• २० असार २०८१, बिहिबार

झापा गोल्डकप : भद्रपुरको विजयी सुरुवात

blog

उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

लीलाराज खड्का

बिर्तामोड, फागुन ७ गते । आयोजक भद्रपुर ब्लेजर्सले प्रथम भद्रपुर झापा गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ । 

मेची रंगशाला भद्रपुरमा आइतबार भएको उद्घाटन खेलमा भद्रपुरले पाहुना टोली भारतको जयगाउँ फुटबल क्लबलाई २–० गोलले हरायो । जितसँगै भद्रपुर क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

भद्रपुरका लागि दुवै गोल विदेशी खेलाडीले गरे । ५५औँ मिनेटमा विदेशी खेलाडी स्टेफन समीरले पहिलो गोल गर्नुभयो । अर्को गोल मेसुके ओलोमोउलेले ८०औं मिनेटमा थप्नुभयो । 

पहिलो खेलको प्लेयर अफ दि म्याच आयोजकका मेसुके घोषित हुँदै २० हजार रुपियाँ पुरस्कार पाउनुभयो । प्रतियोगिता फागुन १६ गतेसम्म हुनेछ । गोल्डकपमा तीन विदेशीसहित १० टोलीको सहभागिता रहेको छ । 

गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले ७ लाख रुपियाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ दि म्याचले २० हजार, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार रुपियाँ दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ दिइने बताइएको छ । प्रतियोगिताको आइतबार मेची रंगशालामा उपप्रधान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गर्नुभयो ।