• १२ मंसिर २०८१, बुधबार

भारत जाने कामदारको निःशुल्क दुर्घटना बीमा

blog

गोकर्ण दयाल  

बैतडी, फागुन १३ गते  ।  बैतडीको पाटन नगरपालिकाले स्थानीय साझेदार संस्थासँग मिलेर भारतमा काम गर्ने जाने नेपाली कामदारको दुर्घटना बीमा गराउन थालेको छ । 

पाटन नगरपालिका र स्थानीय साझेदार संस्था रुडेस बैतडीले भारतमा काम गर्न जाने मजदुरको पाँचदेखि सात लाख रुपियाँसम्मको निःशुल्क बीमा सुरु गरेको हो । बिहीबारदेखि वडास्तरमै गएर बीमा गर्न नगरपालिकाले टोली नै खटाएको पाटन नगरपालिकाका निमित्त कार्यकारी प्रमुख राजेन्द्रप्रसाद भट्टले बताउनुभयो । बिहीबार पाटन नगरपालिका–६ मा खटिएको टोलीले भारतमा कम गर्न जाने कामदारको निःशुल्क बीमा भर्न थालेपछि एकै दिन २५० जनाले दुर्घटना बीमाको फाराम भरेको उहाँले जानकारी दिनुभयो । 

बीमा शुल्कमध्ये पाटन नगरपालिकाले ५० प्रतिशत र रुडेस बैतडीले ५० प्रतिशत रकम जम्मा गरी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपाली कामदारको दुर्घटना बीमा सुरु गरेको पाटन नगपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताउनुभयो । भारतमा काम गर्न जाने मजदुरको दुर्घटनामा मृत्यु भएमा वा घाइते भएमा बीमितले उपचार खर्चदेखि मृत्युपर्यन्त परिवारका सदस्यले पाँचदेखि सात लाख रुपियाँ पाउनेछन् । 

भारतमा काम गर्न जाने मजदुरले बीमाको रकम तिर्न सक्ने अवस्था नभएपछि अक्सफाम नेपालको सहयोगमा रुडेस बैतडीले बीमा गर्न सहयोग गरेको संस्थाका कार्यक्रम अधिकृत गोपालसिंह भाटले जानकारी दिनुभयो । कामदारको बीमा गर्न रुडेस बैतडीले पाटन नगरपालिकालाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो । यो वर्षदेखि दशरथचन्द नगरपालिकामा पनि बीमा कार्यक्रम लागू भएको उहाँले जानकारी दिनुभयो । 

अक्सफाम नेपालको सहयोगमा ग्रिन कार्यक्रम सञ्चालन गरेर आप्रवासी कामदारको बीमासँगै घरपरिवारलाई स्वदेशमै रोजगारी सिर्जना गर्न तरकारी खेतीका लागि निःशुल्क बीउबिजन, पोलिहाउस र गोठ सुधारको कार्यक्रम सञ्चालन भइरहेको कार्यक्रमका फिल्ड अधिकृत तेजराम लोहारले बताउनुभयो । नगरपालिकासँग समन्वय गरेर जलवायु उत्थानशील कार्यक्रम सञ्चालन गरेर वडाको प्रकोप योजना निर्माण भइरहेकोसमेत उहाँले बताउनुभयो । नगरपालिका र संस्थाको अगुवाइमा तरकारी खेतीका लागि सहयोग पाएपछि भारत जान छाडेर स्वदेशमै तरकारी खती सुरु गरेको पाटन नगरपालिका–८, जुकेपानीका वीरबहादुर विष्टले बताउनुभयो । 

तरकारीको बीउ लिएर कृषि प्राविधिक पोलिहाउससहित गाउँमा आएर निःशुल्क सहयोग गरेपछि एक वर्षको अवधिमा तीन लाख रुपियाँ आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । आलु, टमाटर, काउली, रायोलगायत तरकारी खेतीबाट भारतमा भन्दा बढी पैसा आम्दानी हुँदा भारत जान छाडेको उहाँले बताउनुभयो ।  स्वदेशै रोजगारी सिर्जना मुख्य प्राथमिकता भएकाले भारत छाडेर गाउँमै तरकारी खेती गर्न चाहने परिवारलाई तरकारी खेतीका लागि सहयोग र भारत जान चाहनेका लागि दुर्घटना बीमा कार्यक्रम लागू गर्ने बैतडीको पाटन नगरपालिका पहिलो स्थानीय तह भएको उपप्रमुख कमलसिंह बोहराले बताउनुभयो । 

उहाँले भन्नुभयो, “नगरपालिकाको उद्देश्यलाई सघाउन गैरसरकरी संस्थाले बजेट र प्रविधि लिएर आएपछि काम गर्न सहज भएको छ । चिया, बिस्कुट बाँडेर कोठामा कार्यक्रम गर्ने संस्थाभन्दा किसानको बारीमा पुगेर काम गर्ने संस्था हामीलाई पनि चाहिएको थियो । अहिले गाउँमा तरकारी खेती र भारत जाने व्यक्तिको दुर्घटना बीमा गर्ने काम चलिरहेको छ ।” 

चालू आर्थिक वर्षभित्र नगरपालिकाले एक हजार पाँच सय कामदारको दुर्घटना बीमा गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो । भारतका काम गर्न गएको घरपरिवारका सदस्य पत्ता लगाएर भए पनि दुर्घटना बीमाका लागि सामाजिक परिचालकलाई गाउँ पठाएको नगरपालिकाले जनाएको छ ।