शालिग्राम नेपाल
चितवन, फागुन ८ गते । गैँडाको सुरक्षाका लागि र मानव बस्तीमा जान नदिन पर्खाल लगाउनुपर्ने अध्ययनले देखाएको छ । नवलपरासीमा एक महिनाअगाडि चोरी सिकारीले दुईवटा गैँडा विद्युतीय धरापमा पारी मारेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले गैँडा बस्तीमा पसेपछि उच्च जोखिम रहेको देखिएकाले सिमेन्ट लगाइएको पर्खाल पहिलो विकल्प भएको बताउनुभयो । फागुन १० गते सार्वजनिक गर्ने तयारी रहेको अध्ययन प्रतिवेदनमा गैँडाको जोखिम भनेकै बस्ती प्रवेश गर्ने भएकाले यसलाई नियन्त्रण गर्न आउँदो बजेटमा पर्खाल लगाउने कार्यक्रम समावेश गर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो टोलीले अध्ययन ग¥यो, सबै सरोकारवाला पक्षसँगको अध्ययनमा निकुञ्जबाट राति गैँडा बस्तीमा पसेको पाइएको छ । चितवनको पश्चिम क्षेत्र र नवलपरासी क्षेत्रमा राति बस्ती आउने र बिहान जङ्गलमा जाने गरेको पाइएको छ । यसरी राति मानव बस्तीमा आउँदा चोरी सिकारीका लागि सहज हुने देखियो त्यसैले गैँडालाई मानव बस्तीमा आउनबाट रोक्न सबैभन्दा पहिला पर्खाल लगाउनु पर्दछ ।”
“सुरक्षार्थ खटिएका सेनाको पनि कमजोरी पाइएको छ । त्यसलाई पनि सुधार गर्ने पक्षहरू समावेश गरेका छौँ । संरक्षित जनावरको सुरक्षाका लागि निकुञ्ज, सुरक्षाकर्मी, समुदाय सबैको सहयोग आवश्यक हुन्छ,” उहाँले भन्नुभयो, “सबैभन्दा पहिला हामीले सुरक्षाका विधिहरू अपनाउनु पर्दछ ।”
निकुञ्जको कसरादेखि पूर्वतर्फको क्षेत्रमा गैँडा मानव बस्तीमा कम प्रवेश गरेको पाइन्छ । पश्चिम क्षेत्रमा भने पर्खाल नभएका कारण एकै रातमा एक सयभन्दा धेरै गैँडा बस्तीमा पसेको अध्ययनले देखाएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभन्द्र आचार्यले बताउनुभयो । “आहाराको खोजीमा मानव बस्तीमा पस्ने गरेको देखिन्छ,” उहाँले भन्नुभयो, “कसरादेखि मेघौलीसम्म बस्ती पसेका छन् । त्यस्तैगरी मोघौली पारि नवलपरासी क्षेत्रमा पनि गैँडा रातको समयमा बस्तीमा पसेका छन् । ती स्थानमा पर्याप्त मात्रामा पर्खाल निर्माण गरिएको छैन ।”
बस्ती नजिकका खेतबारीमा आलु, मकै, जौ, घाँस, नेपियर घाँस, मुसुरो, गहुँलगायतका बाली गैँडाले मन पराउने भएकाले पनि गैँडा बस्तीमा पस्ने गरेको निकुञ्जले जनाएको छ । निकुञ्जमा गैँडाको सङ्ख्या बढेसँगै सोही अनुपातमा घाँसेमैदान व्यवस्थापन हुन सकेको छैन । पछिल्ला गणनाअनुसार यो निकुञ्जमा ६९४ गैँडा छन् । तीमध्ये धेरै पश्चिम क्षेत्रमा रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । एकै स्थानमा गैँडाको बासस्थान हुनु सुरक्षाको हिसाबले जोखिम हुन्छ । त्यसैले अन्य स्थानमा स्थानान्तरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । निकुञ्जभित्रै आहाराको व्यवस्थापन पनि अर्को चुनौती रहेको उहाँले जानकारी दिनुभयो । आहाराका लागि घाँसे मैदान निर्माण कार्य भइराखेको तिवारीले बताउनुभयो ।
बनिरहेको छ पर्खाल
निकुञ्जबाट मानव बस्तीमा जनावर आउन नदिन २०७८-७९ आर्थिक वर्षमा एक हजार १४४ मिटर सिमेन्टेड पर्खाल लगाइएको छ । सङ्घ सरकारको बजेटमा स्थायी प्रकृतिको पर्खाल लगाइएको हो । निकुञ्जबाट हात्ती, गैँडा, बाघ, बँदेललगायतका जनावर मानव बस्तीमा आएर क्षति गर्ने भएकाले यसअगाडि काँडेतार लगाउने गरिएको थियो । त्यो तार प्रभावकारी नभएपछि विद्युतीय झड्का दिने तार लगाउने गरिएको थियो । त्यो पनि प्रभावकारी नभएपछि मेस जाली र त्यसपछि सिमेन्टेड पर्खाल नै लगाउन थालिएको छ ।
पछिल्लो प्रविधि आरसीसी पर्खाल लगाउँदा धेरै प्रभावकारी भएको पाइएको छ, निकुञ्जका प्रमुख हरिभद्र आचार्यले भन्नुभयो, “यो लगाएपछि ठूला जनावर हात्ती, बाघ, गैँडालगायत सबै जनवारलाई छेक्न सफल भएको छ ।” निकुञ्जको पूर्वी क्षेत्रमा मानव बस्तीमा प्रवेश गरेर क्षति पार्ने घटना कम भएको छ । निकुञ्जभित्र मानिस प्रवेश गर्दा हुने घटनाबाहेक पर्खाल लगाएको क्षेत्रबाट जनावर मानव बस्तीमा प्रवेश नगरेको उहाँले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७८÷७९ को असार मसान्तसम्म वरण्डाभार क्षेत्रमा ४० लाख रुपियाँको लागतमा ५०७ मिटर पर्खाल निर्माण भएको छ । त्यस्तै माडीको पाँचपाण्डव क्षेत्रमा ५० लाख रुपियाँको लागतमा ६३७ मिटर पर्खाल निर्माण भएका छन् । पर्खाल निर्माणको काम सङ्घीय सरकारको बजेटमा काम भएको कार्यालयले जानकारी दिएको छ । पर्खालबाहेक सङ्घीय सरकारको बजेटमा मेसजाली यसैै आर्थिक वर्षमा छ किलोमिटर निर्माण गरिएको छ । निकुञ्जको क्षेत्र धेरै भएकाले एकै वर्षमा आरसीसी पर्खाल निर्माण सम्भव छैन, हरेक वर्ष आउने बजेटबाट निर्माण हुँदै जाने सूचना अधिकारी गणेश तिवारीले बताउनुभयो । पश्चिम क्षेत्रअन्तर्गत कावासोती क्षेत्रमा थोरै आरसीसी र अन्य स्थानमा मेसजाली र इलेक्ट्रिक झड्का तार लगाइएको छ । बजेटको अभावमा सबै क्षेत्रमा पर्खाल लगाउन नसकिएको उहाँले बताउनुभयो ।
आरसीसी पर्खाल सबैभन्दा उपयुक्त सुरक्षाको उपाय हुने मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले बताउनुभयो । पर्खाल निर्माण भएको स्थानबाट ठूला जनावर आउन नसक्ने भएकाले यो प्रविधिले मानव बस्तीमा जनावरबाट हुने क्षति न्यूनीकरण गर्ने ढुङ्गानाले बताउनुभयो । पश्चिम क्षेत्रमा पर्खाल निर्माणका लागि आवाज उठाए पनि बजेट नहुँदा बनाउन नसकिएको जानकारी उहाँले दिनुभयो । पर्खाल निर्माण गर्दा जमिनमा जग राखेर फलामको रड जाली बुनेर सात मिटर उचाइको निर्माण गरिँदै आएको छ । मेसजालीभन्दा आरसीसी पर्खाल महँगो भएकाले धेरै लामो निर्माण हुन सकेको छैन ।