• १३ साउन २०८१, आइतबार

देश हितमा पत्रकारले कलम चलाउनु पर्छ : मन्त्री सिंह

blog

धर्बेन्द्र झा 

धनुषा, फागुन ७ गते । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंहले देश र जनताको हितका लागि पत्रकारले कलम चलाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति मधेश प्रदेशले आफ्नो ६२ औँ वार्षिकोत्सवको अवसरमा आइतबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मुलुकमा गणतन्त्र र सङ्घीयता आएपछि भएको फाइदाबारे अझै पनि जनता अन्योलमा रहेको भन्दै गणतन्त्र र सङ्घीयता आएपछिको फाइदा बारेमा जनतालाई जानकारी गराउन पत्रकारको कलम चल्नुपर्ने आग्रह गर्नुभयो । मन्त्री सिंहले मानव सूचकाङ्कको दृष्टिकोणले मधेश प्रदेश पछाडि रहेको भन्दै प्रदेशमा देखिएका समस्यालाई सञ्चारजगतले उजागर गरी समाधानका लागि हामी सबै हातेमालो गरी अघि बढ्नु पर्ने बताउनुभयो । 

राष्ट्रिय समाचार समिति अबाजविहीनको अबाज बन्ने किसिमले आफूलाई पुरस्कृत गरी अघि बढ्नु पर्ने धारणा उहाँले राख्नुभयो । लोकतन्त्रलाई बलियो बनाउन पनि पत्रकारिता क्षेत्रले भूमिका खेल्नुपर्ने उहाँले चर्चा गर्नुभयो । 

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले राज्यले गर्ने कामकाजको निगरानी गर्ने काम सञ्चारजगतको रहेकाले पत्रकारले निष्पक्ष रूपमा आफ्नो कलम चलाउनु पर्ने धारणा राख्नुभयो ।

मधेश प्रदेशमा देखिएका विकृति विसङ्गतिको विरुद्धमा पत्रकारले अझै पनि कलम चलाउनुपर्ने भन्दै तिनै तहका सरकारले प्रवाह गरिने सेवा अझै पनि प्रभावकारी हुन नसकेकाले त्यसतर्फ आफ्नो कलमको मार्फत भूमिका खेल्न पत्रकारलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डलले मुलुकमा भ्रष्टाचार मौलाएको भन्दै त्यसको नियन्त्रणका लागि जवाफदेहीरुपमा पत्रकारले कलम चलाउनु पर्ने बताउनुभयो ।