चितवन समाचारदाता
चितवन, फागुन ११ गते । चितवनको वागेश्वरीमा संरक्षण गरी पालिएको स्थानीय जातका गाईको मूत्र औषधिका रूपमा प्रयोग गर्न थालिएको छ। देवघाटनजिकै रहेको वागेश्वरी आध्यात्मिक परिषद्ले संरक्षण गरिरहेको गाईको मूत्र दम, ग्यास्ट्रिक, घाउखटिरा, छालासम्बन्धी समस्या, पाचन प्रक्रियामा भएको समस्यालगायतका लागि औषधिका रूपमा प्रयोग गरिएको हो। प्राकृतिक चिकित्सालय वागेश्वरीका निर्देशक डा. हेमराज कोइरालाले गौमूत्र प्रयोगबाट धेरै रोग निको पार्न सकिने बताउनुभयो। उहाँले भन्नुभयो, “गाईको मूत्र प्रायोगसँगै खानपान, आनीबानी, सात्त्विक भोजन, व्यायामलगायत रोगअनुसारका अन्य विधि पनि अपनाएर निको पारिएको छ।”
२०४० सालदेखि संरक्षण गरी पालिएका स्थानीय जातका गाईलाई समितिले दाताको सहयोगमा आहारा व्यवस्था गरिरहेको छ। गौ संरक्षण समितिले केही रकमसमेत बचत गरेको छ। बचत रकमबाट प्राप्त ब्याजले दानापानी, गौमूत्रबाट औषधि बनाएर बिक्री गर्दै आइएको छ।
वागेश्वरी आध्यात्मिक परिषद्का अध्यक्ष शैलेन्द्र पिया स्थानीय जातको गाई लोप हुने अवस्थामा पुगेको महसुस गरेर संरक्षण गरिएको बताउनुभयो। पियाले भन्नुभयो, “अहिले गाउँमा जाने हो भने वर्णशङ्कर जातका गाई पालिएका छन्। ती गाईले दूध धेरै दिन्छन् र पैसा कमाउन सकिएला तर हाम्रो स्थानीय जात लोप भएर जान्छन्।”
गाई संरक्षणसँगै मूत्र बिक्रीबाट आम्दानी पनि हुन थालेपछि केही सहज भएको उहाँले बताउनुभयो। “गाईको मूत्रबाट औषधि बनाइएको सामग्रीलाई गौ अर्क भनिन्छ,” अध्यक्ष पियाले भन्नुभयो, “बिस्तारै मानिसमा यसको महत्त्व बढ्दै गएको छ।”
गोबरबाट गमला
परिषद्ले स्थानीय जातको गाईको गोबरबाट इँटा, गमला, धूपलगायतको सामग्री बनाउने तयारी गरेको छ। भारतको विभिन्न स्थानमा यस्ता सामग्री बनाएर प्रयोगमा ल्याएको पियाको दाबी छ। “तत्काल बजेट अभाव भएकाले हामीले यसको काम अगाडि बढाउन सकेका छैनौँ,” पियाले भन्नुभयो, “सरकारसँग छलफल भएको छ। यसले मूर्त रूप लिने तयारीमा रहेको छ। कम्तीमा ७० लाख भएमा मेसिन खरिद गरेर गोबरबाट इँटा, गमला, धुपलगायत सामग्री बनाउन सकिन्छ।”