गोरखापत्र अनलाइन
ललितपुर, फागुन ८ गते । ललितपुर महानगरले महानगरभित्र रहेका आर्थिक, धार्मिक र पौराणिक दृष्टिले महत्त्वपूर्ण वनस्पतिहरूको व्याख्या गरिएको पुस्तक प्रकाशित गरेको छ ।
नेपालका प्रथम बोटानिष्ट प्रयागराज पाण्डे फाउन्डेसनको संयोजनमा तयार पारिएको उक्त पुस्तक महानगरले प्रकाशित गरेको हो । उक्त पुस्तक वनस्पति विज्ञद्वय डा. पुष्पमान अमात्य र हरिकृष्ण सैंजुले लेख्नु भएको हो । अमात्य महानगरका वनस्पतिविज्ञ सल्लाहकार हुनुहुन्छ ।
पुस्तकमा महानगरको २९ वटै वडामा अनुसन्धानका क्रममा भेटिएका ३० प्रजातिका वनस्पतिका बारेमा वर्णन गरिएको छ । पुस्तकमा समेटिएका वनस्पतिमध्ये भालुकाठ र गुँसी लोपोन्मुख वनस्पति हुन् । भालुकाठ वडा नंं.३ मा छ भने गुँसी महानगरको वडा नं ४ मा अवस्थित सदर चिडियाखानाभित्र रहेको छ । पुस्तकका लेखक हरिकृष्ण सैंजुले भन्नुभयो, ‘भालुगाठ संसारको दोस्रो सुन्दर फूल फुल्ने वनस्पति हो ।’’ ललितपुर महानगरभित्रका प्रत्येक वडा पुगेर यो पुस्तक तयार पार्न १ वर्ष लागेको थियो ।
महानगरको वडा नं १९ मा रहेको अग्निशालसँगैको वरुण वृक्षको इतिहास ललितपुर महानगरका लागि मात्रै नभएर नेपालकै लागि महत्त्वपूर्ण भएको प्रा.डा. पुष्पमान अमात्यले बताउनु भयो ।
इतिहासमा उल्लेख भए अनुसार यो वृक्ष ३ हजार वर्ष पुरानो वृक्ष हो । अमात्यले यो पुस्तक ललितपुर महानगरको सम्पत्ति भएको बताउँदै भन्नुभयो, ‘‘यो पुस्तकले ललितपुरका वनस्पतिको डकुमेन्टेसन भएको छ, यसको श्रेय ललितपुरका मेयरलाई जान्छ ।’’
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरले प्रकाशित गरेको यो पुस्तक वनस्पति क्षेत्रका विद्यार्थी र विज्ञहरूका लागि पनि उपयोगी हुने उल्लेख गर्नुभयो ।
वातावरण संरक्षणका लागि महानगरले वृक्षारोपणलाई प्राथमिकता दिएको छ । उहाँले महानगरका वडा अध्यक्षहरूलाई सुझाव दिदैं भन्नुभयो, खाली ठाउँ कहिंकतै नराख्नुस्, वृक्षारोपण गर्नुस् । महानगरले बिरुवा रोप्ने मात्रै नभई त्यसको संरक्षणलाई पनि त्यति नै प्राथमिकतामा राखेको छ, हामी बिरुवा मात्रै रोप्दैनौँ, पानी हाल्छौँ, हुर्कन मल हाल्छौँ, बिरुवा सफा देखियोस् भनेर बिरुवालाई नुहाइदिन विशेष खालको ट्याङ्कर किनेका छौँ ।’’
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले यो पुस्तक महानगरको सम्पत्ति भएको र महानगरलाई योजना तर्जुमा गर्न समेत यो पुस्तकले सहयोगी हुने दाबी गर्नुभयो ।