सुुजन काफ्ले
चरीकोट, फागुन ८ गते । दोलखाको मेलुङ गाउँपालिकाले सबै वडामा माटो परीक्षण गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम अनुसार माटो परीक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
गाउँपालिकाको पाँच सय वटा माटोको नमुना परीक्षण गर्ने लक्ष्य राखिएकोमा ४२६ वटा मात्रै नमुना प्राप्त भएको मेलुङ गाउँपालिकाका कृषि शाखा प्रमुख झुपलाल केसीले बताउनुभयो ।
प्रमुख केसीका अनुसार परीक्षणका क्रममा माटोको अम्लियान तथा क्षारीय गुण, माटोमा नाइट्रोजनको अवस्था, पोटासियमको अवस्था र माटोको प्राङ्गारिक पदार्थको मात्रा परीक्षण गरिएको छ ।
परीक्षणपछि मेलुङ गाउँपालिकाको माटोमा अम्लीय मात्रा धेरै देखिएको छ । साथै माटोमा नाइट्रोजनको मात्रामा भने कमी देखिएको छ । यसैगरी, माटोमा फोस्फोरस्, पाटोस् र प्राङ्गारिक पदार्थको मात्रा सन्तोष जनक देखिएको केसीको भनाइ छ ।
माटोको गुणस्तर सुधारका लागि भन्दै गाउँपालिकाले बागमती प्रदेश सरकारको माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडाको प्रारम्भिक प्रतिवेदन पश्चात् माटो परीक्षण अभियान सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका भित्र माटोको गुणस्तर सुधारका लागि बागमती प्रदेश सरकारसँगको समन्वयमा थप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
बागमती प्रदेश सरकार, माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडाको प्राविधिक सहयोग र मेलुङ गाउँपालिकाको समन्वयमा फागुन महिनाको ६ र ७ गते माटोको नमुना परीक्षण गरिएको थियो ।