• १५ वैशाख २०८१, शनिबार

सिंहदरबारमा मेलम्चीको पानी

blog

काठमाडौँ, माघ २६ गते । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ । बुधबार पानी वितरण कार्यको परीक्षण गरिए पनि बिहीबारदेखि नियमित रूपमा वितरण कार्य सुरु गरिने भएको छ । 

यसअघि काठमाडौँ उपत्यकामा दुई पटक मेलम्चीको पानी वितरण गरिए पनि सिंहदरबारमा वितरण हुन सकेको थिएन । खानेपानी मन्त्रालयले सिंहदरबारभित्रका सरकारी कार्यालय तथा निकायमा चौबिसै घण्टा उपलब्ध हुने गरी मेलम्चीको पानी पठाउने तयारी गरिएको छ ।

यसअघि नवनियुक्त खानेपानीमन्त्री अब्दुल खानले पदभार ग्रहण गर्ने क्रममा सिंहदरबारभित्र ट्याङ्क, जार र बोतलको पानीको आपूर्ति बन्द गरी मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो । 

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बानेश्वर वितरण केन्द्रका प्रमुख विजय विश्वकर्माले बिहीबार बिहान १० बजेदेखि सिंहदरबारमा नियमित रूपमा मेलम्चीको पानी वितरण सुरु गरिने जानकारी दिनुभयो । उहाँले त्यसका लागि आवश्यक सबै तयारी पूरा गरिएको जानकारी दिनुभयो ।  उहाँका अनुसार सिंहदरबारमा मेलम्चीको पानी वितरणका लागि आयोजनाको अनामनगर पानी भण्डारण केन्द्रबाट दुई सय एमएमको थोक वितरण पाइप सिंहदरबारमा पठाइएको छ । सोही पाइपमा १५० एमएमको ६७० मिटर पाइप जडान गरी सिंहदरबारको पूर्वी गेटमा रहेको केयूकेएलको ट्याङ्कीमा पानी खसालिएको छ । त्यही ट्याङ्कीबाट सिंहदरबारमा पानी वितरण सुरु गरिएको हो ।

उहाँले भन्नुभयो, “यसअघि बोरिङको पानी वितरण गरिँदै आइएको पाइपलाइनबाट नै पानी विभिन्न मन्त्रालय र निकायमा वितरण गरिनेछ । अहिलेसम्मको तथ्याङ्कअनुसार २६ वटा धाराबाट पानी वितरण हुँदै आएको छ । सुरुमा ती धाराबाट नै मेलम्चीको पानी वितरण गरिनेछ । त्यसपछि पाइपलाइन थपिँदै जाने हो ।”

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले सिंहदरबारमा ४६ लिटर प्रतिसेकेन्ड पानी पठाउन सिंहदरबारको उत्तरतर्फबाट पाइप पठाइसकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सिंहदरबारमा ‘पिक–आवर’मा प्रतिसेकेन्ड ४० लिटर पानी आवश्यक पर्ने अनुमान गरिएको छ । प्रतिसेकेन्ड ४० लिटर पानी सहज रूपमा चौबिसै घण्टा सिंहदरबार पठाउन सक्ने संरचना निर्माण गरिएको छ ।” 

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले सिंहदबारमा मिनरल वाटरका जार र बोतलको प्रयोग पूर्ण रूपमा प्रतिस्थापन गर्ने योजनाअन्तर्गत नै मेलम्चीको पानी वितरण सुरु गरिएको बताउनुभयो । 

उहाँले मेलम्चीको पानी वितरण सुरु भएपछि अहिले पानी खरिदमा खर्च भइरहेको मासिक करोडौँ रुपियाँ बच्ने विश्वास व्यक्त गर्नुभयो ।