• १३ साउन २०८१, आइतबार

परराष्ट्रमन्त्री डा. पौड्याल जेनेभा प्रस्थान गर्नुहुँदै

blog

काठमाडौँ, फागुन  १४  गते । परराष्ट्र मन्त्री डा. विमला राई पौड्याल मानवाधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुहुने भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । 

नेपाल परिषद्को सदस्य राष्ट्र हो । सो अवसरमा नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री डा. पौड्यालले नेपालको उपस्थिति र यस क्षेत्रमा नेपालले गरेका प्रगति र कामका बारेमा विश्वमञ्चमा जानकारी गराउनका लागि पनि यसपटकको सहभागिता महत्वपूर्ण हुने बताउनुभयो । 

नेपालले सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषय र गरेका कामका बारेमा अन्तर्राष्ट्रिय मञ्चमा सुनाउनेछ । सो अवसरमा विभिन्न द्विपक्षीय भेटवार्ता हुने, परिषद्का उच्चायुक्त, आइएलओका महानिर्देशकलगायतसँग समेत भेट हुने मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।

मन्त्री डा. पौड्याल नेतृत्वको प्रतिनिधिमण्डल परिषद्को सम्मेलनमा सहभागी भएपछि यही फागुन १९ गते जेनेभाबाट कतारको दोहा प्रस्थान गर्ने कार्यक्रम छ । उहाँ दोहामा अतिकम विकसित मुलुकहरु (एलडिसिज)को पाँचौँ सम्मेलनमा सहभागी हुनुहुनेछ । सो सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ । परराष्ट्रमन्त्री डा. पौड्याल यही फागुन २३ गते स्वदेश फर्कनुहुनेछ । रासस