• १३ साउन २०८१, आइतबार

कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुन्छ : प्रधानमन्त्री प्रचण्ड

blog

नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको १६ औं अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, फागुन २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुने बताउनु भएको छ । मङ्गलबार नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको १६ औँ अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालमा अन्य उद्योगहरूभन्दा पनि कृषिमा आधारित उद्योगको विस्तारले नै अर्थतन्त्रका लागि दिगो हुने धारणा राख्नुभयो । मौलिक संस्कृति परम्परा अनुसार घरेलु उत्पादनलाई प्रवर्द्धन र विकसित गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।


‘‘पहिलो कुरा हाम्रो सोचमा नेपाली पन बनाउन जरुरी छ । नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेका थियौँ । अर्बौँ विदेशी रकम भित्र्याउने गरेका थियौँ तर अहिले धेरै वर्षको अध्ययन अनुसन्धान र मेहनत गरी आधुनिकताका कुरा गरेर परनिर्भर भएर किन गयौँ । त्यसको खोजी गर्नुछ । त्यसको निम्ति सोच बदल्नु जरुरी छ ।,’’

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘राज्यका कतिपय नीतिगत वैधानिक कारणले नेपालको घरेलु उत्पादनलाई प्रवर्द्धन गर्ने आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्योगमा लगानी बढाउने र ऐनले पनि संरक्षण गर्ने विषयको पनि अभाव छ । ऐनको अभावले पनि अप्ठ्यारो स्थितिमा गएका छौँ । यसलाई बदल्न जरुरी छ । कृषिमा आधारित उद्योगहरू नै नेपालका लागि सस्टेनेवल उद्योग हुनसक्छ । लघु घरेलु तथा साना उद्योगभन्दा पनि कृषिमा आधारित उद्योग नै हो ।’’

प्रधानमन्त्री प्रचण्डले नेपालको मौलिक तरिकाबाट कृषि उत्पादनमा वृद्धि गरी कृषिमा आधारित उद्योगको विस्तार र रोजगारी सिर्जना गर्नेमा उच्च प्राथमिकता नदिई नेपाललाई आत्मनिर्भर अर्थतन्त्रसहितको सामाजिक न्याय र समाजवादउन्मुख राज्यको परिकल्पना पूरा नहुने दाबी गर्नुभयो । उहाँले सबै नेपालीहरूको सोचमा नेपाली पन ल्याउन जरुरी रहेको बताउनुभयो ।


‘‘हाम्रो मौलिक संस्कृति परम्परा त्यसलाई जर्गेना वा प्रवर्द्धन र विकसित गर्ने र नेपालको मौलिक तरिकाबाट कृषि उत्पादनमा वृद्धि गर्ने र त्यसैमा आधारित भएर उद्योग र रोजगारी सिर्जना गर्ने विषयमा उच्च प्राथमिकता नदिई हामीले नेपाललाई आत्मनिर्भर अर्थतन्त्र सहितको सामाजिक न्याय र समाजवादउन्मुख राज्यको सपना देखेका छौँ ।,’’

उहाँले भन्नुभयो, ‘‘पूरा हुनसक्ने स्थिति छैन । यो पटक वर्तमान सरकारलाई असफल हुने छुट छैन । सरकारले राष्ट्र र जनताको पक्षमा र अर्थतन्त्रमा देखापरेका सङ्कटलाई समाधान गर्ने, सुशासनको पक्षमा र समृद्धिको नयाँ अभियानमा हामी सफल हुनुपर्छ । त्यसको लागि निजी क्षेत्रको समेत सामूहिक पहल नभई देशको आर्थिक क्षेत्रका समस्या समाधान गर्न सक्दैन । सरकारको जोड त्यसैमा छ ।’’

प्रधानमन्त्रीले नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेको भन्दै अहिले किन परनिर्भर हुनुपर्ने अवस्था आयो त्यसको खोजी गर्नु आवश्यक रहेको धारणा औँल्याउनुभयो । उहाँले राज्यका कतिपय नीतिगत वैधानिक कारण र ऐनले घरेलु उत्पादनलाई प्रवर्द्धन गरी आत्मनिर्भर बनाउन नसकिएको स्वीकार गर्नुभयो ।


प्रधानमन्त्री प्रचण्डले घरेलु उत्पादनलाई प्रवर्द्धन गर्न ऐनको अभावले पनि अप्ठ्यारो भएको भन्दै यसलाई बदल्न जरुरी रहेको बताउनुभयो । उहाँले वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै अहिले अर्थतन्त्रमा देखापरेको सङ्कटलाई समाधान गरी सुशासन कायम गर्ने पनि जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले तत्कालका लागि मुलुकमा वित्तीय सङ्कट देखिएको बताउनुभयो । बैङ्कको ब्याजदरमा भएको वृद्धिको कारणले देखापरेका समस्या समाधानको लागि अर्थमन्त्री र राष्ट्र बैङ्कका गभर्नरसँग बैठक राखेर तत्काल व्यवासायीहरुलाई राहतका निम्ति कोसिस गरिहरेको उहाँको भनाइ छ ।

प्रधानमन्त्रीले महामारीको कारणले बैङ्किङ क्षेत्रमा देखिएको तरलता अभावले समस्या सिर्जना गरेको लघु, घरेलु अथवा साना उद्योगमा थप लगानी गर्ने पुँजीको अभावलाई सरकारले समाधान गर्न विशेष पहल गरेको उल्लेख गर्नुभयो ।

उहाँले वित्तीय अस्थिरताका कारण लघु घरेलु अथवा साना उद्योगीहरूले उपभोग गरेको कर्जामा अत्यधिक बैङ्कको ब्याज वृद्धि हुन गई उद्योगीहरूमा परेको समस्या तत्काल समाधान गर्नको लागि सरकारले उपायहरू खोजिरहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले लघु, घरेलु अथवा साना उद्योगीले प्रयोग गरेको कर्जालाई नवीकरण गरी थप पुन कर्जा प्राप्त गर्ने बनाउन पनि सरकार लागि रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकारका केही नीतिगत, सोच, व्यावहारिक र संस्कारका कारणले अहिलेको स्थितिबाट गुज्रिएको बताउनुभयो । उहाँले नेपाल आत्मनिर्भर हुने आफ्नै स्रोत र साधनको अधिकतम प्रयोग गरी आत्मनिर्भर अर्थतन्त्र बनाउने सोचमा त्रुटि रहेको पनि बताउनुभयो ।