• १२ मंसिर २०८१, बुधबार

फोहोर व्यवस्थापनमा सकस

blog

बागलुङ समाचारदाता

बागलुङ, माघ २८ गते । बागलुङका चार नगरपालिकाले फोहोर विसर्जन गर्ने स्थायी संरचना बनाउन सकेका छैनन् । नयाँ पालिकाहरूले पाँच वर्षदेखि अस्थायी रूपमा फोहोर व्यवस्थापन गर्दै आएका हुन् । जिल्लाकै जेठो बागलुङ नगरपालिकाले अस्थायी संरचना तयार गरी फोहोर व्यवथापन गरे पनि स्थायी संरचना छैनन् । 

झन्डै १२ वर्षसम्म कालीगण्डकी नदीमा फोहोर फालेको बागलुङ नगरपालिकाले उच्च अदालत बागलुङको आदेशपछि ठाउँ फेरेर २०६७ सालदेखि बागलुङ नगरपालिका–१, मालढुङ्गा काठेखोलाको छेउ खुतुर्केमा फोहोर विसर्जन गर्दै आएको छ । 

पछिल्लो दशकदेखि नगरपालिकाले फेरि कालीगण्डकी कोरिडोर रहेको वडा नं. १ को खुतुर्केमा फाल्न थालेको थियो । यो स्थान भरिएर दुर्गन्धित भइसकेको छ तर व्यवस्थित ‘ल्यान्डफिल साइट’ बनाउने योजनाले पूर्णता पाउन सकेको छैन । कहिले बजेट अभाव, कहिले स्थानीयवासीको सहमति नभएको भन्ने तथा कहिले डीपीआर बनाउने भन्दै काम अगाडि नबढेको हो । हाल फोहोर फालिएको स्थानबाट कालीगण्डकी कोरिडोर र मालढुङ्गा कुस्मीशेरा सडकमा नियमित सवारी गुड्छन् । यात्रुहरू नाक थुन्दै यात्रा गर्न बाध्य छन् । अहिले पनि बजेट अभावमा त्यो काम अलपत्र भएको नगरपालिकाको भनाइ छ । 

नगरपालिकाले फोहोरबाट नकुहिने वस्तुको निकासी ठेक्का लगाउने गरेको छ । स्थायी ल्यान्डफिल निर्माण नहुन्जेलका लागि भन्दै फालिए पनि अर्को व्यवस्था अझै अन्योल भएको हो । १० वर्षअघि दुई करोड रुपियाँको लागतमा बनाउने भनिएको स्थायी ल्यान्डफिलको डिजाइन गरेपछि सहयोगका लागि स्थानीय विकास मन्त्रालयमा माग भएको थियो । उक्त लागत स्टिमेट भएको दशक भइसकेकोले पुनः अर्को लागत स्टिमेट र योजना बनाउनुपर्ने नगरपालिकाले जनाएको छ ।

“व्यवस्थित फोहोर व्यवस्थापन र ढल निकासको योजना बनाएका छौँ तर डीपीआरमा फरक परेकोले संशोधनमा गएको छ,” नगरप्रमुख वसन्तकुमार श्रेष्ठले भन्नुभयोे, “सफा नगर बनाउने काममा अगाडि बढेका छौँ ।” डिजाइनअनुसारको साइट निर्माण भएमा ११ रोपनी जमिनमा फोहोर व्यवस्थापन हुनेछ । जैमिनी नगरपालिकाले पनि सडकछेउमा फोहोर फाल्दै आएको छ । दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने जैमिनीधाम कुस्मीशेरा सडकछेउमा फोहोर फालिने गरेको छ । ठेउले खोला किनारमा पर्ने सोत भन्ने स्थानमा अव्यवस्थित फोहोर फाल्दा जैमिनी नगरपालिका–१, कुस्मीशेराको टार गाउँमा दुर्गन्ध पुग्ने गरेको स्थानीय शोभाप्रसाद शर्माले बताउनुभयो । 

गलकोट नगरपालिकाले फोहोर व्यवस्थापनका लागि जग्गाको खोजी गरिरहेको जनाएको छ । हाल स्थानीय खोला किनारमै फोहोर विसर्जन गरिँदै आइएको छ । खोलामा अव्यवस्थित फोहोरका कारण गलकोटको हटिया बजार दुर्गन्धित हुने गरेको छ । ढोरपाटन नगरपालिकाले पनि बुर्तिबाङ बजारको फोहोर व्यवस्थापनका लागि स्थायी संरचना बनाएको छैन । नयाँ घोषणा भएका नगरपालिकाको केन्द्रमा बस्ती विस्तार तथा बजारीकरण तीव्र रूपमा बढे पछि फोहोर र ढलको उचित निकास नहुँदा समस्या हुँदै आएको छ ।