• १२ मंसिर २०८१, बुधबार

हात्तीपाइलेको जोखिम कायमै

blog

घोराही समाचारदाता

घोराही, माघ २४ गते । दाङमा अझै पनि हात्तीपाइले रोगको उच्च जोखिम कायमै रहेको छ। विगत १२ वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सञ्चालन हुँदै आए पनि जिल्ला हात्तीपाइले रोगको जोखिमबाट मुक्त हुन सकेको छैन। 

नागरिकको लापरबाही र औषधि सेवनका बारेमा गलत सूचना प्रवाहका कारण यो रोग निवारणमा चुनौती देखिएको स्वास्थ्यकर्मी बताउछन्। गत वर्षको सर्वेक्षणअनुसार ४२९ जनामा हात्तीपाइले र एक हजार ६१४ जनामा हाइड्रोसिल गरी कुल दुई हजार ४४ जनामा हात्तीपाइले रोगको समस्या देखिएको छ। सन् २०११ मा पहिलो पटक गरिएको परीक्षणमा जिल्लामा ८७ प्रतिशतमा रोग नियन्त्रणका लागि पहल गरिएको थियो तर पछिल्ला वर्षमा रोग नियन्त्रणको दर घट्दै जाँदा समस्या थपिएको भनाइ स्वास्थ्यकर्मीको छ। 

पछिल्लो तीन वर्षको अवस्था विश्लेषण गर्दा रोग नियन्त्रणमा ल्याउन चुनौती देखिएको छ। सन् २०२० मा जिल्लामा ६५ प्रतिशतमा झरेको सङ्क्रमण दर सन् २०२१ मा बढेर ६७ प्रतिशत हुँदै अघिल्लो वर्ष सन् २०२२ मा ६८ प्रतिशतमा पुगेको छ।

हात्तीपाइले रोगको सङ्क्रमण दर २ प्रतिशतभन्दा कम हुनुपर्ने भए पनि अहिले जिल्लामा बढी रहेको स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बरबहादुर कुँवरले बताउनुभयो। हात्तीपाइलेको अवस्थालाई २ प्रतिशतमा ल्याउनका लागि धेरै मेहनत गर्नुपर्ने उहाँको भनाइ छ। यस जिल्लामा सन् १०१९ मा सिसहनिया र टरिगाउँमा गरिएको परीक्षणमा ५.८५ प्रतिशतमा हात्तीपाइलेको सङ्क्रमण पुष्टि भएको थियो। यो अवस्थालाई मध्यनजर गर्दै रोग नियन्त्रणको प्रयास भए पनि कम हुन सकेको छैन। 

सन् २०२१ मा देउखुरीकै सिसहनिया र घोराहीको सुर्केडाँगीलगायत स्थानमा गरिएको परीक्षणमा ७ प्रतिशतभन्दा बढीमा रोगको समस्या देखिएको थियो। “विगत १२ वर्षदेखि निरन्तर प्रयास भए पनि जिल्लामा हात्तीपाइले रोगलाई नियन्त्रणमा ल्याउने प्रयास सफल हुन सकेको छैन,” स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख कुँवरले बताउनुभयो। 

सबैभन्दा धेरै घोराहीमा हात्तीपाइलेका सङ्क्रमित रहेका छन्। गत वर्ष गरिएको सर्वेक्षणअनुसार घोराहीमा ११६ जना हात्तीपाइलेका नयाँ बिरामी भेटिएका थिए। तुलसीपुरमा ९८ जना, लमहीमा ७४ जना, गढवामा ५८ जना, राप्तीमा ४३ जना, राजपुरमा ११ जना, बबईमा १० जना, बङ्गलाचुलीमा आठ जना, शान्तिनगरमा छ र दङ्गीशरणमा पाँच जनामा हात्तीपाइलेको सङ्क्रमण पुष्टि भएको थियो। 

सहरी इलाका घोराही र तुलसीपुर उपमहानगरपालिकामा बढी जोखिम देखिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कुँवरले बताउनुभयो। उहाँका अनुसार गत वर्ष ६५ प्रतिशत नागरिकले मात्रै औषधि सेवन गरेका थिए। सन् २०३० सम्म जनस्वास्थ्य समस्याका रूपमा रहन नदिने गरी हात्तीपाइले रोग नेपालबाट उन्मूलन गर्नका लागि नियमित रूपमा औषधि सेवनको कार्य सञ्चालन हुँदै आएको छ।