• १७ कात्तिक २०८१, शनिबार

खुट्टाको सहायताले उच्च शिक्षा

blog

कावासोती समाचारदाता

कावासोती, माघ २६ गते । पूर्वी नवलपरासी हुप्सेकोट गाउँपालिका–३, जुल्पेटारका यम खाम्चा जन्मजात नै शारीरिक रूपमा अशक्त हुनुहुन्छ। उहाँ बोल्न तथा हातको सहाराले केही काम गर्न सक्नुहुन्न तर खुट्टाको सहयोगमा अन्य धेरै काम गर्दै आउनुभएको छ। साहित्यकार झमक घिमिरेको झल्को दिने खाम्चाको रहर पनि झमकजस्तै साहित्यकार बन्ने छ। 

२५ वर्षीय खाम्चाको बोल्न र हातले लेख्न नसके पनि स्मरण शक्ति निकै तीक्ष्ण, मनोबल उच्च छ। कुनै सबलाङ्ग मानिसभन्दा उहाँ कम हुनुहुन्न। उहाँले खुट्टाको सहायताले लेख्ने, मोबाइल तथा ल्यापटपबाट सामाजिक सञ्जाल चलाउने गर्नुहुन्छ। 

अन्य मानिसजस्तै बोल्न र हिँड्न नसके पनि खाम्चाको सपना भने निकै ठूलो छ। मुस्किलले चलेका दुई खुट्टाको सहायताले १२ कक्षा पास गर्नुभएका खाम्चालाई अब उच्च शिक्षा हासिल गर्ने धोको छ। सन्तानको सपना पूरा गराउन उहाँको परिवार सङ्घर्षशील छ तर घरको आर्थिक अवस्था कमजोर हुँदा कसरी पढाउने भन्ने चिन्ताले मन खिन्न बनाउने गरेको बुबा मनबहादुर बताउनुहुन्छ। छोराले एसईई परीक्षा पास गरेपछि पढाइका लागि भनेर रामपुर नगरपालिका–१, बर्दाकोट पाल्पाबाट दुई वर्षअघि हुप्सेकोट गाउँपालिका–३ मा बसाइँ सरी आउनुभएको हो। कुपोषणका कारण शरीरका अङ्गले राम्रोसँग काम नगरेको चिकित्सकले बताएपछि उहाँलाई निको बनाउने परिवारको आशा निराशामा परिणत भएको छ।  

यमलाई भविष्यमा साहित्यकार बन्ने रहर छ। त्यो सपना पूरा गर्ने सपना लिएर अगाडि बढ्नुभएका उहाँले अहिलेसम्म ४४६ वटा मुक्तक खुट्टाकै सहाराले लेखिसक्नुभएको छ। 

अब रहर छ, त्यसलाई फूलबुट्टा भरेर सार्वजनिक गर्ने तर अवस्था सोचेजस्तो भने छैन। उहाँ परिवारको चार सन्तानमध्येका माइलो छोरा हुनुहुन्छ। आठ वर्षसम्म ओछ्यानमै जीवन बिताउनुभएका यमले आफ्ना आवाज अरूसामु प-याएको देख्दा आमा योगमाया निकै खुसी हुनुहुन्छ। 

आमा योगमाया भन्नुहुन्छ, “मलाई बिस्तारै बुढ्यौलीले छुँदै छ। ६१ वर्षकी भएँ, घरमा छोराको रेखदेख गर्दा नै दिन बित्छ। जतिबेला पनि पढ्छु, पढ्छु मात्रै भन्छ तर कसरी पढाउने?” छोराको भविष्य सम्झिँदै आँखाको आँसु पुछ्दै उहाँले भन्नुभयो, “अगाडि हासे पनि, उसको बढ्दो उमेरसँगै सपना र भविष्यको चिन्ताले सधैँ सताउँछ। उसलाई केही व्यवस्था मिलाएर मर्न पाए हुन्थ्योजस्तो लाग्छ। म नभए त रेखदेख गर्ने मान्छे नै हुँदैनन्।”