चितवन समाचारदाता
चितवन, माघ २४ गते । चितवनको पटिहानीमा पाँच देशका गैँडाविज्ञहरूको तीन दिनसम्म चलेको सम्मेलन गैँडाको संरक्षण र सुरक्षाका विभिन्न विषयमा साझा धारणा सार्वजनिक गर्दै सम्पन्न भएको छ।
विश्वमै लोपोन्मुख अवस्थामा रहेको एकसिङे गैँडाको संरक्षणमा चुनौती थपिएपछि विज्ञहरूको तेस्रो अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन चितवनको पटिहानीमा भएको थियो। माघ २० देखि २२ गतेसम्म चलेको सम्मेलनले संरक्षण, जनसङ्ख्या व्यवस्थापन, आवास व्यवस्थापन, अनुसन्धान अनुगमन र सूचना आदानप्रदान, समन्वय र सहयोगलगायत शीर्षकमा बुँदागत धारणा सार्वजनिक गरेको छ।
गैँडा पाइने देशहरूमा चोरी सिकारले अपनाउने माध्यम प्रायः एकै प्रकारको भएकाले समस्या पनि उस्तै हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा. गणेश पन्तले जानकारी दिनुभयो। समूहगत रूपमा चलेको बैठकमा विज्ञहरूले आ–आफ्ना देशमा हुने समस्या र चुनौतीका विषयमा छलफल गरेका थिए।
“वर्षमा कुनै एक दिन मात्र सुरक्षामा कहीँकतै कमजोरी भए त्यही दिनमा सिकारीले आक्रमण गरेर मार्ने गर्छन्,” डा. पन्तले भन्नुभयो, “यस्तो समस्या हाम्रो देशमा मात्र होइन, अन्य देशको पनि हो।”
सम्मेलनमा नेपाल, भारत, भुटान, इन्डोनेसिया, मलेसियालगायत देशका ६५ जना विज्ञ सहभागी थिए। सम्मेलनले गैँडाको बासस्थानको सुधारसँगै सुरक्षा, चोरी सिकार नियन्त्रण गर्न साझा प्रयास गर्ने, एउटै प्रजातिका गैँडाको अन्तरदेशीय स्थानान्तरण गर्ने, वंश विस्तार गर्ने, प्रजनन केन्द्र स्थापना गर्नेलगायतका बुँदामा साझा धारणा लिएका छन्।
सुरक्षा व्यवस्था बलियो बनाउने, गैँडाको अवैध रूपमा हुँदै आएको सिङको व्यापारबारे गुप्तचरले जानकारी गराउने, सञ्चालन भइराखेको संरक्षणसम्बन्धी सहयोगमा फोरेन्सिक विज्ञानको प्रयोगसहित उन्नत प्रविधि प्रयोग गर्नेमा जोड दिइएको छ।
गैँडाको अवैध सिकार रोक्न संरक्षण र निगरानीलाई अझ व्यवस्थित पार्ने साझा धारणापत्रमा उल्लेख छ। रणनीतिक स्थानहरूमा विशेष जोड दिने, फिल्ड सुविधामार्फत अग्रस्थानका कर्मचारीको उच्च मनोबल कायम राख्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने, स्थानीयको आर्थिक वृद्धि गर्न वैकल्पिक जीविकोपार्जन प्रदान गर्ने, संरक्षित क्षेत्रवरपरका सामुदायिक विकास कार्यक्रमहरू गर्नेलगायतका बुँदा छन्।
जनसङ्ख्या व्यवस्थापन
गैँडाका लागि राष्ट्रिय संरक्षण, प्रजनन कार्यक्रम स्थापना गर्ने, एकल जनसङ्ख्याका रूपमा रहेका गैँडालाई आदानप्रदानका कार्यक्रम सञ्चालन गर्ने, प्रजनन उद्देश्यका लागि एक अभियान चलाउने, प्रजनन अनुकूलन गर्न राष्ट्रिय संरक्षण, प्रजनन कार्यक्रमअन्तर्गत अवसर, आनुवंशिक विविधता र जनसङ्ख्या वृद्धि गर्नेमा जोड दिइएको छ।
यस्तै जवान गैँडाका लागि बासस्थान व्यवस्थापन गर्ने, जवान गैँडाको दोस्रो बासस्थान स्थापना गर्ने, एउटै प्रजातिका जनसङ्ख्याबीच गैँडा आदानप्रदानलाई प्रोत्साहन गर्ने, आनुवंशिक स्वास्थ्य सुधार गर्ने विषयमा पनि जोड दिइएको छ।
आवास व्यवस्थापन
गैँडाको बासस्थानमा अधिकतम सुधार गर्ने, गैँडा बासस्थान व्यवस्थापन दिशानिर्देशहरू विकास र कार्यान्वयन गर्ने, गैँडाका लागि खाना, पानी र ठाउँको निरन्तर उपलब्धता गराउने, बासस्थानमा खतराहरू कम गर्ने, वन्यजन्तुमैत्री उपायहरू अवलम्बन गर्नेलगायतका बुँदा साझा धारणामा समेटिएका छन्।
अनुसन्धान, अनुगमन र सूचना आदानप्रदान
गैँडासँग सम्बन्धित विभिन्न पक्षमा दीर्घकालीन अनुसन्धान सञ्चालन/प्रवद्र्धन गर्ने, प्रजननसहित संरक्षण सम्भाव्यता गर्ने, मानव–गैँडा द्वन्द्व न्यूनीकरण गर्दै कार्यक्रम सञ्चालन गर्नेमा सम्मेलनले जोड दिएको छ।
प्रत्येक चार वर्षमा गैँडा जनसङ्ख्या सर्वेक्षण गर्ने, जलवायु परिवर्तनको सम्भावित प्रभाव अध्ययन गर्ने, गैँडाको स्वास्थ्य समस्या र सम्भावित रोगहरूका बारेमा अध्ययन गर्ने, गैँडाको बासस्थानमा पानी, स्वास्थ्य उपलब्धता गर्नेजस्ता बुँदामा विज्ञहरू सहमत भएका छन्।
समन्वय र सहयोग
गैँडा पाइने एसियाली देशहरूबीचको सीमापार सहकार्य बलियो बनाउने, भुटान, नेपाल र भारतबीचको सहयोग र संलग्नतालाई सुदृढ बनाउने, निकट बासस्थानहरू साझेदारी गर्दै र कोरिडोरहरू जोड्ने, प्रबन्धकहरू र अग्रस्थानमा काम गर्नेहरूबीच नियमित रूपमा अन्तरदेशीय अध्ययन भ्रमणहरू गराउने, स्थानीय समुदायको संलग्नता बढाउने, गैँडाको भविष्य र सहअस्तित्व प्रवद्र्धन गर्नेलगायतका बुँदामा विज्ञहरू सहमत भएका छन्।