पार लागर्कभिस्टको जन्म स्विडेनको भेक्जोमा मे २३ १८९१ मा भएको हो । स्विडिस नाटककार कवि एवं उपन्यासकार पार्क लागर्कभिस्टलाई स्वतन्त्र विचारका कविता रचना गरेबापत सन् १९५१ को नोबेल पुरस्कार प्रदान गरियो ।
उनी खासगरी उपन्यासकारका रूपमा चर्चित छन् । पार्क लागर्कभिस्टका ६० भन्दा बढी कृतिहरू प्रकाशित छन् । द ह्याङ गम्यान (१९३३), मिड समर नाइट इन द वर्क हाउस (१९४९), द ड्वार्फ (१९४४) लेट म्यान लिभ (१९४९), बारव्वास (१९५१) तथा पिलग्रिम याट सी (१९६४) उनका प्रमुख कृतिहरू हुन् । यिनको मृत्यु ११ जुलाई १९७७ मा स्टकहोममा भयो ।
स्मिथ नाम गरेका एक जना घनाढ्य व्यापारीले एउटा भव्य एवं शानदार होटलको लिफ्ट खोल्यो र भुवादार कोट पहिरेकी अनि पाउडरको मगमग बास्ना छर्दै हिँडेकी आकर्षक केटीलाई प्रेमपूर्वक तानेर भित्र राख्यो । दुवै जना नरम सिटमा सँगै बसे, लिफ्ट तलतिर झर्न सुरु ग-यो । ती केटीले रक्सीले भिजेको मुख आँ गरिन् । दुवैले एकआपसमा चुम्बन साटासाट गरे । ताराहरू टिलपिल गरिरहेको खुला आकाशमुनि आँगनमा बसेर उनीहरूले डिनर खाएका थिए । यतिबेला उनीहरू मनोरञ्जनका लागि कतै बाहिर निस्किँदै थिए ।
प्रिय, त्यहाँ माथिको बसाइमा कति स्वर्गीय आनन्द पाइएको थियो हगि ? उनले सुस्तरी भनिन् । तिमीसितको बसाइ वास्तवमै एकदमै काव्यिक थियो, ताराहरूको माझमा बसेजस्तै । त्यतिबेला तिमीलाई पे्रम के रहेछ, थाहा भइसक्नुपर्ने हो, तिमी मसित प्रेम गछ्र्यौ नि हैन ? कि कसो ?
जवाफ स्वरूप स्मिथले उनलाई लामो समयसम्म चुम्बन ग-यो । लिफ्ट तल झर्ने क्रम जारी थियो । “प्यारी तिमी आयौ, त्यही नै कता–कता भो मेरा लागि, अन्यथा मेरो अवस्था के हुन्थ्यो होला,” उसले भन्यो ।
“ह्ुन त हो तर हेर न, कति असह्य छ त्यो मान्छे । म कतै हिँड्न ठीक परेँ कि कहाँ जाने भनेर सोधिहाल्छ भन्या ।” मेरो ख्ुसी म जहाँसुकै जाऊँ, तिमीलाई के मतलब ? भन्दिएँ मैले त । म कैदी त होइन नि । मेरो कुरा सुनेपछि ऊ थ्याच्च बस्यो अनि मैले लुगा फेरेको नयाँ ब्लाउज लगाएको– के लगाए मलाई राम्रोसित सुहाउँछ होला जेहोस्, सायद गुलाबी नै सुहाउँछ होला हैन ?”
“तिमीलाई जे लगाए पनि सुहाउँछ प्रिय, आज साँझ जति राम्री त मैले कहिल्यै देखेको थिइनँ तिमीलाई । त्यो मान्छेले भन्यो । उनी मक्ख परिन् अनि मन्द मुस्कानसहित भुवादार कोट खोलिन् । लामै समय चुम्बन गरिरहे उनीहरूले एकअर्कालाई । लिफ्ट आफ्नै गतिमा तल झर्दै थियो । आफ्नो लोग्नेको बारेमा थप टीका–टिप्पणी गर्र्दै उनले भनिन् । “त्यसपछि म हिँड्नै लाग्दा उसले मेरो हात समात्यो अनि यति जोड्ले बटा-यो कि अहिलेसम्म दुख्दैछ, एक शब्द पनि बोलेन उसले । तिमीलाई थाहै छैन कति निठुरी छ ऊ । “गुडबाई” भन्दै बिदा भएँ म तर ऊ चुइँक्क बोलेन । कति अविवेकी र घिनलाग्दो छ भने अनुहारै हेर्न मन लाग्दैन मलाई त्यसको ।”
“बिचरी मेरी प्यारी” स्मिथले भन्यो ।
“मैले चाहिँ यसो बाहिरफेर गएर रमाइलो गर्नै नपर्ने, मोज गर्नै नपाउने जस्तो कति गम्भीर छ ऊ तिमीलाई के थाहा, कुनै पनि कुरालाई सामान्य तथा प्राकृतिक रूपमा लिनै सक्दैन ऊ । यस्तो लाग्छ मानौँ ऊ हरेक कुरालाई जीवन–मरणसित लगेर जोडिहाल्छ ।
“बरा, कति पीडा सहेकी रहिछ्यौ तिमीले ।”
“ज्यादै पीडित भएकी छु म, ज्यादै । मैले जति दुःख त अरू कसले पाएको होला र ? तिमीलाई भेट्नुअघि माया प्रेम के हो थाहै पाएकी थिइनँ मैले त।”
“प्राण प्यारी ।” यति भन्दै स्मिथले उनलाई ग्वाम्म अँगालोमा बे¥यो, लिफ्ट आफ्नै गतिमा तलतिर झरिरहेको थियो ।
“आहा, क्या आनन्द !” अँगालोबाट फुत्केपछि लामो सास तान्दै उनले भनिन्, “तिमीसित बसेर आकाशको तारा हेर्दै कल्पनामा डुब्दाको क्षण म कहिल्यै भुल्ने छैन । बुझ्यौ ? यस्तो स्वर्गीय आनन्द त्यो अर्बिडबाट असम्भव छ । ऊ यति गम्भीर छ कि हदैसम्मको गम्भीर । निरस पनि त्यतिकै । काव्यप्रति उसलाई पटक्कै मोह छैन, कविताको मर्म के हो ऊ बुझ्दैन । “प्रिय यो त अति असह्य कुरा हो ।”
“हो त नि– सही नसक्नु ।” मीठो मुस्कानसहित उनले भन्दै गइन्, “तर हामी यस कुरामा नअल्झिऔँ । हामी त मनोरञ्जनका लागि पो बाहिर निस्केका हौँ त । तिमी मलाई साँच्चिकै माया गर्छौैै हैन ?”
“गर्छु नि किन नगर्नु ?” उसले भन्यो । उनलाई निहुरिन लगाएको हुनाले लामो सास तानिन् । लिफ्ट झन–झन तलतिर जाँदै थियो अनि झुक्दै उनलाई मायाले सुम्सुम्यायो उसले । उनी लाजले रातोपिरो भइन् ।
“यसअघि कहिल्यै नगरेको प्रेम (सम्भोग) गरौँ है आज राति हुन्न ? उसले तिनको कानमा खुसुक्क भन्यो । उनले स्मिथलाई आफूतिर तान्दै च्याप्प कसिन् अनि आँखा बन्द गरिन् । लिफ्ट झन्–झन् तलतिर झर्दै गयो ।
अन्ततः स्मिथले झल्याँस्स सम्झ्यो । उसको अनुहार रातोपिरो भयो ।
के भा’को छ हँ आज यो लिफ्टलाई ? ऊ एक्कासि चिच्यायो । हैन किन रोकिँदैन यो लिफ्ट हँ ? हामीले यहाँ बसेर कुरा गर्न थालेको पनि थुप्रैबेर पो भइसक्यो त, कि कसो ?
“हो त नि, प्रिय, मलाई पनि त्यस्तै लाग्छ, समय बितेको पत्तै भएन ।”
“हे भगवान्, हामी यहाँ बसेको पनि युगौँ भइसक्यो । के गर्ने होला अब हँ ? लौन ।”
उसले ग्रिलबाट बाहिर चियाएर हे-यो । चुक घोप्ट्याए जस्तो अँध्यारोबाहेक उसले केही देखेन । अनि लिफ्ट चाहिँ आफ्नै गतिमा झन्–झन् तल जाँदै थियो ।
“हे भगवान्, यो के भइरहेछ ? यस्तो लाग्छ, यो त झन् शून्यतामा खसेझैँ लागिरहेछ । कतिबेरदेखि यस्तो भइरहेछ, भगवान्लाई थाहा होला ।” अथाह खाल्डोतिर सानो प्वाल चुक घोप्ट्याएजस्तो अन्धकार थियो । तिनीहरू झन–झन तलतिर भासिँदै थिए ।
“लिफ्ट त नरकतिर पो भासिँदै छ कि क्या हो ?” स्मिथले भन्यो । ओहो प्रिय, यति भन्दै ती महिला स्मिथको पाखुरामा झुन्डिँदै रुन थालिन् । के गरूँ कसो गरूँ भइसक्यो मलाई त इमर्जेन्सी ब्रेक लगाऊ न छिटो ।”
स्मिथले आफ्नो बलले भ्याएसम्म इमर्जेन्सी ब्रेक लगाउने प्रयास ग-यो तर व्यर्थ भयो । लिफ्ट आफ्नै गतिमा झन तल अथाह गहिराइतिर डुबुल्की मार्दै गयो ।
“ज्यादै डरमर्दाे पो भो त, लौ न के गर्ने होला अब ? उनी आत्तिएर चिच्याउन थालिन् ।
“त्यही त, के गर्ने, के गर्ने, यो त अति भयो,” स्मिथले भन्यो ।
ती महिला भने निराश हुँदै रुन–कराउन थालिन् ।
“नरोऊ, प्रिय आत्तिनु हुँदैन । हामीले अब केही गर्न सक्दैनौँ बस । आऊ दुवैजना चुपचाप सँगै बसौँ जे–जे होला, होला रोकिनै पर्ने हो यो लिफ्ट रोकिन त रोकिएन भने त ठूलै अनिष्ट पो हुन्छ त ।”
अलिबेर पर्ख र हेरको अवस्थामा रहे उनीहरू ।
“के भइरहेको छ, यसको बारेमा सोच त ।” ती महिलाले भनिन् । हामी त रमाइलाका लागि पो बाहिर निस्केका थियोँ त ।”
“हो त नि पक्कै पनि यो कुनै दुष्टको काम हुनुपर्छ ।” स्मिथले भन्यो ।
“तिमी मलाई माया त गर्छौ नि हैन प्रिय ?” उनलाई अँगालोमा कस्दै स्मिथले भन्यो । लिफ्ट तल झर्दै थियो ।
अन्ततः लिफ्ट एक्कासि रोकियो वरिपरि आँखै तिर्मिराउने झलमल्ल उज्यालो देखाप¥यो । एकैचोटि नरकमा पो पुगिसकेछन् उनीहरू त । दुष्टात्माले लिफ्टको ग्रिल एकातिर सार्दै नम्र स्वरमा भन्यो, “गुड इभिनिङ” शिर निहु¥याउँदै उसले भन्यो ।
उसको लुगा लगाइ नै बडो अचम्मको खालको थियो, रौँले ढाकेको, ढाडमाथि झुन्डिएको पुच्छर, खिया लागेको काँटीमा लुगा झुन्ड्याएको जस्तो देखिन्थ्यो ।
डरलाग्दो आकृति देखेर स्मिथ र ती महिला अक्कन बक्क भए, डरले झन्डै लडे । “हे भगवान् कहाँ आइपुग्यौँ हामी ?” त्यो देख्दै डरलाग्दो अलौकिक आत्मासित उनीहरू खुब डराए, चिच्याउन थाले । आत्तिएको त्यो छायारूपी दुष्टात्माले उनीहरूलाई सम्झाउन थाल्यो । “यहाँहरूले सोचेजस्तो खराब छैन म । हतार–हतार उसले आफ्नो भनाइ राख्यो । मलाई आशा छ यहाँहरूको समय रामैै्र बित्नेछ । यो आज रातिका लागि मात्रै सीमित हुनेछ ।”
“हो, हो ।” स्मिथले बडो उत्सुकतापूर्वक सहमति जनायो । “आज एक रातका लागि मात्रै हो हामी पनि त्योभन्दा बढी बस्ने विचारमा छैनौँ ।”
ती महिला डरले थरथर काम्दै स्मिथको पाखुरामा झुन्डिइन् । हरियो र पहेलो मिश्रित प्रकाश यति चर्काे थियो कि आँखै तिर्मिराउने । उनीहरूलाई देख्न मुस्किल परिराखेको थियो । चर्काे गन्ध आइराखेको महसुुस भयो उनीहरूलाई चर्काे उज्यालो र गन्ध कम हुँदै गएपछि उनीहरूलाई आफूहरू चोकमा उभिएको थाहा भो । वरिपरिका घरहरू अँध्यारोमा आकाशै छोलान् जस्तो गरी चुलिएका थिए भने ढोकाहरूमा झलमल्ल उज्यालो देखिन्थ्यो । पर्दाहरू सारिएका थिए । उनीहरूले पर्दाको छिद्राबाट भित्र केही बलिराखेको देखे । “तपाईंहरूनै हो प्रेमजोडी ?” त्यो दुष्टात्माले सोध्यो । “हो, एकअर्काको प्रेममा हामी पागलै छौँ ।” आफ्ना सुन्दर आँखाले उसलाई हेर्दैैै ती महिलाले जवाफ दिइन् ।
“उसोभए यही बाटो म पछि–पछि आउनुस् ।”
अँध्यारो गल्ली हुँदै उनीहरू अघि बढे । ग्रिज लत्पतिएको पुरानो ढोका बाहिर एउटा चर्केको लाल्टिन झुन्डिरहेको थियो ।
“ल आइपुग्यौँ हामी ।” यति भन्दै उसले ढोका खोलिदियो र शिष्टतापूर्वक त्यहाँबाट हिँड्यो ।
तिनीहरू भित्र पसे । जँुगामा प्याजी रङको पाउडर घसेकी ठूला–ठूला स्तन भएकी मोटी एउटी नौलो दुष्ट आइमाईले त्यो प्रेमजोडीलाई स्वागत गरी । कुटिल मुस्कान छोडी । उसका बल्ड्याङ्ग्रे आँखा परिचितझैँ लाग्थे । निधारमा सिङ उम्रिएका थिए । सिङ वरिपरिको कपाललाई उसले ससाना नीलो रेशमी रिबनले बाँधेकी थिई ।
“ए तपाईंहरू नै हो स्मिथ र उनकी प्रेमिका भनेको ?” उनले सोधिन् । “ल आठ नम्बरको कोठामा जानुस् ।” यति भन्दै उसले तिनीहरू उनीहरूको हातमा एउटा ठूुलो साँचो थमाइ दिई । तिनीहरूले अँध्यारो र चिप्लो भ-याङ चढे । बोसो लत्पतिएकाले भ¥याङ चिप्लो न चिप्लो थियो । दुई तलामाथि उक्लेपछि स्मिथले आठ नम्बरको कोठा फेला पा¥यो । अनि दुवै जना भित्र पसे । कोठा निकै ठूलो थियो तर ढुसी परेको । कोठाका बीचमा मैलो कपडा ओछ्याएको एउटा टेबुल थियो । भित्ता नजिकै एउटा तन्ना हालेको ओछ्यान थियो । निकै राम्रो लाग्यो उनीहरूलाई त्यो कोठा । उनीहरूले कोट फुकाले अनि निकै लामो समयसम्म एकअर्कालाई चुम्बन गरिरहे ।
एउटा मान्छे अर्काे ढोकाबाट चालै नपाउने गरी सुटुक्क भित्र पस्यो । वेटरलेजस्तो लुगा लगाएको थियो । उसको डिनर ज्याकेट भने चिटिक्क परेको थियो । उसको सर्ट यति सफा थियो कि अँध्यारोमा पनि ऊ भुतजस्तै टल्केको देखिन्थ्यो । बिरालोको चालमा ऊ सुस्तरी हिँड्यो । उसको हिँडाइ यान्त्रिक र लगभग पूरै अचेतजस्तो लाग्थ्यो । उसको रूपै निष्ठुर खालको देखिन्थ्यो ।
सिधै अगाडि हेरिरहेको देखिन्थ्यो उसका आँखाले । एकापट्टिको कन्चटमा गोलीको खत लागेको त्यो मान्छे देख्दै डरलाग्दो, फुस्रो थियो । उसले कोठाको सरसफाइ ग¥यो अनि कोपरा र बाल्टिन ल्याएर राखिदियो ।
तिनीहरूले उसको त्यति साह्रो वास्ता गरेनन् तर ऊ निस्किनै लाग्दा स्मिथले भन्यो, “अलिकति रक्सी पाइएला ? आधा बोतल जति मडैरा ब्रान्डको रक्सी ल्याइदेऊ न है ? हुन्छ ?” हस् भन्दै त्यो मान्छे बाहिरियो ।
स्मिथ धमाधम ल्ुगा फुकाल्न थाल्यो । महिला भने हिच्किचाइन् लुगा फुकाल्न ।
“फर्केर आउँदैछ ऊ ।” उनले भनिन् ।
“हत्तेरी यो ठाउँमा तिमीले अप्ठ्यारो मान्नै पर्दैन फुकालिहाल ।” उनले निकै कामुक पाराले पेन्टीलगायत सबै लुगा फुकालिन् अनि स्मिथको घुँडामाथि गएर बसिन् । त्यो क्षण निकै रमणीय र रोमाञ्चक थियो ।
“सोचि हेर त, यस्तो एकान्त, अनौठो र रोमाञ्चक ठाउँमा तिमी र म मात्रै । कति, काव्यिक छ हगि ? यो क्षण म जिन्दगीभर भुल्ने छैन ।”
“प्रियतम,” स्मिथले भन्यो । लामै समयसम्म उनीहरूले चुम्बन गरिरहे ।
त्यो मान्छे फेरि नबोलीकन लुसुक्क भित्र पस्यो । बिस्तारै यन्त्रवत् उसले गिलासमा रक्सी खन्यायो । टेबुल ल्याम्पको उज्यालो उसको अनुहारमा प¥यो । फुस्रो अनुहार र कन्चटमा गोलीको खतबाहेक उसमा अरू विशेष कुरो केही थिएन ।
चिच्याउँदै बुरुक्क उफ्रिन ती महिला ।
“हे भगवान् अर्भिड तिमी ? स्वर्गमा ? मरिसकेको ? त्यो पनि गोलीद्वारा आत्महत्या ?”
त्यो मान्छे हलचल नगरी ठिङ्ग उभिरह्यो एकोहोरो टोलाउँदै । उसको मुहारमा पीडा र चिन्ताको भाव झक्किन्थ्यो । निकै गम्भीर कठोर र स्थिर देखिन्थ्यो ऊ ।
“तर अर्भिड, के गरेको तिमीले यो ? के गरेको ? कसरी गर्न सक्यौ यस्तो ? प्रिय यदि तिमीले यस्तै गर्छाै भन्ने अलिकति मात्रै आशङ्का भएको भए म कहीँ नगई घरमै बस्थेंँ होला । तर तिमीले कहिल्यै केही भनेनौँ मलाई एक शब्द पनि नभनेपछि मैले कसरी थाहा पाउनु हे भगवान् के भो नि यस्तो...।”
उनको सम्पूर्ण शरीर थरथर कामिरहेको थियो । नोलो मान्छेलाई जस्तै गरी हेरिराखेको थियो उसले ती महिलालाई । उसको मलिन र उदास हेराइले हरेक चिजलाई नै छेड्लाजस्तो देखिन्थ्यो ।
उसको फिका अनुहार चम्क्यो । घाउबाट रगत आएको थिएन, खालि एउटा प्वाल मात्र देखिन्थ्यो ।
“ओहो, कस्तो डरलाग्दो ?,” उनी चिच्याइन् । म एकछिन् पनि बस्न सक्दिनँ यहाँ, गइहालौँ म सहन सक्दिनँ यो ।”
तिनले आफ्नो लुगा, ह्याट, भुवादार कोट रिसले भएजति सबै बोकिन् र बाहिर दौडिन् । स्मिथ उनको पछि पछि लाग्यो । उनीहरू चिप्लिँदै तल ओर्ले । उनी थ्याच्च भुँइमा बसिन् । उनको पछाडि चुरोटको खरानी, थुक, ¥याल, टाँसिएको थियो । तल त्यो जुँगामुठे आइमाई मुसुक्क हाँस्दै, बडो शानसित चिनेजस्तो गरी सिङ हल्लाउँदै उभिरहेकी थिई ।
बाहिर सडकमा निस्केपछि बल्ल सास आयो उनीहरूको । अलि शान्ति भो उनीहरूलाई । ती महिलाले लुगा लगाइन्, जिउ तन्काइन्, नाकमा क्रिम पाउडर दलिन् । सुरक्षाको अनुभूति दिलाउन स्मिथले उनको कम्मरमा हात लगायो । उनका आँखामा छचल्किएको आँशु स्मिथले चु्म्बन गरेरै पुछिदियो । आफू असल मान्छे भएको पुष्टि ग¥यो उसले । त्यसपछि उनीहरू दुवै चोकतिर लागे ।
नरकको प्रमुख चाहिँ त्यतै हल्लिँदै थियो । ऊ भएतिरै दौडे उनीहरू पनि । “छिटै पो निस्किनु भो त तपाईंहरू, आरामसित त बस्नु भो होला नि, हैन ?” उसले भन्यो ।
“ओहो अति डरलाग्दो र दिक्कलाग्दो रहेछ यो ठाउँ त ।” महिलाले भनिन् ।
“त्यसो नभन्नुस् त्यस्तो सोच्दा पनि नसोच्नुस्, तपाई त यहाँ पहिल्यै आइसकेको हुनुपर्ने हो । पहिलेको भन्दा त धेरै फरक भइसकेको छ यहाँ । नरक भनेर नाक खुम्च्याउनुपर्ने अवस्था छैन । अहिले हामीले सक्ने जति गरेको छौँ र अझै गर्छौं पनि । उदाङ्गो नपारौँ । बरु हामी यसलाई अझै रमाइलो र आरामदायी बनाउने प्रयास गर्नेछौंँ ।”
“हो त नि यति त मैले भन्नै पर्छ । जेहोस् पहिलाको तुलनामा मानवोचित सुधार भएको कुरा साँचो हो ।” स्मिथले सहमति जनाउँदै भन्यो ।
“ओहो द्ुष्टात्माले भन्यो हरेक कुरामा आधुनिकीकरण गरेका छौँ, पूरै व्यवस्थित गरेका छौँ, जे जति गर्नुपर्ने थियो ।”
“अवश्य, समयअनुसार त चल्नै प-यो नि ? हो आजभोलि दुःख पाउने भनेको आत्माले मात्रै हो ।”
“यसका लागि ईश्वरलाई धन्यवाद ।” महिलाले भनिन् । दुष्टात्माले उनीहरूलाई बडो शिष्टतापूर्वक लिफ्टमा चढायो । शिर झुकाउँदै उसले भन्यो, “गुड इभिनिङ, फेरि स्वागत छ यहाँहरूलाई ।” उसले ग्रिल बन्द ग-यो, लिफ्ट मास्तिर जान थाल्यो ।
“धन्य छ ईश्वर बल्ल मुक्ति पाइयो,” यति भन्दै ती दुवैले सन्तोषको सास फेरे अनि एकापसमा टाँसिएर बसे ।
तिमी नभइदिएको भए त मेरो एक्लै केही सीप नलाग्ने रहेछ, उनले खुसुक्क भनिन् स्मिथले तिनलाई आफूतिर तान्यो । लामै समय चुम्बन गरिरहे उनीहरू । स्मिथको अँगालोबाट छुटेपछि लामो सास तान्दै उनले भनिन्, “कस्तो अचम्म त हेरन त्यस्तो नकाम ग¥यो उसले । प्रायः ऊ यस्तै नचाहिने नचाहिने काम गरिरहन्थ्यो । कुनै पनि कुरालाई सामान्य र स्वाभाविक रूपमा लिन जानेन । सधैँभरि जे कुरालाई पनि जीवन र मरणसित जोडेर हेर्ने बानी ।”
“कस्तो वाहियात ?” स्मिथले भन्यो
“उसले भन्न सक्थ्यो नि त यदि भनेको भए म घरमै बस्ने थिएँ । त्यो दिनको साटो अर्काे कुनै दिन बाहिर जान्थ्यौँ होला हामी ।”
“त्यो त हो हामी त्यसै गथ्र्यौं ।” स्मिथले भन्यो ।
“तर प्रिय अब त्यसका बारेमा सोचेर नबसौँ ।” स्मिथलाई अँगालोमा बेर्दै उनले कानेखुसी गर्दै भनिन्, “जे भो–भो ।”
“हो हो मेरी प्रिय अब सकियो ।” उनलाई अँगालोमा कस्यो स्मिथले । लिफ्ट मास्तिर चढ्न थाल्यो ।
अनुवाद : बद्रीप्रसाद घिमिरे