• १० मंसिर २०८१, सोमबार

नेपालगन्जमा क्रिकेट मैदानको अभाव

blog

क्रिकेट मैदान नहुँदा मंगलप्रसाद उच्चमाविको खेल मैदानको उपयोग गरिँदै । तस्बिर : गोरखापत्र

सिराज खान 

नेपालगन्ज, फागुन ६ गते । क्रिकेटमा नेपालगन्जका खेलाडीले समय समयमा उत्कृष्ट प्रदर्शन गरेर आफ्नो प्रतिभा देखाउँदै आएपनि क्रिकेट मैदानको अभावले खेल सञ्चालन प्रभावित हुँदै आएको छ ।

पश्चिम नेपालकै केन्द्रबिन्दु नेपालगन्जमै एउटा छुट्टै क्रिकेट मैदानसम्म नहुँदा लामो समयदेखि यहाँ विभिन्न प्रतियोगिता गर्न तथा खेल अभ्यास गर्न खेलाडीहरूलाई समस्या हुँदै आएको हो । उपमहानगरभित्र क्रिकेट मैदान नहुँदा यहाँका खेलाडीले वर्षौँदेखि मङ्गल प्रसाद माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता र अभ्यास गर्दै आएका छन् ।

तर, सो विद्यालयले पनि बेला बेलामा मैदान प्रयोग गर्न नदिँदा प्रतियोगिता नै रद्द गर्नु परेको गुनासो गर्नुहुन्छ बाँके जिल्ला क्रिकेट सङ्घका पूर्व अध्यक्ष राम टण्डन । उहाँले यति ठुलो सहरमा एउटा क्रिकेट मैदान नहुनु खेलाडी, खेलप्रेमी र सबै नगरवासीका लागि दुखद भएको बताउनुभयो । 

धेरै वर्ष अगाडि रङ्गशालामा क्रिकेट खेल हुने गरेको स्मरण गर्दै क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी जावेद सिद्धिकीले पछि रङ्गशालालाई फुटबल र अन्य खेलका लागि प्रयोग गर्न थालिएपछि क्रिकेट खेलाडीको बिचल्ली भएको बताउनुभयो । उहाँले मङ्गलप्रसाद माविका शिक्षकहरूलाई आग्रह गरेर सो विद्यालयको खेल मैदान प्रयोग गर्दै आएपनि बिचबिचमा अवरोध आउँदा खेल सञ्चालनमा समस्या भइरहेको बताउनुभयो । 

सहरमा क्रिकेट मैदानका लागि धेरै पटक प्रयास र माग गरिएपनि कतैबाट सुनुवाइ नभएको क्रिकेटका प्रशिक्षक दीपेन्द्र प्रतापसिंहको भनाई छ । उहाँले मैदान नहुँदा जेनतेन विद्यालयको खेल मैदानलाई उपयोग गर्नु परेको बताउनुभयो । 

खेलमैदानकै अभावका कारण अहिले यहाँ सञ्चालन भइरहेको नेपालगञ्ज मेयर तथा उप–मेयर कप क्रिकेट प्रतियोगिताका पाँच खेलहरू कोहलपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएका छन् । 

जारी प्रतियोगिताका खेलहरू नेपालगन्जस्थित मङ्गलप्रसाद उच्च माविको खेल मैदानमा भइरहेको थियो । तर, विद्यालय स्तरको रनिङ शिल्ड प्रतियोगिता तयारीको लागि मङ्गलप्रसाद उच्च माविले मैदान आवश्यक परेको भन्दै केही दिन प्रतियोगिता अन्यत्र गर्न अनुरोध गरेपछि सार्नु परेको बाँके जिल्ला क्रिकेट सङ्घका उपाध्यक्ष सुफियान खानले बताउनुभयो । 

उहाँले मैदान खालि नहुँदासम्म खेल सञ्चालनमा समस्या हुने पनि बताउनुभयो ।ठूला प्रतियोगिता गर्नका लागि कोहलपुरको क्रिकेट मैदानलाई उपयोग गरिएपनि नगरस्तरीय प्रतियोगिता र खेल अभ्यासका लागि तत्काल नेपालगञ्जमा एक क्रिकेट मैदानको आवश्यकता रहेको खेलाडीहरूको भनाई छ ।