• २१ पुस २०८१, आइतबार

शहीद मार्ग कालोपत्रे गरिँदै

blog

बुद्धसिंह मार्गको निरीक्षण गर्नुहुँदै गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान ।

तनहुँ समाचारदाता 

तनहुँ, फागुन १२ गते । वर्षौंदेखि अलपत्र परेको गण्डकी प्रदेशलाई चितवन जोड्ने शहीद बुद्धसिंह मार्गको कालोपत्रेको काम अघि बढेको छ। हाल मार्गको कालोपत्रेका लागि कटिङ, टेवा पर्खाल, नाला निर्माण, ग्याबिन तारजाली राख्ने जस्ता पूर्वाधार निर्माणका काम भइरहेको छ। 

कुल ३४ किलोमिटर दूरीमध्ये पहिलो चरणमा तनहुँको सदरमुकाम दमौलीको बसपार्कदेखि १० किलोमिटर सुँडेको पुलसम्म सात मिटर चौडा हुने गरी कालोपत्रेका लागि काम अघि बढेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। करिब ३१ वर्षअघि खोलिएको यस मार्गको कालोपत्रे नहुँदा यो मार्ग वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये समस्या रहँदै आएको छ। पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुन्छ। 

व्यास–१, दमौली बसपार्कदेखि आँबुखैरेनी–५, घुमाउनेघाटसम्म यस मार्गको कुल लम्बाइ ३४ किलोमिटरमध्ये १० किलोमिटर पक्की सडक निर्माणका लागि ठेक्का सम्झौता भइसकेको पूर्वाधार विकास कार्यालय तनहुँका सिनियर इन्जिनियर दिनेशकुमार घिमिरेले बताउनुभयो। ३३ महिनाभित्र सम्पन्न गर्ने गरी २०७९ भदौ २७ गते सम्झौता भएको उहाँले जानकारी दिनुभयो। भ्याटसहित ३४ करोड २७ लाख ५४ हजार ५६१ रुपियाँको लागतमा सम्पन्न हुने गरी सम्झौता गरिएको कार्यालयले जनाएको छ। 

चालू आर्थिक वर्षमै सक्ने गरी सफल मैनाचुली जेभीले बसपार्कदेखि १० किलोमिटर सुँडेको पुलसम्म सात मिटर चौडा हुने गरी कालोपत्रे गर्न टेवा पर्खाल लगाउने, नाला बनाउनेजस्ता कार्य गरिरहेको सूचना अधिकारी इन्जिनियर धनमाया मिश्रले बताउनुभयो। उक्त मार्गमा रहेका खहरे खोलाले वर्षायाममा यातायात सञ्चालनमा कठिनाइ हुने गरेकाले पक्की पुल बनाउन प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो।

उक्त मार्गको कुल ३४ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर तनहुँ हाइड्रो पावरको जिम्मेवारीमा पर्ने र बाँकी १६ किलोमिटर पक्की सडक निर्माणका लागि समपूरक योजनामा पार्नका लागि प्रक्रिया अघि बढाएको मिश्रले जानकारी दिनुभयो। यस मार्गबाट नारायणघाट हुँदै दमौली पुग्न पृथ्वीराजमार्गको यात्राभन्दा २२ किलोमिटरभन्दा बढी दूरी छोटो पर्छ। उक्त सडक तनहुँ सदरमुकाम दमौलीबाट मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेसम्म ३२ किमी दूरीमा पर्छ।

जब कि अहिले यात्रा गरिँदै आएको पृथ्वीराजमार्गको दमौली–मुग्लिङ सडक र मुग्लिङदेखि घुमाउनेसम्मको दूरी ५६ किमि छ। तर आँबुखैरेनी–५ र भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथि मोटरेबल पुल नबन्दा यात्रु दमौलीदेखि आँबुखैरेनी–५ घुमाउने घाटसम्म यात्रा गर्न बाध्य छन्। उक्त मार्गको करिब आठ किलोमिटर दूरी तल्लो सेती जलविद्युत् परियोजनाले डुबानमा पार्ने भएकाले नयाँ ट्र्याक खोल्नुपर्ने अवस्था रहेको कार्यालयले जनाएको छ। 

यसैबीच यस सडकखण्डको गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले बुद्धसिंह मार्गको कालोपत्रे समयमै पूरा गर्न निर्देशन दिनुभएको छ। मन्त्री चुमानले सो मार्गको कामको हालै निरीक्षण गर्दै सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको हो। कामको प्रगतिबारे जानकारी लिन र समयमै काम पूरा गराउने उद्देश्यले स्थलगत निरीक्षण गरेको मन्त्री चुमानले बताउनुभयो। गण्डकी प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेर बजेट निकासा गरेको र प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि समावेश गरी प्राथमिकतामा राखेको मन्त्री चुमानले बताउनुभयो।