• १३ साउन २०८१, आइतबार

माओवादी केन्द्रको गोरखा इञ्चार्जमा तमु

blog

गोरखा, फागुन ११ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखा जिल्लाको इञ्चार्जमा अमर तमुलाई जिम्मेवारी तोकिएको छ । तमुलाई पार्टी केन्द्रले जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको पार्टी जिल्ला संयोजक विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । 

यसअघि जिल्ला इञ्चार्ज रहनुभएका नेता कृष्ण धिताल गण्डकी प्रदेशसभाको सभामुखमा निर्वाचित हुनुभएपछि गोरखा जिल्लामा इञ्चार्ज खाली भएको थियो । सभामुख धितालले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिनुभएपछि केन्द्रीय सदस्यसमेत रहनुभएका सहइञ्चार्ज तमुलाई पार्टीले जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको उहाँले बताउनुभयो ।

विसं २०५३ मा पार्टीको पूर्णकालीन सदस्य भएर जनयुद्धमा होमिनुभएका नेता तमु विसं २०५५ मा पार्टीको जिल्ला कमिटी सदस्य, २०५८ सालमा उपब्युरो सदस्य तथा पार्टीको गोरखा जिल्लाको जनसरकार प्रमुख बन्नुभएको थियो । विसं २०५९ मा तत्कालीन नेकपा ९माओवादी० को तत्कालीन क्षेत्रीय ब्युरो सदस्य बन्नुभएका उहाँले विसं २०६० देखि एक वर्ष कास्की जिल्लाको इञ्चार्जको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

त्यस्तै विसं २०६९ मा पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पाउनुभएका नेता तमु अहिलेसम्म पनि लगातार पार्टीको केन्द्रीय समितिमा रहेर जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । यसअघि पनि नेता तमुले २०७० सालदेखि ७२ सम्म गोरखा जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाली सक्नुभएको छ ।

विसं २०६४ भएको पहिलो ऐतिहासिक संविधानसभामा गोरखा क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्य पदमा उहाँ निर्वाचित भएर संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।