• ८ वैशाख २०८१, शनिबार

राजनीतिभन्दा माथि उठेर खानेपानी सेवा प्रवाह गर्नुपर्छ : मन्त्री खाँन

blog

काठमाडौं उपत्यका खानेपानि लिमिटेडको १५ औं वार्षिकोत्सव कार्यक्रमको उदघाटन गर्नुहुँदै खानेपानी मन्त्री अब्दुल खाँन । तस्बिर : कविता थापा

काठमाडौं, फागुन १ गते । खानेपानी मन्त्री अब्दुल खाँनले संविधानमा खानेपानी र सरसफाइलाई मौलिक हकका रूपमा राखिएकाले राजनीतिभन्दा माथि उठेर सेवा प्रवाह गरिनुपर्नेमा जोड दिनुभएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को १५ औँ वार्षिकोत्सव समारोहलाई आज (सोमबार) यहाँ सम्बोधन गर्नुहुँदै उहाँले राजधानीवासीका घरघरमा खानेपानी सेवा दिनसकेमात्र वार्षिकोत्सव मनाएको महत्त्व हुने बताउनुभयो ।

काठमाडौं उपत्यकाका सबै स्थानमा समानुपातिक रूपमा खानेपानी वितरण गर्न पनि मन्त्री खाँनले सरोकार भएका निकायका अधिकारीलाई निर्देशन दिनुभयो ।

उहाँले नेपालले प्रतिबद्धता जनाएको दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म ९० प्रतिशतभन्दा धेरै जनसङ्ख्यालाई स्वच्छ खानेपानी पु¥याउने लक्ष्य हासिल गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

मन्त्रालयलगायत खानेपानीसँग सरोकार भएका निकायले गल्ती गरे त्यसलाई सार्वजनिक गरेर सञ्चारमाध्यमले सहयोग गर्न पनि आग्रह गर्नुभयो ।खानेपानीको मिटरमा समस्या भएको भन्ने ग्राहकको गुनासो बढेकाले त्यसको छिटो समाधान गर्न पनि उहाँले लिमिटेडका अधिकारीहरूलाई निर्देशन दिनुभयो ।

मन्त्रालयका सचिव इन्जिनियर मणिराम गेलालले काठमाडौं उपत्यकामा हाल दैनिक ४७ करोड लिटर पानीको माग रहेको जानकारी गराउनुहुँदै मेलम्चीबाट १७ करोड लिटर र बाग्मती नदीलगायत स्रोतबाट दैनिक १३ करोड गरी ३० करोड लिटरमात्र आपूर्ति गर्न सकिएको बताउनुभयो । राजधानीवासीलाई स्वच्छ पानी वितरण गर्न मन्त्रालयले वैकल्पिक स्रोतको अध्ययन पनि गरिरहेको उहाँको भनाइ छ ।

“अहिले सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रमा निर्माण व्यवसायीले नै पानी प्रशोधन गरिरहेका छन्, आगामी मार्च ८ देखि प्रशोधनको जिम्मेवारी पनि केयुकेएलले नै पूरा गर्नुपर्ने छ”, उहाँले भन्नुभयो ।

‘स्काडा’ प्रणालीअनुसार पानी वितरणको तयारी गरिएकाले कर्मचारीले यसमा चुस्तदुरुस्त हुनुपर्ने उहाँको भनाइ छ । “अब वैज्ञानिक ढङ्गले खानेपानीको महसुल निर्धारण गरिनुपर्छ, खानेपानीसँग सम्बन्धित संस्थाको सुधारका लागि उच्चस्तरीय समिति गठन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ”, उहाँले भन्नुभयो ।

सचिव गेलालले सिंहदरबारभित्र पनि मेलम्चीको पानी प्रवेश गराइएकाले अब बोतललाई विस्थापित गरिने दाबी गर्नुभयो । खानेपानी महसुल निर्धारण आयोगका दुई सदस्य पदपूर्तिका लागि दुईपटक विज्ञापन गर्दा पनि आवेदन नपरेकाले फेरि तेस्रो पटक विज्ञापन गर्न लागिएको पनि उहाँले सुनाउनुभयो ।

मुहानै क्षेत्रमै चुहावटको पानीले बन्छ झरना   

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले केयुकेएलबाट वितरण भएको पानीले झरना बन्ने गरेको अनुभव सुनाउनुभयो ।

केही दिनअघि नगरपालिकाको नारायणटार पुल क्षेत्रमा पानी चुहावट भएर आकर्षक झरना देखिएपछि आफूले लिमिटेडका कर्मचारीलाई खबर गरी व्यवस्थापन गर्न लगाएको सुनाउनुभयो ।

“पानी चुहावट भएको देखेपछि मानिसले नगरपालिकाकै मुख ताक्छन्, यसको जिम्मेवारी नगरपालिकालाई पनि छैन, हामीले पनि लिमिटेडलाई नै खबर गरेर काम गराउने हो”, उहाँले भन्नुभयो । गोकर्णेश्वर  राजधानीका लागि पानी आपूर्ति गर्ने मुख्य स्रोत भएपनि नगरवासीले नै खानेपानी नपाएको उहाँको भनाइ छ । नगरपालिकाले एक वर्षमा सबै वडामा पानी लैजाने लक्ष्यमा लिएकाले त्यसमा साथ दिन अनुरोध समेत गर्नुभयो ।


बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले शिवपुरी र सुन्दरीजल क्षेत्रका एउटै घरमा तीन वटासम्म पानीका धारा भेटिएकाले लिमिटेडलाई नियमन गर्न आग्रह गर्नुभयो ।

“केही दिनअघि नगरपालिकाको नीलो पुल क्षेत्रमा चोरीको धारा बन्द गराउन जाँदा समस्या भयो, चोरेर पानी खान पाएपछि महसुल नतिर्ने बढ्छन्, यसैले समस्या समाधानमा लिमिटेडले लिने अग्रसरतामा नगरपालिका सहयोग गर्न तयार छ”, नगर प्रमुख अधिकारीले भन्नुभयो ।

कार्यक्रममा आयोगका अध्यक्ष जनार्दन अर्याल, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीवविक्रम राणा, लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटा, लिमिटेडका उपकार्यकारी निर्देशक ज्ञानेन्द्रबहादुर कार्की, लिमिटेड आधिकारिक ट्रेड युनियनका अध्यक्ष नवलसिंह साउद, लिमिटेडका अर्थ तथा प्रशासन विभाग प्रमुख विजय तिमल्सिनालगायतले सेवा सञ्चालन गर्न पुग्ने गरी महसुल निर्धारण हुनुपर्नेमा जोड दिनुभएको थियो ।