात वर्षको उमेरमा उनले विश्वप्रख्यात गायिकाहरू सिया, एडेल र रुथ बी का गीतहरू अनस्टपेबल... ईजी अन मी... र  डेन्डलाइनका गीतहरू रेकर्ड गरी भिडियो बनाएर युट्युबमा राखेकी छिन् । 

 सानी समृद्धिको ती प्रस्तुति साँच्चै नै लोभलाग्दो नै छ । समृद्धिले दुई वर्षदेखि निरन्तर जिम्न्यास्टिक र पौडीको पनि तालिम लिइरहेकी छिन् ।  उनलाई दुवै खेल मन पर्छ । यस्तै उनलाई  विभिन्न स्टेज कार्यक्रम सञ्चालन गर्न तथा नाटकमा अभिनय गर्न पनि मनपर्छ । समृद्धि आफूलाई कथा वाचकका रूपमा प्रस्तुत गर्न पाउँदा झनै खुसी लाग्ने बताउँछिन् । जनावरलाई अति माया गर्ने समृद्धिले मुनासँगको कुराकानीको क्रममा भविष्यमा एयरनोटिकल इन्जिनियर  बन्ने लक्ष्य भएको पनि सुनाइन् ।