• १२ मंसिर २०८१, बुधबार

अघि बढ्यो लालपुर्जा वितरण प्रक्रिया

पाँच दशकदेखिको पर्खाइ अन्त्य हुने आशा

blog

मीना कँडेल

कावासोती, फागुन १२ गते । पूर्वी नवलपरासीको दुई पालिकामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई छिट्टै लालपुर्जा वितरण गर्न प्रक्रिया अगाडि बढाइएको छ। देवचुली नगरपालिका–४ र हुप्सेकोट गाउँपालिका–३ मा केही दिनअघि जग्गा नाप कार्यको सुरु गरियो। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको जग्गाको नापजाँचका लागि सोही वडाबाट नियन्त्रण बिन्दु स्थापनासमेत गरिएको छ। 

अहिले सोही वडाका विभिन्न स्थानमा प्राविधिकसहितको टोलीले जमिनको नाप लिइरहेको छ। आफ्नो वर्षौंको पर्खाइ अन्त्य हुने विश्वाससहित स्थानीयहरू जग्गा नाप्न आउनेहरूलाई पछ्याइरहेका छन्। करिब ५२ वर्षदेखि पुर्जाको आसमा बसेका देवचुली–४ का स्थानीयलाई आस देखाइएको भए पनि सोचेअनुसारको पुर्जा भने अहिलेसम्म प्राप्त गर्न नसकेको बमबहादुर मगरले बताउनुभयो। “५२ वर्षदेखि जग्गा दिन्छु, दिन्छु भन्ने धेरै आए तर अहिलेसम्म खोइ कसले दियो ?

हामीलाई खालि आस मात्र दिएका छन्,” उहाँले भन्नुभयो, “नगरपालिकाले नापजाँच सुरु गरेको निकै राम्रो भए पनि जनतालाई आँखाको छारो नहोला पनि भन्न सकिँदैन।” उहाँले धेरैको यस्तो समस्या रहेको बताउनुभयो। उहाँका अनुसार जमिन भएर पनि उच्च शिक्षा अध्ययन गर्न विदेश जान नपाएका बालबालिकाहरू, राम्रो व्यवसाय गर्छु भन्नेहरूले व्यवस्थित व्यवसाय गर्न नपाएकाहरूलगायत धेरैको समस्या छ।

हुप्सेकोट गाउँपालिका–३ मा भूमिहीन तथा अव्यवस्थित रूपमा बसोबास गरेका स्थानीको जग्गा नापजाँच गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थानीयलाई निराश नबनाउने र अब छिट्टै लालपुर्जा वितरण गर्ने विश्वास व्यक्त गर्नुभयो। हुप्सेकोट गाउँपालिकामा दुई हजार पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेका छन्। वडा नं २ मा यसअघि नै जग्गा नापजाँच गरिसकिएको छ भने अहिले वडा नं. ३ मा सुरु गरिएको पनि उहाँले बताउनुभयो। यता देवचुली नगरपालिकामा चार हजार ४६० भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेका छन्।