• १३ साउन २०८१, आइतबार

प्राविधिक ज्ञान दिने कार्यक्रम ल्याउन संस्कृत विश्वविद्यालयलाई आग्रह

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । फाइल तस्बिर

गोकर्ण पौडेल 

तुलसीपुर, फागुन ३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल संस्कृत विश्वविद्यालयलाई प्राविधिक ज्ञान र अभ्यास झल्किने खालका कार्यक्रम ल्याउन आग्रह गर्नुभएको छ । 

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठको उद्घाटन कार्यक्रममा आज यहाँ मन्त्री शर्माले सो कुरा बताउनु भएको हो ।

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले भन्नुभयो, ‘‘संस्कृत विश्वविद्यालयले प्राविधिक ज्ञान अभ्यास झल्किने गरेर ऋषिमुनिका आचरण, व्यवहार प्रस्तुत गर्ने खालका कार्यक्रम ल्याउन आग्रह गर्दछु ।’’

पछिल्लो समय पूर्वीय दर्शनमा पश्चिमा राष्ट्रका नागरिकले समेत पठन पाठनमा विशेष ध्यान दिएकाले अन्तर्राष्ट्रिय रुपमा विकास गर्दै लैजानुपर्छ, मन्त्री शर्माको भनाइ छ । 

विश्वविद्यालय सभा सदस्यसमेत रहनुभएकी मन्त्री शर्माले विश्वविद्यालयलाई थप विकसित तुल्याउन कार्यदल बनाएरै अघि बढ्नुपर्ने चर्चा गर्नुभयो ।

उहाँले कोरोना सङ्क्रमण कालमा आयुर्वेद शिक्षण भवनबाट अस्पतालले दिएको सेवाबाट सयौं नागरिकको जीवन सुरक्षित बनेको धारणा राख्नुभयो । 

पछिल्लो समय नागरिकमा योग, संस्कृत अध्ययन अनुसन्धानका लागि चासो व्यक्त भएकाले त्यसलाई विश्वविद्यालयले पाठ्यक्रममा समेत लागू गर्नुपर्ने उहाँको सुझाव छ ।