• १२ मंसिर २०८१, बुधबार

धार्मिक पर्यटकको केन्द्र बन्दै शाश्वत धाम

blog

शाश्वतधामको अवलोकन गराउँदै सांसद विनोद चौधरी र प्रजिअ कृष्णप्रसाद लम्साल । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, फागुन ७ गते । पूर्वी नवलपरासी देवचुलीको दुम्कौलीमा रहेको शाश्वत धाममा आउने भक्तजनको  सङ्ख्या दिनहुँ बढ्दो छ । खासगरी, पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि आउने भारतीय धर्मावलम्वीको मुख्य रोजाई यो थलो हुनेगरेको छ । 

धाममा ओमकार परिवारभित्र रहेका हिन्दु, बौद्ध र जयनका धर्मवालम्बीले समेत एकै स्थानमा एकै पटक दर्शन गर्ने व्यवस्था शाश्वत धामले मिलाएको छ । सर्वसाधारणका लागि खुल्ला गरिएको सात वर्षको अवधिमा ४३ लाखभन्दा बढीले भक्तजनले शाश्वत धाममा अवलोकन गरेका छन् । 

महेन्द्र राजमार्गसँग जोडिएको ७ बिघा क्षेत्रफलमा यो मन्दिर फैलिएको छ । शाश्वत धाममार्फत् आन्तरिक एवम् बाह्य पर्यटकलाई आकर्षित गरी नेपालको पर्यटन उद्योगमा योगदान गर्नु अर्को महत्वपूर्ण लक्ष्य रहेको सांसद विनोद चौधरीको दाबी छ ।  

पछिल्लो समय महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम हिंड्नेहरु यहाँ प्रवेश गर्नु अनिवार्यजस्तै भएको छ । समय स्कूल, कलेजका विद्यार्थी, विभिन्न समूहमा यहाँ शाश्वत धाम पुग्नेगरेका छन् । दक्षिण भारतीय शैलीको यो मन्दिर र यससँगै रहेको पार्क मुख्य आकर्षण छ । मन्दिरलाई चारैतिरबाट तलाउले ढाकेको छ । 

सवै देवीदेवताको एकैसाथ अवलोकन गर्न र पूजापाठ गर्न सकिने भएकाले नवलपुर जिल्ला पर्यटकीय क्षेत्र बनेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो “नेपाल सरकारले वेस्ट टुरिष्ट डेस्टिनेशनका रूपमा शाश्वत धामलाई अवार्ड दिइसकेको छ प्यागोडा शैलीमा निर्माण भएको शाश्वत धामको संरक्षणमा हामी लाग्नुपर्छ ।”  शाश्वतधाम स्थापनाले यहाँको पर्यटन क्षेत्रको विकास मात्र नभइ स्थानीयमा रोजगारको अवसर प्रदान गरेको छ । 

धामको दक्षिण क्षेत्रमा एक सय बत्तीस होटल तथा नास्ताघरहरु सञ्चालनमा छन । धाममा आउने पर्यटकलाई लक्षित गरी व्यापार चलेको छ । धामकै छेउमा चिया बेचेर मासिक ३० हजारसम्म आम्दानी गरेको देवचुली नगरपालिका ४ कि माया विकले बताउनुभयो ।