सरोज ढुङ्गेल/मित्र भण्डारी
काठमाडौँ, फागुन ५ गते । ग्यास आगलागीको जलनमा परेका प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई उपचारका लागि भारत लगिएको छ । उहाँको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार सुरु भएको छ । बुधबार राति आफ्नै निवासमा ग्यास चुहावटका कारण जल्नुभएकी उहाँकी आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
उक्त अस्पताल नेपालकै एक मात्र जलन उपचार अस्पतालका रूपमा रहेको छ तर यो सरकारी वा निजी क्षेत्रबाट नभई फेक्ट नेपाल नामक गैरसरकारी संस्थाबाट सञ्चालनमा रहेको छ । प्रतिनिधि सभा सदस्य डा. भण्डारीको शरीर आमाको भन्दा कम जलेको भए पनि अस्पतालको क्षमता कम रहेका कारण उपचारका लागि विदेशस्थित सुविधासम्पन्न अस्पताल लैजान सिफारिस गरिएको हो । उहाँको हात, खुट्टा र अनुहार जल्नुका साथै श्वासनलीमा समेत असर परेको अनुमान गरिएको छ । उहाँलाई श्री एयरलाइन्सको विमानबाट भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिएको हो । यसअघि माघ १० गते संसद् भवनअगाडि नयाँ बानेश्वरमा आत्मदाह प्रयास गरेका प्रेम आचार्यको सोही अस्पतालमा बोल्दाबोल्दै निधन भएको थियो ।
प्राडा शङ्करमान राईका अनुसार जलनका बिरामीको प्रतिरोध क्षमता कम हुने र तुरुन्त अङ्गहरूले काम गर्न नसक्ने अवस्था हुने हुँदा बचाउन सकिने अवस्थाबारे यकिन हुँदैन तर उपचारका लागि राज्यको प्रयास वा अस्पतालको क्षमताले हाम्रो अवस्थालाई देखाउँछ । डा. भण्डारीको स्वास्थ्यस्थिति बुझ्न अस्पताल जानुभएका स्वास्थ्य राज्यसँग...
तथा जनसङ्ख्यामन्त्री पदम गिरीले डा. भण्डारीलाई थप उपचारका लागि भारत लगिने कुरा गर्दा जान मान्नुभएको थिएन । उहाँको इच्छा नेपालमा नै उपचार होस् भन्ने थियो तर उहाँलाई नेपालमा हुने उपचार कमजोर रहेकै कारण भारत लगिएको हो । यस घटनाले नेपालमा जलनका बिरामीले समयमा सही उपचार नपाउने गरेको तथ्यलाई उजागर
गरेको छ ।
किन हुँदैन नेपालमा उपचार ?
जलन भएका बिरामीका लागि नेपालमा अत्याधुनिक ड्रेसिङ प्रविधि नहुँदा विदेश रिफर गर्नुपर्ने बाध्यता रहेको हो । जलनका बिरामीलाई उपचार गर्ने छुट्टै आईसीयू नेपालभरमा कीर्तिपुर अस्पतालमा मात्रै छ तर त्यहाँ पनि अत्याधुनिक ड्रेसिङ उपकरण छैन ।
सरकारको समेत सहयोग रहेको जलेका बिरामीको उपचार गर्ने कीर्तिपुर अस्पतालले ड्रेसिङको प्रविधि नभएर मुम्बई रिफर गरेको हो । कीर्तिपुर अस्पतालका जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले अत्याधुनिक ड्रेसिङको उपकरण नभएका कारण नेता भण्डारीलाई भारत पठाइएको जानकारी दिनुभयो । डा. नकर्मीले जलनका बिरामी गाउँबाट धेरै आउने र उनीहरूको पहुँचमा अत्याधुनिक ड्रेसिङ उपकरण नहुने बताउनुभयो ।
उहाँले कुनै व्यक्तिको जलन हुँदा मात्र पत्रकार, नागरिक समाज, सरकार र सरोकारवाला निकायको चासो रहने गरेको तर तीन÷चार दिनपछि जलनको विषय सेलाउँदै जाने गरेको दुःखद अनुभव सुनाउनुभयो । उहाँले राज्यको स्तरबाट नै जलन उपचारका लागि सुविधासम्पन्न बेग्लै अस्पताल आवश्यक रहेको बताउनुभयो ।
जलन अस्पतालको नीति नै छैन
जलनसम्बन्धी उपचार गर्ने बेग्लै अस्पताल सरकारको प्राथमिकतामा छैन । सरकारी र अन्य केही अस्पतालमा जलनका लागि बेग्लै वार्ड मात्र छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले यसअघि केपी ओली सरकारको पालामा जलनसम्बन्धी छुट्टै अस्पतालको आवश्यकता ठानी प्रक्रिया अघि बढे पनि त्यसले प्राथमिकता नपाएको बताउनुभयो । अहिले पनि जलन अस्पताल सञ्चालन गर्ने सरकारको योजना नरहेको उहाँले बताउनुभयो ।
“हामीलाई स्पेसल जलनको उपचार गर्ने अस्पतालको आवश्यकता छैन” डा. पोखरेलले भन्नुभयो, “भइरहेका अस्पताललाई जलन उपचारमा मजबुत बनाएर अघि बढ्नुपर्छ ।” जलनसम्बन्धी अस्पताल बनाउँदा थप उपचारका लागि अन्य अस्पताल रिफर गर्नुपर्ने भएकाले छुट्टै जलनसम्बन्धी अस्पतालको आवश्यकता नरहेको उहाँको भनाइ छ ।
जलन उपचारमा कमजोर
स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले सरकारी अस्पताल पुनर्संरचना गर्दा जलन उपचारलाई प्रभावकारी उपचार गर्ने ढङ्गबाट अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले जलन उपचार गर्ने जनशक्तिलाई थप गर्दै अत्याधुनिक सेवा दिन लाग्नुपर्ने बताउनुभयो । स्वास्थ्य संस्थाको पुनर्संरचना गर्ने क्रममा जलन उपचार विषयलाई प्राथमिकता दिनुपर्छ, डा. पौडेलले थप्नुभयो, ‘‘सबै सरकारी अस्पतालमा प्रभावकारी ढङ्गले जलन उपचार हुनुपर्छ ।”
कति छन् जलन उपचार गर्ने अस्पताल
हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जलन उपचार गर्न केन्द्रीय अस्पतालमा पाँचदेखि १० शैयाको व्यवस्था गरेको छ । स्वास्थ्य सचिव डा. पोखरेलका अनुसार केन्द्रीय शैयासम्म जलन उपचारका लागि छुट्टै युनिट राखिएको छ । यीबाहेक त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पतालमा समेत जलनको उपचार गर्ने व्यवस्था छ ।
त्रिवि शिक्षण अस्पतालमा जलनका बिरामीका लागि नौ शैया छन् । अस्पतालका प्लास्टिक सर्जरी तथा जलन उपचार विभाग प्रमुख डा. जयनमान श्रेष्ठले शिक्षण अस्पतालमा पनि अत्याधुनिक ड्रेसिङको अभाव रहेको बताउनुभयो । अत्याधुनिक ड्रेसिङ भएको अवस्थामा जलन भएका बिरामीलाई त्यहाँबाट पनि अन्य मुलुकमा रिफर गर्नुपर्ने उहाँको भनाइ छ ।
नर्भिकबाट छ जनाको टोली
डा. भण्डारीलाई एयर एम्बुलेन्सबाट भारत लैजाँदा सरकारी अस्पतालका जलनको उपचार गर्ने डाक्टर गएका छैनन् । बरु नर्भिक अस्पतालबाट छ जनाको टोली गएको छ ।
नर्भिकका जलन उपचारविज्ञ डा. प्रदीप तिवारीको नेतृत्वमा चार जना चिकित्सक र दुई जना पारामेडिक्ससहितको टोली भण्डारीसँगै गएको हो । एयरलाइन्समा स्वास्थ्य जनशक्ति आवश्यक भएकाले उहाँहरूलाई पठाइएको हो ।
वार्षिक ७५ हजार जलन
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रत्येक वर्ष करिब ६५ देखि ७५ हजार मानिस जलनमा पर्ने गरेका छन् । तीमध्ये आगो, तातो तेल, विद्युत् करेन्ट, एसिड, तातोपानी, तातो दूधका कारण जलनको सिकार हुने गर्दछन् । कीर्तिपुर अस्पतालमा मात्रै वार्षिक रूपमा सात सय जनाको जलनको उपचार हुने गर्दछ ।
अस्पतालमा सबैभन्दा बढी आगोले पोलेर आउने गर्दछन् । ६० प्रतिशत आगोले पोलेर, तातो झोलले पोलेर २२ प्रतिशत, विद्युतीय जलन १३ प्रतिशत र बाँकी अन्य जलनका बिरामी आउने गरेका छन् ।
यीबाहेक त्रिवि शिक्षण अस्पताल, सुषमा कोइराला मेमोरियल अस्पताल, पाटन अस्पताल र वीर अस्पतालमा गरेर वार्षिक रूपमा करिब एक हजार पाँच सय जलनका बिरामी आउने गर्दछन् ।
कस्तो छ हाम्रो क्षमता ?
प्राडा शङ्करमान राई
नेपालको एक मात्र जलन उपचारका रूपमा रहेको कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि जानु भएका प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीको उपचार त्यहाँ हुन नसकी भारत लगिएको छ । यहाँ हामीले जलनका बिरामीको उपचार र नेपालको उपचार अवस्थाबारे डा. भण्डारीको स्वास्थ्यस्थिति बुझ्न जानु भएका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अन्य नेतालाई कीर्तिपुर बर्न अस्पतालका प्राडा शङ्करमान राईले दिनुभएको जानकारीको सम्पादित अंश प्रस्तुत गरेका छौँ ।
बुधबार राति १०ः३० बजे माननीय डा. चन्द्र भण्डारी र उहाँकी आमा चन्द्रकला भण्डारी जलेको अवस्थामा उपचारका लागि अस्पतालमा ल्याइएको थियो । डा. भण्डारीको शरीरको झन्डै ३० प्रतिशत र आमाको ७० प्रतिशतभन्दा बढी जलेको थियो ।
आमाको उमेर ८५ वर्ष पुगेको र जलेको अवस्था बढी रहेका कारण बचाउन सक्ने सम्भावना कम थियो । डा. भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको अवस्था अन्यन्तै सामान्य हो तर यो जलनको समयमै उपचार भए निको हुन सक्छ ।
आगलागीमा परी घाइते भएका बिरामीको शरीर जलेको अवस्था र बिरामीको उमेरअनुसार बचाउन सक्ने वा नसक्ने हुन्छ । शरीरको जलन र बिरामीको उमेर जोड्दा १०० पुग्यो भने बचाउन कठिन हुन्छ । जलन र उमेर जोड्दा ९० भन्दा कम भयो भने बचाउन सक्ने सम्भावना रहन्छ तर कतिपय अवस्थामा जलेको बिरामीको अवस्था समान्य रहे पनि एकै छिनमा अवस्था बिग्रने र मृत्यु हुने गरेका घटना बढी छन् ।
चिकित्सकीय परिभाषामा आगलागीबाट २० प्रतिशतभन्दा कम जलेका घाइते वा बिरामीलाई सामान्य, त्यसभन्दा बढी जलेको बिरामीलाई नाजुक अवस्था मानिन्छ । स्रोत साधन उपलब्ध भए र समयमै अस्पतालमा आए ९५ प्रतिशतसम्म जलेको बिरामीलाई निको पार्न सकिन्छ ।
आगलागीबाट घाइते भएका बिरामीको उपचार गर्ने कीर्तिपुर अस्पताललाई बर्न अस्पतालका रूपमा विकास गरिएको छ । अस्पतालको क्षमता र उपलब्ध स्रोत साधनको अवस्था भने कमजोर छ । कीर्तिपुर बर्न अस्पतालको स्रोत साधनको उपलब्धता २० प्रतिशतभन्दा कम जलेका बिरामीका लागि मात्र छ ।
डा. चन्द्र भण्डारीको अवस्था समयमै उपचार भए निको हुने खालको र खतरामुक्त रहेको भए पनि शरीर जलेअनुसारको हामीसँग उपचार प्रणाली नरहेका कारण विदेशका सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरिएको हो ।
आगलागीबाट घाइते भएका बिरामीलाई जति छिटो अस्पताल पु¥याउन सक्यो त्यति जोखिम कम हुने डा. राई बताउनुहुन्छ । उहाँका अनुसार शरीरको जलन बाहिरबाट हेरेर आकलन गर्न
पनि गाह्रो हुन्छ । बाहिरी भाग जलेको स्पष्ट देखिए पनि भित्रसम्म कति जलेको छ भन्ने यकिन नहुँदासम्म बिरामीको अवस्था भन्न सकिँदैन । यसबाहेक भित्री अङ्ग जलनबाट कति क्षति भएको छ भन्ने यकिन गर्ने प्रविधि नेपालमा छैन ।
आगलागीबाट जलेका बिरामीको उपचारपछि निको भएका घटना कमै छन् । यसका कारण उचित उपचारको व्यवस्था नहुनु नै हो । स्वस्थ मानिसको शरीरमा पाँच लिटर रगत हुन्छ । आगलागीको जलनबाट रगत सञ्चार हुने नसा र शरीरका साना अङ्गमा असर बढ्दै जाँदा बिस्तारै अङ्गले काम गर्न छाड्दै जाँदा मानिसको मृत्यु हुने गर्दछ ।
त्यस्तै जलेका बिरामीलाई शरीरमा पानी आवश्यकता पर्ने हुन्छ । लामो समयसम्म अस्पताल पुग्न नसक्ने बिरामीको उपचार लगभग असम्भव हुन्छ । आगलागीमा परेका बिरामीको रोग प्रतिरोधात्मक क्षमता एकै छिनमा कमजोर बन्दै जान्छ र अङ्गहरूले बिस्तारै काम गर्न छाड्दै मृत्यु हुने गर्छ ।
बिरामीको रोग प्रतिरोधात्मक क्षमता १०० प्रतिशतबाट २० प्रतिशतसम्म झरेको अवस्थामा थप उपचारबाट निको पार्न सकिँदैन ।
नेसनल बर्न सेन्टर कस्तो ?
डा. भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिएको छ । भारत सरकारको स्वामित्वको सो अस्पताल दक्षिण एसियाकै उत्कृष्ट जलन अस्पतालका रूपमा परिचित छ ।
उक्त अस्पतालमा ९० प्रतिशतसम्म जलेको बिरामीलाई निको पार्न सक्ने स्रोत साधन रहेको बताइन्छ । अस्पतालमा छाला प्रत्यारोपणका लागि छाला बैङ्को समेत व्यवस्था छ । ३० डिसेम्बर २०२२ मा कार दुर्घटनामा परी शरीरका ६० प्रतिशत अङ्ग जलेका भारतीय क्रिकेटर ऋषभ पन्तको यसै अस्पतालमा उपचारपछि निको भएको थियो ।