• १३ साउन २०८१, आइतबार

यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्छ : सांसद भट्टराई

blog

प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्नुहुँदै सांसद योगेशकुमार भट्टराई । तस्बिर : सुजन गुरुङ

काठमाडौं, फागुन ३ गते । नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने बताउनुभएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद भट्टराईले यस्तो बताउनुभएको हो ।

उहाँले रोड सेफ्टी काउन्सिल बनाएर सडक विभागले गरेका काम, यातायात व्यवस्था विभागले गरेका कामहरूको नियमन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले रोड सेफ्टी एक्शन प्लान, २०२१ लाई अघि बढाउनुपर्ने आवश्यकता भइसकेको धारणा औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले एउटा रोड सेफ्टी काउन्सिल बनाउनुपर्छ । त्यसले सडक विभागले गरेका कामहरूको पनि नियमन गर्छ । अनुगमन गर्छ, यातायात व्यवस्था विभागको पनि अनुगमन गर्छ । यी कामहरू आज हुन सकेका छैन । एकातिर यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्नेछ । रोड सेफ्टी एक्शन प्लान,२०२१ लाई अघि बढाउनुपर्नेछ । रोड सेफ्टी काउन्सिल ऐन, ड्राफ्ट गर्नुपर्नेछ । हेलमेटको गुणस्तरको जाँच गर्नुपर्छ ।’’

सांसद भट्टराईका अनुसार रोड सेफ्टी काउन्सिल ऐन, ड्राफ्ट गर्नुपर्ने आवश्यक रहेको छ । उहाँले दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा मृत्यु हुनुको मुख्य कारण हेलमेटको गुणस्तर रहेकाले हेल्मेटको गुणस्तर परीक्षण गर्नु जरुरी रहेको बताउनुभयो । सांसद भट्टराईले सहरमा सुरक्षित साइकल लेन, व्यवस्थित फुटपाथ, ह्वीलचियरमैत्री, अपाङ्गमैत्री सडक बनाउने कुरा राज्यको निर्देशक सिद्धान्तले भनेपनि सो अनुसार हुन नसकेको भन्दै सरकारले आधुनिक र सभ्य सडक बनाउनुपर्ने बताउनुभयो ।

‘‘विश्वको अध्ययनले के देखाउँछ भने दुई पाङ्ग्रे सवारी साधनमा मृत्यु हुनेको मुख्य कारण हेलमेटको गुणस्तर हो । ७० प्रतिशत मानिसहरू कमजोर हेलमेट प्रयोग गरेका कारणले मृत्यु भइरहेका छन् । अधिकांश दुई पाङ्ग्रे सवारीसाधनमा मृत्यु पछाडि बस्ने यात्रुको हुन्छ । सहरमा सुरक्षित साइकल लेनको कुरा छ ।,’’ उहाँले भन्नुभयो, ‘‘व्यवस्थित फुटपाथको कुरा छ । ह्वीलचियरमैत्री, अपाङ्गमैत्री बजाउने हाम्रो राज्यको निर्देशक सिद्धान्तले भनेको छ तर हाम्रा कुनैपनि सडकहरू अपाङ्गमैत्री छैन, त्यसतिर ध्यान दिनुपर्छ । आधुनिक र सभ्य सडक बनाउनु पर्छ ।’’ सांसद भट्टराईले नयाँ बसपार्कमा भएको लुटपाटको बारेमा सरकारले छानबिन गरी कारबाही गर्नुपर्ने माग राख्नुभयो ।