• १७ कात्तिक २०८१, शनिबार

‘विकासको नयाँ ढाँचा अवलम्बन गर्नु जरुरी’

blog

काठमाडौँ, माघ २५ गते । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सबै भागमा समानुपातिक किसिमले विकास पुग्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।

मुलुकको समृद्धिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मुख्य भूमिका रहेको चर्चा गर्दै उहाँले भौतिक पूर्वाधारको क्षेत्रमा फड्को नमारिकन मुलुकको समग्र विकासले फड्को मार्न नसक्ने स्पष्ट पार्नुभयो ।

अबको पूर्वाधार विकास नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने बताउँदै उहाँले राजधानीलगायतका केही सीमित ठाउँमा मात्र विकासकेन्द्रित गर्नेजस्ता अहिलेको विकास प्रणालीको सट्टा विपन्न वर्गलगायत सबैलाई विकासले लाभान्वित गर्न सक्ने विकासको नयाँ ढाँचा अवलम्बन गर्नु जरुरी भएको धारणा व्यक्त गर्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार साक्षात्कार कार्यक्रममा मन्त्री श्रेष्ठले सम्बन्धित क्षेत्रको विषयमा बुझेर कलम चलाउँदा जनताले सही सूचना पाउने र पत्रकारको पेसागत क्षमतासमेत अभिवृद्धि हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “परिवर्तनको लाभ मेरो जीवन फेर्नलाई नै भयो भन्ने कुरा आमनागरिकलाई महसुस गराउने गरी विकास गर्नुछ । त्यसको निम्ति अब विकासको प्रक्रियालाई तीव्रता दिनुपर्छ र फड्को मार्ने ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने सरकारको नीति हो ।” 

चीन तयार

सो अवसरमा सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले चक्रपथको दोस्रो खण्ड (कलङ्की–नारायणगोपाल चोक) विस्तारका लागि चिनियाँ पक्षले नेपालको तयारी कुरिरहेको बताउनुभयो । चक्रपथ क्षेत्राधिकारभित्र पर्ने मन्दिरलगायतका संरचना पूर्ण रूपमा हटाइएपछि चिनियाँ पक्ष नेपाल आउने स्पष्ट पार्नुभयो । 

उहाँले मन्दिरबाहेकका संरचना हटाइसकिएको बताउँदै भन्नुभयो, “मन्दिर सार्ने काम पनि सकिन लागेको छ । अब सामाखुसीस्थित शिव मन्दिर मात्र सार्न बाँकी छ । त्यो सारिसकेपछि काठमाडौँस्थित चिनियाँ दूतावासलाई जानकारी गराउने छौँ र विस्तारका लागि चक्रपथ हस्तान्तरण गर्ने छौँ ।”

कुल ११.६ किलोमिटर रहेको यस खण्डलाई चीन सरकारले आठ लेनमा विस्तार गर्ने सम्झौता छ । चक्रपथको प्रथम खण्ड (कोटेश्वर–कलङ्की) विस्तार गरी चीनले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । यसअघि चिनियाँ पक्षले यो सडक खण्डमा पर्ने महाराजगञ्ज चोकको मुआब्जा विवाद टुङ्ग्याएर मात्रै काम थाल्ने अडान पनि लिएको थियो । विभागका महानिर्देशक थापाले सडक विभागले त्यो ठाउँमा आफैँले सडक विस्तार गर्ने प्रतिबद्धता चिनियाँ टोलीलाई दिएको बताउनुभयो । महाराजगञ्ज चोकको २४४ मिटरमा मुआब्जा विवाद छ । त्यहाँ १९ घरसहित करिब ४४ कित्ता जग्गा प्राप्ति गर्नुपर्नेछ ।

आवेदन परेन 

यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेले सवारीचालक अनुमतिपत्रको छपाइका लागि ‘मास प्रिन्टर’ खरिद गर्न नेपाली सप्लायरले मात्र आवेदन दिन पाउने गरी आह्वान गरिएको बोलपत्रमा कुनै आवेदन नपरेको बताउँदै मास प्रिन्टर ल्याउन पुनः बोलपत्र आह्वान गरिने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “अहिले दैनिक छ हजार लाइसेन्सको माग रहेकोमा यातायात विभागसँग भएको मास प्रिन्टरले दैनिक चार हजार कार्ड प्रिन्ट गर्न सक्छ । बाँकी रहेका सात लाख स्मार्ट लाइसेन्स प्रिन्ट हुन अझै समय लाग्नसक्छ ।” उहाँले वैदेशिक रोजगारीमा जान चाहनेका लागि तीन दिनमै यस्तो अनुमतिपत्र दिने गरिएको जानकारी दिनुभयो ।