• १९ फागुन २०८०, शनिबार

‘बालबालिका शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन्’

blog

फाइल तस्बिर

टीकापुर, माघ २७ गते । बालबालिकाले शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन् । विद्यार्थीलाई पढाइसँगै उनीहरुमा रहेको अन्तर्निहित क्षमतालाई उजागर गरी क्षमता विकास गर्ने काम शिक्षकबाटै हुने भएकाले परिवारका सदस्यसँग गरिने व्यवहार शिक्षकसँग खोजिरहेका हुन्छन् । 

कालिका आधारभूत विद्यालयकी शिक्षिका शान्ति काफ्ले साना बालबालिकाले अझ बढी स्नेह खोज्ने बताउनुहुन्छ । “बालबालिकालाई असल मार्ग देखाउने, सपना देखाउने काम परिवार, साथी, विद्यालय, आफन्त सबैले गर्छन्”, उहाँ भन्नुहुन्छ, “शिक्षकले त भविष्य देखाउनुपर्छ । आमाको काखबाट विस्तारै विद्यालय आउने बालबालिका शिक्षक पनि आमाजस्तै माया गरुन भन्ने चाहन्छन् ।”

काफ्लेले साना नानीबाबु काखमै निदाउने, घरजस्तै वातावरणमा खान र खेल्न खोज्ने बताउनुभयो । “आजभोलि तीन वर्ष पार नगर्दै बालबालिकालाई विद्यालय पठाइन्छ । साना नानीबाबु विद्यालयमा पनि आमा खोज्छन्”, उहाँ भन्नुहुन्छ, “हामीले पनि आमाजस्तै माया गरे पो उनीहरु विद्यालयमा टिक्छन् । नभए विद्यालय आउनै मान्दैनन् ।” 

शिक्षण सिकाइ क्रियाकलापको मूल उद्देश्य पनि यही हो । बालबालिकालाई पढाइसँगै असल बनाउन अभिभावक, विद्यार्थी स्वयं र शिक्षकको अहम् भूमिका रहन्छ । बालबालिका अभिभावकजस्तै शिक्षकबाट माया, स्नेह र साथीजस्तो व्यवहार खोज्छन् । 

अभिभावकले आफ्ना बालबालिका र आफ्ना सपना पूरा गर्ने, गराउने आधार खडा गर्न विद्यालय र शिक्षकप्रतिको विश्वासमा विद्यालय पठाउने गरेका कर्णाली मावि टीकापुरका शिक्षक नारायण ढुङ्गाना बताउनुहुन्छ । “विद्यार्थी विद्यालयमा रहँदा शिक्षकलाई असल अभिभावक, असल साथी ठान्छन”, ढुङ्गाना भन्नुहुन्छ, अभिभावक र विद्यार्थीको शिक्षकप्रतिको यही विश्वासका कारण शिक्षक शिक्षक बन्न सकेका हुन् । हामीले जतिखेर, जहाँ पनि उनीहरुका अपेक्षा पूरा गर्नुपर्ने हुन्छ ।”

बालबालिकामा भएका अन्तर्निहित क्षमतालाई उजागर गर्नका निम्ति शिक्षक पुल बनेका हुन्छन् । शिक्षक माया भट्टराई विद्यार्थीलाई पढाउँदा सङ्ख्या धेरै हुने भएकाले छलफल र अन्तक्र्रिया गर्न समस्या हुने गरेको बताउनुहुन्छ । “सामुदायिक विद्यालयमा विद्यार्थी धेरै हुँदा समस्या हुन्छ”, उहाँले भन्नुभयो, “विद्यार्थीले छलफल र प्रयोगात्मक कक्षा मन पराउँछन् ।”

शिक्षिका दिलाकुमारी रावलले साना बालबालिका पढाइभन्दा खेल्न, दैनिक दिइने खाजा र शिक्षकको नजिक हुन मन पराउने गरेका बताउनुभयो । “हामीकहाँ विपन्न समुदायका बालबालिका बढी छन् । उनीहरु दिउँसो विद्यालयमा दिइने खाजा कुरेर बस्छन्”, उहाँले भन्नुभयो, “शिक्षकसँग खेल्न, कुराकानी गर्न र खेल्दै पढ्न खोज्छन् ।”

शिक्षक पदमबहादुर बुढा विद्यार्थी शैक्षिक सामग्रीको प्रयोग गर्दा खुसी हुने र सैद्धान्तिकभन्दा प्रयोगात्मक कुरामा बढी ध्यान दिने गरेका बताउनुुहुन्छ । “हामीले पढाउँदा शैक्षिक सामग्रीको सकेसम्म धेरै प्रयोग गर्छौं”, उहाँ भन्नुहुन्छ, “प्रयोगात्मक कक्षा गरेर अध्ययन गराउँदा सिकाइ छिटो हुन्छ ।”

शिक्षक धनञ्जय ढुङ्गाना विद्यार्थी शिक्षकजस्तै सक्रिय नभएको बताउनुहुन्छ । “विगतका विद्यार्थी धेरै मेहनती तर अहिले सोचेजस्तो मेहनती छैनन्”, उहाँले भन्नुभयो, “बालबालिकाको सिकाइ सुधारका लागि शिक्षक र विद्यार्थी दुवै मेहनती हुनुपर्छ ।”

शिक्षिक तारा साउँद प्राविधि र अन्य ज्ञान नभएको शिक्षकलाई विद्यार्थीले नपत्याउने भएकाले शिक्षकले हरेक कुराको ज्ञान लिनुपर्ने बताउनुहुन्छ । “अहिलेका बालबालिकाले मोबाइल, इन्टरनेटजस्ता प्रविधिको प्रयोग गरी धेरै कुरा जानेका हुन्छन्”, उहाँ भन्नुहुन्छ, “कुनै कुराको ज्ञान शिक्षकसँग छैन भने विद्यार्थीले हेप्छन् । त्यसैले शिक्षक धेरै मेहनती हुनुपर्छ । हरेक प्रविधि र ज्ञानसि परिचित हुनुपर्छ ।”