सिन्धुली समाचारदाता
दुधौली (सिन्धुली), फागुन ८ गते । सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा कमला नदी नियन्त्रण गर्न सुरु गरिएको कोरिडोर निर्माण कार्य सुस्त बनेको छ ।
जिल्लाकै अन्न भण्डार रहेको दुधौली नगरपालिकास्थित कमला नदीले कटान गरी सयौँ बिघा खेतीयोग्य जग्गा बगरमा परिणत भएको छ । कोरिडोर निर्माण सुरुवातसँगै उत्साही बनेका कमला नदी पीडित किसान कामको गति सुस्त भएपछि निराश बन्दै गएका छन् ।
कमला नदीले दुधौली नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ९ र १० मा पर्ने कमलाखुँज क्षेत्र र कमलामाई नगरपालिकाको वडा नं. ९, १०, १३ र १४ मा सयौँ बिघा उर्वर जमिन कटान गरी बगरमा परिणत भएको दुधौली नगरपालिका–२ निवासी किसान कृष्ण बराल बताउनुहुन्छ । “दुई वर्षअघि दुधौली नगरपालिकाको वडा नं. २ र ३ बाट कोरिडोर निर्माण सुरु गरिएको थियो,” उहाँले भन्नुभयो, “अहिले काम नै भएको देखिँदैन । कोरिडोर निर्माण कार्य निकै सुस्त बनेको देखिन्छ । उब्जनी खान नपाए पनि लालपुर्जा लिएर हातमा बसेका सबै किसान खिन्न छौँ ।”
कमला नदीको दुवै किनार निपाने र रतनपुरतिरबाट निर्माण सुरु गरिएको उक्त कोरिडोर झन्डै एक किलोमिटर निर्माण भई अहिले रोकिएको उहाँले सुनाउनुभयो । दुधौली नगरपालिकामा जनप्रतिनिधि फेरिएसँगै कोरिडोर निर्माण पनि सुस्ताएको स्थानीयको बुझाइ छ । दुधौली नगरपालिका–२ का वडाध्यक्ष रितेस राउत पनि जनप्रतिनिधि फेरिएसँगै पहिले सुरु गरिएको ठाउँबाट कोरिडोर निर्माणले निरन्तरता नपाएको बताउनुहुन्छ ।
“अहिले डकाहा र हर्षाहीलगायतको ठाउँबाट कोरिडोर निर्माण सुरु गरिएको सुनेका छौँ’ पहिलेका वडाध्यक्षसमेत रहनुभएका राउतले भन्नुभयो, “अहिले कनिका छरेजस्तै गरी कोरिडोर निर्माणको काम भएको छ । पहुँच हुनेले जताजतै भन्यो, उतैउतै काम भएको छ ।”
उहाँका अनुसार दुधौली नगरपालिकाले कमला नदी नियन्त्रण गर्न गुरु योजना नै बनाएको छ । कोरिडोर निर्माणका लागि नदीको किनारमा २० मिटर चौडाइको बेस निर्माण गरी तटबन्ध निर्माण गर्ने र पूरा हँुदा टप (माथि) आठ मिटरको हुन्छ । त्यही आठ मिटरमा सडक निर्माण गर्ने गरी काम सुरु भएको थियो ।
कमला नदीको वारिपारि कोरिडोर निर्माण गर्न बागमती प्रदेश सरकारसहितको छ करोड रुपियाँ खर्च भइसकेको छ । कमला नदीको कटानले वर्षाको मौसममा दुधौली नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ९ र १० मा गरी चार हजार तीन सय मिटर लम्बाइ क्षेत्रमा प्रभावित हुँदै आएको नगरपालिकाले जनाएको छ ।
कमला नदी नियन्त्रणका लागि कोरिडोर निर्माण गर्नुपर्ने ठाउँ निकै धेरै रहेको तर बजेट भने न्यून आउने गरेको स्थानीयको गुनासो छ । अहिले आफ्नो खेतबाट कमला नदी बगिरहे पनि एक दिन नदी नियन्त्रण भई आफ्नो खेत बन्ने आशामा किसानले तिरो भने नगरपालिकालाई तिर्दै आएका छन् ।
“धेरै किसानको लालपुर्जा छ, जग्गा छैन,” स्थानीय किसान नथुनी दनुवारले थप्नुभयो, “कमला नदीकै कटानका कारण पहिलेको भूमिपति किसान अहिले सुकुम्बासी भएका छन् ।” स्थानीय किसानका अनुसार कमला नदीले सबैभन्दा बढी क्षति २०४१ र २०५० सालमा आएको बाढीले पु-याएको हो ।