• १३ साउन २०८१, आइतबार

राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउँदा आपत्ति छैन : अध्यक्ष नेपाल

blog

धनगढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सहभागी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।

प्रकाशविक्रम शाह

धनगढी, माघ २९ गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो दलले राष्ट्रपति हुने अवस्था आए पार्टीमा छलफल हुने बताउनुभएको छ। 

धनगढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा उहाँले व्यक्तिगत रुपमा आफू राष्ट्रपति हुने नहुने कुराको महत्त्व नहुने बताउँदै राष्ट्रिय परिस्थिति र पार्टी निर्णयले त्यसको टुङ्गो लगाउने बताउनुभएको हो। 

अध्यक्ष नेपालले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउँदा आफ्नो दललाई आपत्ति नहुने बताउनुभयो। तर राष्ट्रिय सहमतिमा बन्ने राष्ट्रपतिको उम्मेदवार पात्र भने उपयुक्त हुनुपर्ने उहाँको भनाइ थियो। 

वामपन्थी एकतामा जोड दिनुभएका नेपालले नेकपा (एमाले) सँगको एकताका विषयमा भने एक हातले ताली नबज्ने टिप्पणी गर्नुभयो। वाम एकता भन्नुहुन्छ जनता समाजवादी पार्टी (जसपा)सँग एकताको प्रयास गरिहनुभएको छ के जसपा वामपार्टी हो भन्ने प्रश्नको जवाफमा उहाँले जसपाका दस्तावेज, विगत, त्यहाँ रहेका व्यक्तिको अनुहार हेर्दा त्यो पार्टी वामपन्थी दल हो भन्ने सङ्केत हुने बताउनुभयो। 

अशोक राई, राजेन्द्र श्रेष्ठलगायत धेरै नेताको वाम पृष्ठभूमि भएकाले जसपामा रहेका धेरै नेताको नाम उल्लेख गर्नुभएको छ।  पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राष्ट्रिय सहमतिले मुलुक सञ्चालन गर्ने, राष्ट्रपतिको चुनाव गर्ने विचार उपयुक्त भए पनि संविधान, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशीकरणका सवालमा स्पष्ट धारणा आउनुपर्ने बताउनुभयो। 

फरक प्रसङ्गमा सुदूरपश्चिम प्रदेश सभा विघटन हुन नहुने धारणा राख्दै मध्यावधि हुँदा मुलुकलाई आर्थिक नोक्सानी हुने बताउनुभयो। ‘‘केहीले चुनाव हुँदा अझ ठूलो दल हुन्छौं कि भन्ने सोचेका होलान् त्यो ठिक होइन’’, उहाँले भन्नुभयो। 

अध्यक्ष नेपालले टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशम चौधरीलाई रिहा गर्न आवश्यक रहेको बताउनुभयो। ‘‘मैले त प्रतिनिधि सभामै उहाँको रिहाइको माग गरेँ’, उहाँले भन्नुभयो, ‘‘रेशम मात्र होइन, हिजो माओवादीको शान्ति प्रक्रियासँग जोडिएको कुरा, विप्लवका राजनीतिक प्रकृतिका विषयवस्तु र मुद्दालाई छिटो टुङ्गो लगाउनु राम्रो हुन्छ।’’