बाबुराम शर्मा
दोलखा, माघ २४ गते । बालबिग्याइँ कर्तव्य ज्यान मुद्दाका जाहेरवाला दोलखाको भीमेश्वर नगरपालिकाका मृतकका बाबु किस्मत तामाङले जिल्लाबाट पहिलो पटक क्षतिपूर्तिबापतको एक लाख रुपियाँ राज्य कोषबाट पाउनु भएको छ ।
वादी नेपाल सरकार रहेको सो मुद्दामा सर्वोच्च अदालत पीडित राहत कोषको सचिवालयबाट प्राप्त एक लाख रुपियाँ क्षतिपूर्तिबापत पहिलो पटक प्रदान गरिएको दोलखा जिल्ला अदालतका श्रेस्तेदार शिवकुमार पोखरेलले जानकारी दिनु भयो ।
उहाँका अनुसार जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठको एकल इजलासबाट मृतकका हकवाला किस्मत तामाङलाई एक लाख रुपियाँ पीडित राहत कोषबाट दिने फैसला भएको हो । सो अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा १०६ बमोजिम राहत प्रदान गरिएको हो ।
सो मुद्दाका परिवर्तित नाम कालिन्चोक ७० समेतका तीन जना सुधार केन्द्रमा रहेका छन् । तीमध्ये एक छुटिसकेका छन् भने दुईलाई १६ वर्ष कैद सजाय तोकिएको छ । मुलुकी अपराध संहिता २०७४ लागू हुनु पूर्व क्षतिपूर्ति रकम माग भए प्रतिवादीबाट भराउने प्रावधान रहेको अदालतले जनाएको छ ।