• १२ मंसिर २०८१, बुधबार

व्यवसायीद्वारा थप आन्दोलनको कार्यक्रम घोषणा

blog

पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमबारे जानकारी दिँदै व्यवसायी। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, फागुन १४ गते। बैङ्क तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्ध आन्दोलनमा उत्रेका कैलालीका व्यवसायीले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन्। 

सोमबारदेखि आफ्नै व्यवसाय बन्द गरेर आन्दोलन गर्ने गरी व्यवसायीले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन। बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर फिर्ता गर्नुपर्ने मागको सुनुवाइ नभएकोले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिनुभयो। 

‘अहिलेसम्म हामीले अरुको लागि व्यापार, व्यवसाय बन्द गर्दै आएको थियौं’, कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,‘अब आफ्नै लागि व्यापार व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिन्छौं।’ 

माग पूरा गराउनका लागि सालिन तरिकाले आन्दोलन गर्दा राज्यले सुनुवाइ नगरेको व्यवसायीहरुको भनाइ छ। भोलिदेखि फागुन २० गतेसम्म हरेक दिन धनगढीमा प्रदर्शन गर्ने र ९ देखि ११ बजेसम्म दुई घण्टा व्यापार, व्यवसाय बन्द गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ।

शालीन तरिकाले माग राख्दा सुनुवाइ नभएकाले अब दबाब सिर्जनाका लागि व्यापार व्यवसाय बन्द गर्ने सङ्घका वरिष्ठ उपाध्यक्ष पुस्कर ओझाले बताउनुभयो। ‘त्यसै पनि अहिले व्यापार, व्यवसाय धराशयी भएर बन्द जस्तै छ’, उहाँले भन्नुभयो। 

बैङ्क तथा वित्तीय संस्थाले एकैचोटी ब्याजदर बढाएर १७ प्रतिशतसम्म पुर्‍याएपछि समस्यामा परेको व्यवसायीले बताएका छन्। सात÷आठ प्रतिशत लिइँदै आएको ब्याजदर एकैचोटी आधाभन्दा बढी बढाएर १७ प्रतिशत पुर्‍याएपछि ऋण तिर्न नसके व्यवसायी पेसाबाटै पलायन हुने अवस्था आएको उनीहरुको भनाइ छ। चर्को ब्याजले गर्दा व्यवसाय नै धराशयी भएको वरिष्ठ उपाध्यक्ष ओझाले बताउनुभयो। 

माग सुनुवाइ नभएमा चैत १ गतेबाट आन्दोलनका कार्यक्रम अझ सशक्त र कडा बनाइने उहाँले बताउनुभयो।