काठमाडौं, फागुन ५ गते । कीर्तिपुर बर्न अस्पतालका प्राध्यापक डाक्टर शङ्करमान राईले स्रोत साधन उपलब्ध भएमा र समयमै अस्पतालमा बिरामी आए ९५ प्रतिशतसम्म जलेको बिरामीलाई निको पार्न सकिन्छ भन्नुभएको छ ।
तर उहाँले शरीरको जलन र बिरामीको उमेर जोड्दा १०० पुग्यो भने बचाउन कठिन हुन्छ । जलन र उमेर जोड्दा ९० भन्दा कम भयो भने बचाउन सक्ने सम्भावना रहन्छ भन्नुभयो । कतिपय अवस्थामा जलेको बिरामीको अवस्था सामान्य रहे पनि एकै छिनमा अवस्था बिग्रने र मृत्यु हुने गरेका घटना बढी हुने गरेको अनुभव पनि उहाँले सुनाउनु भयो ।
चिकित्सकीय परिभाषामा आगलागीबाट २० प्रतिशतभन्दा कम जलेका घाइते वा बिरामीलाई सामान्य, त्यसभन्दा बढी जलेको बिरामीलाई नाजुक अवस्थाका मानिन्छ ।
नेपालको एक मात्र जलन उपचारका रूपमा रहेको कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि जानु भएका प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीको उपचार त्यहाँ हुन नसकी भारत लगिएको छ । यहाँ हामीले जलनका बिरामीको उपचार र नेपालको उपचार अवस्थाबारे डा. भण्डारीको स्वास्थ्यस्थित बुझ्न शङ्करमान राईले दिनुभएको जानकारीको सम्पादित अंश प्रस्तुत गरेका छौँ ।
बुधबार राति १०ः३० बजे माननीय डा. चन्द्र भण्डारी र उहाँकी आमा चन्द्रकला भण्डारी जलेको अवस्थामा उपचारका लागि अस्पतालमा ल्याइएको थियो । डा. भण्डारीको शरीरको झण्डै ३० प्रतिशत र आमाको ७० प्रतिशतभन्दा बढी जलेको थियो ।
आमाको उमेर ८५ वर्ष पुगेको र जलेको अवस्था बढी रहेका कारण बचाउन सक्ने सम्भावना कम थियो । डा. भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको अवस्था अत्यन्तै सामान्य हो तर यो जलनको समयमै उपचार भए निको हुनसक्छ ।
आगलागीमा परी घाइते भएका बिरामीको शरीर जलेको अवस्था र बिरामीको उमेर अनुसार बचाउन सक्ने वा नसक्ने हुन्छ । शरीरको जलन र बिरामीको उमेर जोड्दा १०० पुग्यो भने बचाउन कठिन हुन्छ ।
जलन र उमेर जोड्दा ९० भन्दा कम भयो भने बचाउन सक्ने सम्भावना रहन्छ तर कतिपय अवस्थामा जलेको बिरामीको अवस्था सामान्य रहे पनि एकै छिनमा अवस्था बिग्रने र मृत्यु हुने गरेका घटना बढी छन् ।
चिकित्सकीय परिभाषामा आगलागीबाट २० प्रतिशतभन्दा कम जलेका घाइते वा बिरामीलाई सामान्य, त्यसभन्दा बढी जलेको बिरामीलाई नाजुक अवस्थाका मानिन्छ । स्रोत साधन उपलब्ध भएमा र समयमै अस्पतालमा आए ९५ प्रतिशतसम्म जलेको बिरामीलाई निको पार्न सकिन्छ । आगलागीबाट घाइते भएका बिरामीको उपचार गर्ने कीर्तिपुर अस्पताललाई बर्न अस्पतालका रूपमा विकास गरिएको छ । अस्पतालको क्षमता र उपलब्ध स्रोत साधनको अवस्था भने कमजोर छ । कीर्तिपुर बर्न अस्पतालको स्रोत साधनको उपलब्धता २० प्रतिशतभन्दा कम जलेका बिरामीका लागि मात्र छ ।
डा. चन्द्र भण्डारीको अवस्था समयमै उपचार भए निको हुने खालको र खतरामुक्त रहेको भए पनि शरीर जले अनुसारको हामीसँग उपचार प्रणाली नरहेका कारण विदेशका सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरिएको हो ।
आगलागीबाट घाइते भएका बिरामीलाई जति छिटो अस्पताल पुराउन सक्यो त्यति जोखिम कम हुने डा. राई बताउनुहुन्छ । उहाँका अनुसार शरीरको जलन बाहिरबाट हेरेको आङ्कलन गर्न पनि गाह्रो हुन्छ ।
बाहिरी भाग जलेको स्पष्ट देखिए पनि भित्रसम्म कति जलेको छ भन्ने यकिन नहुँदासम्म बिरामीको अवस्था भन्न सकिँदैन । यसबाहेक भित्री अङ्ग जलनबाट कति क्षति भएको छ भन्ने यकिन गर्ने प्रविधि नेपालमा छैन ।
आगलागीबाट जलेका बिरामीको उपचारपछि निको भएका घटना कमै छन् । यसको कारण उचित उपचारको व्यवस्था नहुनु नै हो ।
स्वस्थ मानिसको शरीरमा पाँच लिटर रगत हुन्छ । आगलागीको जलनबाट रगत सञ्चार हुने नसा र शरीरका साना अङ्गमा असर बढ्दै जाँदा बिस्तारै अङ्गले काम गर्न छाड्दै जाँदा मानिसको मृत्यु हुने गर्दछ ।
त्यस्तै, जलेका बिरामीलाई शरीरमा पानी आवश्यकता पर्ने हुन्छ । लामो समयसम्म अस्पताल पुग्न नसक्ने बिरामीको उपचार लगभग असम्भव हुन्छ । आगलागीमा परेका बिरामीको रोग प्रतिरोधात्मक क्षमता एकै छिनमा कमजोर बन्दै जान्छ र अङ्गहरूले बिस्तारै काम गर्न छाड्दै मृत्यु हुनेगर्छ ।
बिरामीको रोग प्रतिरोधात्मक क्षमता १०० प्रतिशतबाट २० प्रतिशतसम्म झरेको अवस्थामा थप उपचारबाट निको पार्न नसकिँदैन ।
नेसनल बर्न सेन्टर कस्तो ?
डा. भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिएको छ ।
भारत सरकारको स्वामित्वको सो अस्पताल दक्षिण एसियाकै उत्कृष्ट जलन अस्पतालको रूपमा परिचित छ । उक्त अस्पतालमा ९० प्रतिशतसम्म जलेको बिरामीलाई निको पार्नसक्ने स्रोत साधन रहेको बताइन्छ । ३० डिसेम्बर २०२२ मा कार दुर्घटनामा परी शरीरका ६० प्रतिशत अङ्ग जलेका भारतीय क्रिकेटर ऋषभ पन्तको यसै अस्पतालमा उपचारपछि निको भएको छ ।
भण्डारीको पहिलो शल्यक्रिया सफल
सांसद चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार हुँदैछ ।
भण्डारीका स्वकीय सचिव माधव न्यौपानेका अनुसार शुक्रबार गरिएको पहिलो शल्यक्रिया सफल भएको छ । डा. चन्द्र भण्डारीको दुईवटा खुट्टामा गरिएको शल्यक्रिया सफल भएको हो ।
उहाँका अनुसार दायाँ खुट्टामा बायाँको तुलनामा गहिरो घाउ छ । दोस्रो शल्यक्रियाबारे छलफल हुँदै गरेको उहाँले जानकारी दिनुभयो । न्यौपानेका अनुसार उहाँको स्वास्थ्य अवस्था स्थिर छ ।