• १३ साउन २०८१, आइतबार

सत्ताको दाउपेच

blog

मूल मुद्दा काठमाडौँको विकास हो । काठमाडौँ अनुभूत हुने देशको एक नम्बरको सहर बनाउने कुरा हो । तर नगरप्रमुखका हरेक कदम प्रशंसनीय भएनन् । कैयौँ कदममा आलोचना बढी हुन थाले । अहिले सामाजिक सञ्जालमा उहाँको वैयक्तिक घटनाक्रम, सवालजवाफ, रवैयालाई उहाँकै प्रशंसक पनि नदेखेझैँ गर्न थाले । 

‘जनता तिम्रा शब्दहरू सुन्छन् र, तिम्रा आचरण र प्रवृत्ति पनि हेर्छन् ।’ –जोन सी म्याक्सवेल

समाजको मनोविज्ञान निर्माता को हुन् ? सुरुमा अग्रज, अभिभावक, अगुवा, गुरु, वरिष्ठका तर्कले समाजले गति लिन्थ्यो । प्रजातन्त्र आएपछि उनीहरूलाई ‘छड्के’ दिन र कहीँ गलत भए सच्याउन या सुधार्न प्रतिपक्षी बलियो हुँदै गए । समाजमा राजनीतिक मनोविज्ञानको शासन चल्न थाल्यो । सामान्य बाटोकुलो, पानीपँधेरो, विद्यालयका पर्खाल, भित्ताका सामाजिक काममा पनि पक्ष–प्रतिपक्ष निर्माण हुन थाले । यसले विकासको गति अरू बढाउनु पर्ने हो तर नेपाली समाजमा चाहिँ रोकिन थाल्यो । अवरुद्धको घान हालेर हुने कामलाई नहुने र नहुने कामलाई हुने बनाउन निकै वर्ष मेहनत गर्दै अहिलेको अवस्थामा ल्याइ पुर्याउन राजनीतिक दलले कसैलाई बाँकी राखेनन् । 

यसैको द्योतक थियो अघिल्लो साता काठमाडौँको नयाँ बसपार्कमा भएको आन्दोलनको आवरणमा लुटपाट, गुण्डागर्दी, अराजकता र हिंसाको कारोबार । राज्य संयन्त्रका प्रतिनिधिमाथि प्रहार, राज्यको सम्पत्ति जलन, तोडफोडसँगै ल्होत्से मलमा लुटपाट । सिसीटिभीको निगरानीमै आन्दोलनका नाममा मोबाइल चोरी । सानो भीड देखियो कि मूल पात्र र मूल मुद्दा भन्दा विषयान्तर गरेर अवसर लुट्ने अराजक समूह सक्रिय हुन्छन् । पछि मूल आन्दोलनकर्मीले ‘भिजिलान्ते’लाई दोष लगाउँदै क्षमा या सहमतिको कागज त गर्छन् तर त्यतिखेरसम्मको क्षतिको विवरणको अङ्कगणित निकै ठूलो भइसकेको हुन्छ । यस पटक बसपार्क आन्दोलनको मक्सद र उद्देश्यको आवरणमा अरू कुन समूहले स्वार्थ पूरा गर्न खोज्यो, यो मनोविज्ञान बुझ्न राज्य सञ्चालकका संयन्त्र गम्भीर हुनुपर्ने विषय हो । 

बसपार्क आन्दोलनलगत्तै झापामा दुर्गा प्रसाईंले गरेको एउटा कार्यक्रममा हुँकार गर्नुभयो कि, “लघुवित्तका मानिस भेटे मोसो दलिहाल्नू ।” प्रसाईंले त भगवान्, देवीसँग पनि उस्तै चेतावनी दिनुभयो, “मेरो एजेन्डा सफल भएन भने ....।” यस्तै, बसपार्क काण्डअघि सरकार छाड्दै गर्दा जनताले आडभरोसा मानेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले उस्तै चेतावनी दिनुभयो, “मेराविरुद्ध समाचार लेखे मिडिया हाउस घेर्न आउँछु ।”

यी घटनाक्रम यसै आएका होइनन्, यसका पृष्ठभूमि छन्, माथि नै केही प्रसङ्ग जोडियो कि यी सबै घटनाक्रममा अराजक गतिविधिलाई ‘राजनीतिक’ पीताम्बरले छोपेर ‘दायित्व’ र ‘नियम’ सरी पुष्टि गर्ने अभ्यास भए । यसको सुरुवात गाउँका उपभोक्ता समूह, विद्यालय व्यवस्थापन समिति, अभिभावक समिति, वन समिति, कुलो समिति, सहकारी संस्था हुँदै टोल विकास संस्थामा समेत राजनीतिक मुस्लो झोसिदिएपछि दलहरू आफ्ना स्वार्थका बाबियो छिमल्न, रहरका पिङ बाट्न र रहलपहल बजेटमा तर मार्न सक्ने भए । यहाँसम्मको आगमनमा सुरुमा अगुवाहरूको हात हुन्थ्यो भने अहिले अगुवा कार्यकर्ताको पछुवा भएका छन् । हुल, कार्यकर्ताको जमातले अगुवालाई निर्देशन गर्न थालेको छ । कार्यकर्ता जति अराजक भए, त्यति चाँडै स्वार्थको पिङ बाटेर मच्चिन नेताहरूलाई सजिलो हुन थालेको छ । यसले समाजको प्रगतिशील गतिलाई बीचैमा खिचेर यथास्थितिवादी रहरमा सिङ्गो समाज र देश हुँडल्ने अभ्यास विस्तारै स्थापित हुँदै गएका छन् । 

२०६४ को चुनावमा भर्खर सामाजिक सञ्जालको पहुँचमा थियो नेपाली युवापुस्ता । त्यतिखेर परिवर्तनका नाममा अनेक ‘हौवाखेल’ खेलाउने कार्यकर्ताका कारण समाजले कल्पना नगरेको निर्वाचन परिणाम आयो । स्वाभाविक रूपमा तत्कालीन विद्रोही माओवादीसँग जनताले गरेको भरोसा, आशाको पाटो अलग थियो । २०७० को निर्वाचनमा माओवादी कार्यकर्ताको सिको गरे नेकपा एमालेका कार्यकर्ताले । २०७० मै नेकपा एमालेको नवौँ महाधिवेशन भयो । महाधिवेशनमा कार्यकर्ता पङ्क्ति यस्तरी विभाजित भए कि, उनीहरूले सामाजिक सञ्जालमा गरेको नेताको खेदो देखेर नेपाली कांग्रेसका नेता कार्यकर्ता चकित भए । २०७४ र २०७९ का निर्वाचनमा त नेताहरूको बोली सिद्धान्त बन्यो । माक्र्सवाद, समाजवाद सबै नेताले बोलेको लवजभन्दा माथि उक्लन सकेन । कसैले पनि पार्टीको नीति र सिद्धान्त कार्यकर्तालाई अझ ५० को दशकमा जन्मिएको पुस्तालाई सुनाउन, सिकाउन पनि चाहेन । जसरी विद्यालय र कलेजमा राजनीतिक प्रशिक्षणबिना नै विद्यार्थी सङ्गठनमा नेता बन्न थाले । उनीहरू किन त्यो सङ्गठनमा आबद्ध गराइए भनेर उनीहरूलाई नै गुमराहमा पारियो । सत्तामै रहँदा नेपाली कांग्रेसको मुख्यालय सानेपामा कांग्रेसी कायकर्ताको नारा अरू पिरोअमिलो थियो । यति अराजक थियो कि, त्यस्ता नारा लगाउनेहरू कांग्रेस नै हुन् भनेर अन्य दलका नेताले चिन्तन गर्ने अवस्था बन्यो । 

२०७९ को वैशाखमा भएको स्थानीय तह निर्वाचनसम्म आइपुग्दा यो अराजक मनोवृत्ति कसरी विकास भयो भन्ने उदाहरण काठमाडौँमा नगरप्रमुखका उम्मेदवार बालेन शाहका उच्चकोटीका प्रशंसक हेरे पुग्छ । एउटा प्रतिष्ठित सञ्चारमाध्यमले शाहबारे प्रश्न गर्दा उहाँका प्रशंसकले यसलाई निदान गर्न जरुरी ठानेनन् । उनीहरूले बोकेका अनुहार शतप्रतिशत इमानदार, बफादार, राष्ट्रवादी र यस्ता अनुहारमा खोट देख्नेहरू सोह्रै आना परिवर्तनका विरोधी, पुरातनवादी अनि भ्रष्ट समाजको उत्पादन भनेर उर्लिए । प्रश्नै गर्न रोक्ने र आइन्दा यस्ता प्रश्न गरे नियति नै ठीक नहुने जसरी प्रस्तुत भए । 

स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरमा बालेनले जित्नुभयो । मूल मुद्दा काठमाडौँको विकास हो । काठमाडौँ अनुभूत हुने देशको एक नम्बरको सहर बनाउने कुरा हो । तर नगरप्रमुखका हरेक कदम प्रशंसनीय भएनन् ।

यसको पहिलो अभ्यास उनीहरूले सामाजिक सञ्जालमै सुरु गरे कि त्यो प्रतिष्ठित सञ्चारमाध्यमको फेसबुक फ्यानपेजलाई फलो नगर्ने अभियान चलाए । समाजमा यस्तो अराजकता टोलछिमेक, सरकारी कार्यालय हुँदै सामाजिक सञ्जालमा होमिएपछि सञ्चारमाध्यम पनि उनीहरूबाटै ‘नियामक’ नभए ठीक नहुने नियतिमा पुगेको भेउ भयो । 

स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरमा बालेनले जित्नुभयो । मूल मुद्दा काठमाडौँको विकास हो । काठमाडौँ अनुभूत हुने देशको एक नम्बरको सहर बनाउने कुरा हो । तर नगरप्रमुखका हरेक कदम प्रशंसनीय भएनन् । कैयौँ कदममा आलोचना बढी हुन थाले । अहिले सामाजिक सञ्जालमा उहाँको वैयक्तिक घटनाक्रम, सवालजवाफ, रवैयालाई उहाँकै प्रशंसकहरू पनि नदेखेझैँ गर्न थाले । समाजमा अराजक मनोग्रन्थीको उपचार स्वयं कार्यकर्ताले बुझेर मौन बस्नु नै सबैभन्दा ठूलो उपचार हो । हिजो काँध थाप्ने पुस्ता अहिले ‘गरिखान’ कोही देशमै त कोही विदेशमा जुटिरहेका छन् । सामाजिक सञ्जालको ‘उक्साहटपन’ले कसैलाई तत्काल सत्ताको तातो मिले पनि त्यो लाभ उनका प्रशंसकको भागमा पुरानै विरासत र इतिहासको ‘जुन जोगी आए पनि कानै चिरेका’ पर्ने गरेको अघिपछि लाग्नेहरूले बुझेकै छन्, बुझ्दै छन् । 

विकृति र बेथितिका चाङलाई प्रहार गरेर सत्ताको चाँबी हात पारेका थिए रवि लामिछानेले । युक्रेनमा ‘कमेडी शो’का राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की साँच्चैका राष्ट्रपति बने । नेपालमा सात महिनामै पार्टीको विचार, दृष्टिकोण, परराष्ट्रनीति, जनमुखी सुशासको खाकाबिनै आमूल सुधारको नाराका भरमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य उपलब्धि हासिल ग¥यो । बहुमतमा पुग्न नसकेका दलहरूले सत्तामा पुग्ने र टिकिरहने जडीबुटीका रूपमा यही पार्टीलाई प्रयोग गरे । 

अराजकता चाहिँ फेरि सत्तासँगै जोडिँदो रहेछ । स्वदेश फर्केपछि नागरिकता नवीकरण नगर्नु रवि लामिछानेको त्रुटि थियो । तीन वर्षअघि नै उनलाई यो काम गर्न भनिएको थियो । एउटा ठूलो जमात थियो, त्यो जमात सत्ता ढाल्न कामयाब थियो । सत्तामा रविलाई पुर्याउन कामयाब रह्यो । तर सत्तामा टिकाइरहन सकेन । यो पाटो लामिछाने र उनको पार्टी पङ्क्तिले बुझ्न जरुरी थियो । उनले प्रक्रिया पुर्याएर नागरिकता लिए । तर यसले उनलाई फेरि गृहमन्त्रीको कुर्सीमा पुर्याउन सक्दैन भन्ने विषय उनका कार्यकर्ता र प्रशंसक पङ्क्ति बुझ्न तयार छैनन् । डेढ दशकमा गाउँघरको चोक, कुलो, पँधेरो, सहकारीबाट सुरु भएको ‘हूलको शासन’ विरुद्ध उदाएको नयाँ शक्ति यही दाउपेचमा सत्तामा पुग्न खोज्दैछ । देश बदल्छु भन्ने मनोग्रन्थीले बझ्न जरुरी छ कि, ‘उत्कृष्टता क्षमता होइन, प्रस्तुति, प्रवृत्ति, आचरण हो ।’ तर नेपालमा सत्तामा पुग्न सबैले कार्यकर्तालाई भर्याङ बनाइरहेका छन् । जुन सर्वथा गलत रहनेछ ।