• १३ वैशाख २०८१, बिहिबार

चक्रपथ विस्तार छिट्टै

blog

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह, नेपालका लागि चीनका राजदूत छन सोङलगायत बिहीबार रिङरोड निरीक्षण गर्नुहुँदै । तस्बिर : कविन अधिकारी

काठमाडौँ, फागुन १२ गते । काठमाडौँ चक्रपथको बहुप्रतीक्षित कलङ्की–महाराजगञ्ज सडक खण्डको विस्तार कार्य छिट्टै सुरु गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

चक्रपथको सो खण्डको बिहीबार निरीक्षण गर्ने क्रममा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह, नेपालका लागि चीनका राजदूत छन सोङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सरोकारवाला निकायका प्रमुखहरूले सो प्रतिबद्वता व्यक्त गर्नुभएको हो। 

विस्तार गरिनुअघि पूर्वतयारी नगरिँदा सो सडकखण्डको विस्तार कार्यमा ढिलाइ हुँदै आएको छ। विस्तारका लागि बिजुलीका खम्बाको स्थानान्तरण (रि–लोकेटेड) तथा सडक क्षेत्रमा परेका संरचनाहरू हटाउने कार्य अझै पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। त्यसैगरी महाराजगञ्ज क्षेत्रमा गर्नुपर्ने जग्गा अधिग्रहणसमेत हुन नसक्दा दोस्रो चरणको चक्रपथ विस्तार सुरु हुन नसकेको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले चक्रपथ विस्तारका लागि रेखाङ्कनभित्र पर्ने रुख कटान, बिजुली तथा दूरसञ्चारका खम्बासहितका अधिकांश भौतिक संरचना हटाउने कार्य सम्पन्न भइसकेकाले अब विस्तार कार्य छिट्टै नै सुरु हुने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “चक्रपथको सो खण्ड विस्तारका विषयमा नेपाल र चिनियाँ पक्षले गम्भीरतापूर्वक अध्ययन गरेको थियो, केही समस्या देखिएको थियो, अब समाधान निकालिसकिएको छ। केही खम्बा हटाउन बाँकी रहेको र साना मन्दिर अर्को ठाउँमा बनाउने गरी हटाउने काम भएको छ। केही प्रहरी चौकी हटाइसकिएको छ, अब छिट्टै नै काम सुरु गर्छौं।” 

चीनका राजदूत छनले पनि छिट्टै काम सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिनुभयो। चक्रपथ विस्तारको क्रममा स्वयम्भू स्तूप अगाडि देखिएका समस्या समाधानका लागि डिजाइनमै नयाँ तरिकाले समाधान गर्ने गरी समझदारी भइसकेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “त्यहाँ सांस्कृतिक हिसाबले भत्काउन उपयुक्त हुँदैन भन्ने समझदारी भएको छ, डिजाइन फेरेर काम हुन्छ। वसुन्धराको प्रहरी चौकी हिजै हटाइसकिएको छ, मन्दिरको समस्या समाधान भइसक्यो।” धोबीखोलासम्म नै चक्रपथको विस्तार गरिदिन नेपालले चीन सरकारसँग अनुरोध गरेको जानकारीसमेत उहाँले दिनुभयो।

चीनका राजदूत छनले चक्रपथ विस्तारका लागि चीनले नेपालको तयारी कुरेर बसेको बताउँदै नेपाल सरकारले चक्रपथ रेखाङ्कनभित्रका संरचनाहरू हटाउनेलगायतको काममा तदारुकता दिएकाले छिट्टै नै विस्तार कार्य सुरु हुने विश्वास व्यक्त गर्नुभयो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत् प्राधिकरणका खम्बाका कारण कुनै पनि ठाउँमा चक्रपथ विस्तारमा समस्या नभएको दाबी गर्दै कलङ्की–बसुन्धरा खण्डमा अब करिब १५ वटा खम्बा हटाउन बाँकी रहेको र ती खम्बा बढीमा दुई हप्ताभित्र हटाइसक्ने जानकारी दिनुभयो।

काठमाडौंँ चक्रपथ सुधार योजनाका प्रमुख सजना अधिकारीले प्रस्तावित रेखाङ्कनभित्रका अधिकांश संरचना हटाइसकिएकाले अब चक्रपथको विस्तार कार्य सुरु गर्न कुनै समस्या नरहेको बताउँदै अब छिट्टै नै काम सुरु हुने बताउनुभयो। 

सो खण्डमा करिब तीन सय बिजुलीका खम्बा हटाइसकिएको र बिजुली तथा दूरसञ्चारका गरी अब बाँकी रहेका २२ वटा खम्बा मात्र स्थानान्तरण गर्न बाँकी रहेकाले विस्तार कार्य सुरु गर्न कुनै समस्या नरहेको उहाँको दाबी छ। उहाँका अनुसार सडक रेखाङ्कनभित्र रहेका १९ वटा मन्दिरमध्ये गोङ्गबुमा रहेको मन्दिरबाहेक अन्य सबै मन्दिर स्थानान्तरण गरिसकिएको छ। रुख र चौतारोहरू पनि हटाइसकिएको छ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सो खण्डको विस्तार हुन लागेको हो। यसअघि चीनले चक्रपथको पहिलो खण्डका रूपमा कोटेश्वरदेखि कलङ्कीसम्मको विस्तार कार्य सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरिसकेको छ। चीनले २०७५ माघ १५ गते चक्रपथको सो खण्ड नेपाललाई हस्तान्तरण गरेको थियो।

सडकको बीचमा ‘मेडियन’

कलङ्कीदेखि धोबीखोलासम्म विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। काम सुरु भएको तीन वर्षभित्र विस्तार कार्य सम्पन्न गरिने चक्रपथ सुधार आयोजनाले जनाएको छ।

डीपीआरअनुसार चक्रपथको कोटेश्वर–कलङ्की खण्डभन्दा कलङ्की–धोबीखोला खण्डको डिजाइन फरक रहेको छ। यस खण्डमा दुई सडकको बीचमा खाली ठाउँ राखिनेछ, जसलाई ‘मेडियन’ भनिन्छ। रातिको समयमा चालकको आँखामा विपरीत दिशाबाट आइरहेको सवारीसाधनको बत्तीको प्रकाश पर्ने गरेको हुनाले यस खण्डमा ‘मेडियन’ राखिने भएको हो । कोटेश्वर–कलङ्की खण्डमा ‘मेडियन’ राखिएको छैन।

चक्रपथको कलङ्कीदेखि धोबीखोला (चाहबिल) पुलसम्मको कुल लम्बाइ ११ दशमलव ६ किलोमिटर छ। कलङ्कीदेखि महाराजगञ्जसम्मको लम्बाइ ८ दशमलव २ किलोमिटर र कलङ्कीदेखि कोटेश्वरसम्मको कुल लम्बाइ १७ किलोमिटर छ। चक्रपथको कुल लम्बाइ २७ दशमलव २ किलोमिटर रहेको छ। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २०७२ चैतमा भएको चीन भ्रमणका क्रममा पूरै चक्रपथ विस्तार गर्ने विषयमा सहमति भएको थियो। २०२७ सालमा चीन सरकारकै अनुदान सहयोगमा चार लेनको चक्रपथ निर्माण भएको थियो।