• ११ जेठ २०८१, शुक्रबार

भर्ना दर वृद्धि गर्न अभिभावकबाट आमा समूह गठन

blog

मासिक बैठकका सहभागी आमा समूह । तस्विरः बाबुराम शर्मा

बाबुराम शर्मा

दोलखा, फागुन ६ गते । दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीमा रहेको कुटीडाँडा माध्यमिक विद्यालयले अभिभावकबाट आमा समूह गठन गरेको छ । बचतको माध्यमबाट विद्यार्थी भर्ना दर वृद्धि गर्न समूह गठन गरिएको विद्यालयका प्रधानाध्यापक शङ्करलाल श्रेष्ठले बताउनु भयो । 

उहाँका अनुसार विद्यालय व्यवस्थापन समितिको निर्णय बमोजिम गठित आमा समूह कुटी डाँडामार्फत महिला अभिभावकले मासिक ५० रुपियाँ बचत गर्ने व्यवस्था मिलाइएको छ । बचतको मोहले विद्यार्थी भर्नामा पनि सुधार आएको छ । दिनपरदिन विद्यार्थी न्यून हुँदै जान थालेपछि यो विधि अपनाइएको हो । अहिले आफ्ना बच्चा भर्ना गर्ने र बचत गर्नेमा होडबाजी पनि चलेको छ । मासिक बैठकमा बच्चाहरुको पढाइको पनि समीक्षा गरिन्छ । 

व्यवस्थित ढङ्गले सञ्चालन गर्न अभिभावकबाट अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरू र विद्यालयबाट सचिव हुने गरी सात सदस्यीय समिति गठन भएको छ । कक्षा १ देखि ५ सम्मका इच्छुक ९५ जना महिला आबद्ध रहेका प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनु भयो । 

हरेक महिनामा मासिक बैठक हुने गर्दछ । सोही दिन नै बचत सङ्कलन गरिन्छ । सङ्कलित रकम आयआर्जनका लागि आवद्धहरुलाई दिने गरिन्छ । एक जनालाई बढीमा १० हजार चार महिनाका लागि सामूहिक जमानीमा ऋण प्रवाह गरिन्छ । १५ प्रतिशत व्याज र सावाँ एक मुष्ट बुझाउनु पर्छ । बचतमा १० प्रतिशत व्याज दिने गरिएको उहाँले बताउनु भयो । 

कक्षा ५ उत्तीर्ण भएपछि व्याज सहितको बचत एक मुष्ट फिर्ता दिने गरिएको छ । उहाँले भन्नु भयो, कक्षा ५ उत्तीर्ण भएर गएपछि कक्षा १ थपिन्छ । यही चक्र अनुसार बचत र समिति बन्दै जाने गर्दछ । कक्षा १० सम्म बचत गर्ने व्यवस्था गर्न माग आइरहेको छ । प्रभावकारी भए पनि ठुलो आकारको हुन जाने हुँदा विद्यालयले व्यवस्था मिलाउन अलि गारो हुने महसुस गरिएको छ ।