• १२ मंसिर २०८१, बुधबार

नारायणी नदी किनारमा पुरेको फोहोर उठेन

blog

शालिग्राम नेपाल 

चितवन, फागुन ३ गते । नारायणी नदी किनारमा पुरेको फोहोर उठाउन सर्वोच्च अदालतले दिएको आदेश अझै कार्यान्वयन हुन सकेको छैन। चितवन महोत्सव सञ्चालन गर्नका लागि नारायणी नदीको पुल उत्तरतर्फको स्थानमा भएको खाल्टोमा फोहोर पुरेरसम्म बनाइएको थियो। त्यो फोहर पुरेरसम्म बनाएपछि चितवन महोत्सव सञ्चालन भएको थियो भने अहिले व्यापारिक ठेला तथा कोटी होम आयोजना भइराखेको छ। 

जलचर तथा आमसमुदायलाई प्रत्यक्ष तथा अप्रत्यक्ष असर पर्ने गरी नदी किनारमा फोहोर पुरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भरतपुर महानगरपालिका, उद्योग वाणिज्य सङ्घ चितवन, जिल्ला समन्वय समिति जिल्ला प्रशासन कार्यालयविरुद्ध मुद्दा दायर भएको थियो। सर्वोच्च अदालतले सरोकार पक्षलाई ध्यानाकर्षण गराए नदी किनारमा पुरेको फोहोर उठाउन र किन पुरेको भन्दै लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। 

अन्तरिम आदेश दिनु नपर्ने कुनै कारण भए १५ दिनभित्र जवाफ पेस गर्न सर्वोच्च अदालतले विपक्षीको नाममा आदेश दिए पनि अहिलेसम्म जिल्ला समन्वय समितिबाहेक अरू निकायले जवाफ पेस गरेको छैन। जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले भन्नुभयो, “हाम्रो कार्यालयले लिखित जवाफ सम्मानित अदालतमा पेस गरेका छाैँ। तर उद्योग वाणिज्य सङ्घ चितवनले भने जवाफ पेस गरेको छैन।” वाणिज्य सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठले भन्नुभयो, “हामी वकिलमार्फत जवाफ पेस गर्ने तयारीमा छौँ, फोहोर हामीले फालेको होइन, महानगरपालिकाले फालेको हो। हामीलाई यो झमेलामा पारिएको छ। 

भरतपुर महानगरपालिका वातावरण शाखा प्रमुख इन्जिनियर विराट घिमिरेले फोहोर पुर्ने मुख्यकर्ता उद्योग वाणिज्य सङ्घ चितवन भएकाले उसैले फोहोर उठाउनुपर्ने बताउनुभयो। पुरेको फोहोर उठाउन र नारायणीमा फोहोर नफाल्न माग गरेका सामाजिक सङ्घसंस्थाले विरोधका विभिन्न कार्यक्रम गर्दै आएका छन्। सर्वोच्चको आदेशपछि पनि फोहोर उठ्न नसक्नु ज्यादै दुःखको नारायणीका अभियन्ता इन्जिनियर सागर कार्कीले भन्नुभयो, फागुन २५ गतेपछि मात्रै सर्वोच्चमा अपहेलनाको मुद्दा दर्ता गर्न सकिने भएकाले हामीले अझै पनि फोहोर उठ्नेछ भन्नेमा आशा राखेका छौँ।